ठगी गरेको ४ करोड पचाउन अपहरणको नाटक


वीरगंज । ठगीको आरोपबाट जोगिन एक व्यक्तिले आफू अपहरणमा परेको नाटक गर्दा उल्टै प्रहरीको फन्दामा परेका छन् । आफू अपहरणमा परेको झुठो दाबी गर्दै ४ करोड रुपैयाँ पचाउन खोज्ने गोर्खा पालुङटार नगरपालिका–१२ निवासी हरिषचन्द्र पोखरेल अन्ततः प्रहरीको हिरासतमा पुगेका छन् ।

पोखरेलले वीरगन्ज महानगरपालिका–३० मा रहेको १० विगाहा जग्गाको नक्कली धनी बनेर ४ करोडभन्दा बढी ठगी गरेको खुलासा भएको हो । झापाको दमक घर भएका कुबेर भट्टराई, निजकी श्रीमती सुशिला भट्टराई र गंगा सेढाईलाई १० विगाहा जग्गाको नक्कली कागजपत्र देखाएर ३ करोड ८२ लाख बुझेका पोखरेलले आफू जोगिन अपरणको नाटक गरेका थिए ।

गत माघ २० गते वीरगंजको नयाँ बसपार्कस्थित मायालु होटलमा पोखरेल नाटकीय शैलीमा बसेर प्रहरी प्रधान कार्यालयमा आफू अपहरणमा परेको सूचना गरेका थिए । होटलका कामदारलाई मिलाएर बाहिरबाट ताल्चा लगाउन लगाई उनले प्रहरीलाई अपहरणमा परेको बताएका थिए । प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालय पर्साको टोली होटलमा पुगेर पोखरेलको उद्धार गरेको थियो ।

पोखरेलको अपहरणको कसुरमा पर्सा प्रहरीले रौतहटको चन्द्रपुर नगरपालिका–२ बस्ने ३३ वर्षीय वसन्त राईलाई नियन्त्रणमा लिएर अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिसकेको छ । राईसँग सोधपुछ र अनुसन्धान हुँदै जाँदा पोखरेलको अपहरण नभई उनले नाटक गरेको खुलासा भएको छ । २०७५ असोज २७ गते पर्सा मालपोत कार्यालयमा पास भएको जग्गाको रजिष्ट्रेशनका कागजपत्रहरु नक्कली निस्किएपछि पिडितहरुले प्रहरीमा पोखरेलविरुद्ध ठगीको उजुरी दिएका थिए । मालपोत कार्यालयमै रजिष्ट्रेशन प्रक्रिया पूरा भएको र पछि लालपुर्जा माग्दा पोखरेलले आलटाल गर्दै आएपछि शंका लागेर पिडितहरु मलपोतमा बुझदा आफूहरु ठगीमा परेको थाहा पाएका थिए ।

घटनामा संलग्न पोखरेलका सहयोगीहरुको प्रहरीले खोजी गरिरहेको जनाएको छ । अनुसन्धानमा असर पर्ने हुँदा उनीहरुको नाम गोप्य राखिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताउनुभयो । पोखरेललाई ठगी मुद्दाअन्तर्गत कारबाही अगाडि बढाइएको उहाँले बताउनुभयो ।