‘समृद्ध नेपालका लागि सामुहिक प्रणालीको विकास’


जनकपुर । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समृद्ध देश निर्माणको लागि ३ खम्बे नीति अवलम्बन गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । शुक्रबार महोत्तरीको बर्दिवासमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै देशलाई विकास गरी समृद्धको बाटो तर्फ डोर्याउनका लागि सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्र नीति अवलम्बन गरी अगाडी बढ्नुपर्ने उहाँको धारणा छ ।

आधारशीलाको १६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेकपाका वरिष्ठ नेता समेत रहनुभएका पूर्वप्रधानमन्त्री नेपालले सामुहिक बसोबासको माध्यमले विभिन्न देशहरुले यो नीति अख्तियार गरी समृद्धिको बाटो तर्फ अग्रसरता लिई रहेकाबेला हाम्रो देशले पनि यस्ता नीतिलाई अवलम्बन गर्दा समाजवाद उन्मुख हुने विश्वास व्यक्त गर्नुभयो । उनले भन्नुभयो, ‘सामुहिकरुपमा बसोबास गरी समाज र व्यक्तित्वको समेत विकास तथा क्षमता अनुसार काममा रुपता देखिने भएकोले शरीर र क्षमता अनुसारको कामको विभाजन तथा आवश्यकता अनुसार हरेक क्षेत्रलाई सेमेट्ने गरी अघि बढेमा संविधान संगतरुपमा देश पनि समाजवाद तर्फ अग्रसरता पाउँछ ।’

उहाँले संविधानमै समाजवाद उन्मुख भएको भन्दै इजरायल, जर्मनीलगायतका देशमा सामुहिकताको नीति र सहकारी नीति अवलम्बन गरेकाले विकासोन्मुख र समृद्ध मुलुकको रुपमा अग्रसर रहेको प्रस्ट्याउनु भयो । आधुनिक कृषि क्षेत्रको विकासकालागि समेत सामुहिक प्रणाली लाभदायक हुने नेपालले बताउनुभयो । उहाँले आधारशीलाको उल्लेख्य प्रशंसा गर्र्दै बहसको विषय बनाई यस तर्फ देशले अग्रसरता लिनुपर्ने भनाइ राख्नुभयो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले समुहको विकासले समाजमा अनुशासन, सृजनशीलता र प्रगतीपथ तर्फ अग्रसर हुने बताउनुभयो । उहाँले सामुहिक बसोबासले संसार जित्न सक्ने क्षमता भएकाले यसलाई अझ विस्तार गरी राज्यले यस तर्फ पहल गर्नुपर्नेमा जोड दिनुभयो ।