वीरेन्द्रनगरलाई प्लास्टिकमुक्त बनाइँदै
वीरेन्द्रनगर, सुर्खेत) — प्लास्टिकका सामग्री र झोलाका कारण मानव स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै वीरेन्द्रनगरमा यसलाई विस्थापनको तयारी थालिएको छ । यसका लागि प्लास्टिक झोलामुक्त वीरेन्द्रनगर बनाउन कर्णाली प्रदेश सरकारले कार्ययोजना पनि बनाइसकेको छ ।
‘प्लास्टिक झोला बनाउँदा पोलिमर र पिग्मेन्टलगायत विभिन्न रसायन प्रयोग गरिन्छ, त्यो मानव स्वास्थ्यका लागि घातक मानिन्छ,’ कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले भने, ‘त्यसका लागि कार्ययोजनासमेत निर्माण गरिएको छ, कार्ययोजना कार्यान्वनका लागि सबै पक्षलाई जिम्मेवार बनाइनेछ ।’ उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुरुमा प्लास्टिकमुक्त बनाइने जानकारी दिए । विभिन्न रसायनबाट बनाइएका प्लास्टिकका झोला वर्षौसम्म नकुहिने तथा प्रकाश, ताप र अन्य रासायनिक पदार्थबाट समेत नष्ट नहुने भएकाले राजधानीलाई प्लास्टिकमुक्त बनाउन थालिएको उनको भनाइ छ ।
प्रमुख सचिव भण्डारीले प्लास्टिकजन्य फोहोर जलाउँदा निस्ष्कासन हुने हानिकारक ग्यास (डाइअक्सिन र फ्युरान) ले क्यान्सरजस्ता रोग निम्त्याउने बताए । ‘वीरेन्द्रनगरलाई प्लास्टिकले दुर्गन्धित बनाएको छ,’ उनले भने, ‘प्रदेश राजधानीलाई सफा र सुन्दर राख्नसके पर्यटन विकासमा समेत टेवा पुग्ने देखिन्छ ।’
प्लास्टिक झोलामा राखिएको फोहर खाँदा धेरै पशुचौपायाको मृत्यु भइसकेको प्रदेश अस्पतालका विशेषज्ञ डा. नवराज केसीले बताए । ‘बेलाबेलामा प्लास्टिक झोलाका कारण नाला तथा ढल थुनिन गई दुर्गन्ध फैलिने गरेको छ,’ उनले भने, ‘सहरको सुन्दरता र स्वस्थ जीवनयापनका लागि प्लास्टिकमुक्त सहर बनाउन आवश्यक छ ।’ प्लास्टिक झोलामा लामो अवधिपछि हुने क्षयका कारण हानिकारक रसायन जम्मा भइ माटो तथा पानीलाई दूषित बनाउने उनले जानकारी दिए । उनका अनुसार प्लास्टिककै कारण बर्सेनि जमिनको उर्वराशक्ति घटिरहेको छ । प्लास्टिक झोलाले जमिनमुनि प्रवेश गर्ने पानीलाई रोकी भूमिगत पानीको भन्डारण घटाउनुका साथै कुहिने फोहोरसमेत प्लास्टिक झोलाभित्र राखी फाल्दा विभिन्न रोग फैलने गरेको उनी बताउँछन् ।
