जिल्ला हिस्टुन सुर्खेतले गर्यो आन्दोलनको तयारी


साविक उच्च माध्यामिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको संगठन हिस्टुन जिल्ला कार्य समिति सुर्खेतको सोमबार बैठक बसेको छ । बैठकबाट विभिन्न विषयमा छलफल सहित महत्वपुर्ण निर्णयहरु गरिएको जिल्ला हिस्टुन सुर्खेतका अध्यक्ष किशोर भट्टराईले जानकारी दिनुभयो ।

संघिय शिक्षा ऐनमा साविक उमाविका शिक्षकहरुको उचित ढंगले व्यवस्थापन गर्नेगरि शिक्षा ऐन ल्याउनुपर्नेमा केन्द्रिय हिस्टुनले आवश्यक पहल गरिरहेकोमा जिल्ला स्तरबाट समेत साविकका सम्पुर्ण उमावि शिक्षकहरुलाई आआफ्नो ठाउँबाट दवाव दिन बैठकले निर्देशन गरेको छ । साविकका उमावि शिक्षकहरुलाई उचित ढंगबाट व्यवस्थापन नहुने देखिएमा आन्दोलनका लागि तयारी अवस्थामा रहन समेत निर्देशन दिईएको हिस्टुन सुर्खेतले जनाएको छ ।

यस्तै अस्थायी शिक्षक, राहत शिक्षक र सका हरुले आफ्नो पेशागत हकहित सुरक्षित हुनुपर्ने माग राखि गरिएको आन्दोलनलाई समेत हिस्टुन सुर्खेतले ऐक्येवद्धता जनाउँदै आन्दोलन माथि दमन भएको प्रति खेद प्रकट गरिएको अध्यक्ष किशोर भट्टराईले जनाउनु भयो । हिस्टुनका कर्णाली प्रदेश अध्यक्ष अनन्तराज पन्तले कर्णाली प्रदेश हिस्टुनले समेत आन्दोलन माथि दमन हुनु दुखद भएको बताउनु भएकाे छ । बैठकले हिस्टुन सुर्खेतको सल्लाहकारहरुमा उपेन्द्र सुवेदी, जित बहादुर चन्द, हिरालाल पाण्डेय, बम बहादुर पुलामी र धनिराम शर्मालाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

जिल्ला कार्यसमितिको पुर्ण बैठकमा हिस्टुन सुर्खेतमा रिक्त रहेको उपाध्यक्ष पदमा प्रकाश शाहीलाई सर्वसम्मत रुपमा मनोनित गरेको छ । यस अघि उपाध्यक्ष पदमा रहेका गणेश भण्डारी कर्णाली प्रदेश हिस्टुनको सह अध्यक्षमा नियुक्त भएपछि जिल्ला उपाध्यक्षको पद रिक्त रहेको थियो ।