सिर्जु शाहका तिन दमदार गजल
गजल १
साँझमा ताराहरुले उनकै गीत गाए झै लाग्छ
हावाको मिठो स्पर्श उनैले पठाए झै लाग्छ !!
हावा सङ्गै बहकिदा आफैलाई भुलेछु हजुर
बादलपनि मलाई हेर्न नजिकै आए झै लाग्छ !!
कहिले भन्छन गाजल राम्रो कहिले आँखा राम्रो
घरीघरी कपाल तान्दै उनैले जिस्काए झै लाग्छ !!
रिमझिम रिमझिम पानी, खुसि मनाउदै छ यहाँ
यो बर्सात मलाई छुन मेरै लागि धाए झै लाग्छ !!
जतिजति वसन्त आईरहुन समयको गतिसँगै
उनैको सम्झनामा कोइली कराए झैं लाग्छ !!
गजल २
कफी सङ्गै एउटा संयोग, जुटाएर गयौ !!
बाफ सङ्गै नयाँ भाव,फुटाएर गयौ !!
मनभित्र हलचल भयो, सरल स्वाभावले
जुट्दै थियो हाम्रो माया,छुटाएर गयौ !!
इमानका सारा कुरा, गजलमै सुनाएर
मन्द मन्द सालिनता, लुटाएर गयौ !!
मौसमको फेर बदल, घाम पानी जस्तै
क्षणभर मै सुन्दर वसाइ, टुटाएर गयौ !!
तिम्रो हरेक शब्दकुञ्ज, अनि आनिबानी
मनभित्र संजाल बनाई,चुटाएर गयौ !!
गजल ३
तिमीलाई यो मुटु उपहार, दिएर जादैछु !!
खुशी भै बस्नु प्रिय् म आँसु, पिएर जादैछु !!
हारेको छैन प्रिय् जिताउछु तिमी लाई नै
चाँदनी रङ्गमा बुट्टेदार फूल, सिएर जादैछु !!
मन मर्यो रहर मर्यो केहि आशा बाँकी छ
एक फेरा आफै सङ्ग आफै जिएर जादैछु !!
नदुख्नु प्रिय् नरुनु तिमी, चिन्तामा म जल्दा
रुमानि यादहरु साथ मै,लिएर जादैछु !!
