फागुन २४ गतेदेखि २८ गतेसम्म “CAN INFOTECH-2019”


कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान) सुर्खेतको आयोजनामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संचालित हुने कर्णाली प्रदेश स्तरीय क्यान इन्फोटेक यही फागुन २४ गतेदेखि २८ गतेसम्मको तयारी तिब्र रुपमा भइरहेको आयोजकले जनाएको छ ।
इन्फोटेकमा सूचना प्रविधिको प्रदर्शनी, प्रत्येक दिन आइ टी सेमिनार हुने आयोजकले जनाएको छ । यसैगरी लक्की ड्र बाट हरेक दिन एक जनालाई रारा ट्रीप, कम्प्यूटर पिन्टर र ल्यापटपका फ्रि सर्भिस, नेपाली वैज्ञानिकद्धारा निर्मित रोबोर्ट तथा अन्य प्रविधिहरुको प्रर्दशनी हुनेछ । स्कुल स्तरीय वक्तृत्वकला प्रतियोगीता, पियुबिजी गेम प्रतियोगीता, दृष्टिबिहीनहरुलाई कम्प्यूटर तथा मोवाइल चलाउने सिकाइने व्यवस्था समेत जनाइएको छ । सेवा तथा सामान खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुट दिने आयोजकले जनाएको छ साथै अनलाइन टिकेटिङ्गमा निःशुल्क प्रवेशको व्यवस्था मिलाएको आयोजकको भनाई छ ।
इन्फोटेकका लागि स्टलहरु धमाधम बुकिङ्ग भइरहेका छन् भने अन्य गतिविधिहरुलाई पनि तिब्र पारिएको छ । इन्फोटक संचालनका लागि करिब ३६ लाख रुपैयाँ खर्च हुने क्यान महासंघ कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव अधिकारीले जानकारी दिँदै इन्फोटेकको उद्घाटन कर्णाली प्रदेशमै पहिलो पटक रोबोटबाट गर्ने तयारी भइरहेको बताएका छन् । कर्णाली प्रदेशका १० वटै जिल्लाको सहभागीता रहने गरी आयोजना हुन लागेको उक्त इन्फोटेकका समन्वय क्यान महासंघ कर्णाली प्रदेशले गर्ने र त्यसको संरक्षकमा क्यान महासंघ नेपाल रहने आयोजकले जनाएको छ ।
यस अघि सुर्खेत शाखाको आयोजनामा सुण्डे क्यान इन्फोटेक २०१३ र के सेभेन क्यान इन्फोटेक २०१६ सम्पन्न भइसकेको छ । इन्फोटेकमा ७० वटा स्टल रहने आयोजक संस्थाका अध्यक्ष प्रेमप्रकाश चन्दले जानकारी गराए । आयोजकका अनुसार इन्फोटेकमा राष्ट्रियस्तरका व्यवसायीहरु सहभागी हुनेछन् भने नेपालमा भित्रिएका नविनतम् प्रविधिहरुको प्रदर्शनी मुख्य आकर्षकको रुपमा रहने बताइएको छ ।
अध्यक्ष चन्दका अनुसार ‘इन्फोटेकलाई स्तरीय, सभ्य र भव्य बनाउन हरसम्भव प्रयास भइरहेको छ । स्टल बुकिङ्क भइरहेका छन् । मेला भित्र आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार संचालन हुनेछन् । सरकारी, गैरसरकारी तथा नीजि क्षेत्र, शिक्षक, विद्यार्थी, शिक्षा तथा विज्ञान तथा प्रविधि क्षेत्रको उल्लेख्य सहभागीता हुने अपेक्षा आयोजकले गरेको छ । यस प्रदर्शनीलाई सुर्खेतको लागि सूचना संचार र प्रविधिको ठूलो प्रदर्शनीका रुपमा लिएका छौं अध्यक्ष चन्दले भने ।