के हो त नाटक ? (सुर्खेतमा नाटको संक्षिप्त इतिहास)


प्रकाश पौडेल

फागुन, २८, मंगलबार

मेरो करिव २५ वर्ष भन्दा वढीकोे रंगयात्राका अवसरमा मैले सुर्खेती माटोमा नाटकको आवस्यकता र संभावनाका वारेमा घोत्लिने प्रयास गर्दे जांदा मेरा मनमा थुप्रै प्रश्नहरु अनुत्तरीत वन्दै गए । आफैले आफैलाई प्रश्न गरे मैले यो रंगयात्रामा किन लागि परे ? सुर्खेती माटोमा वास्तवमै के संभावना छ त ? नाटक म कसका लागि किन गर्देछु ? यस्तै यावत प्रश्न गर्दे जांदा नाटकका पूर्विय समाजका भरतमुनिवाट भएकोे इन्द्रध्वजमहोत्सव नाटकको शुरुवात देखि पश्चिमि समाजले गरेको डायोनोसिसको दुखान्त नाट्य परम्पराको शुरु सम्मका घट्नाक्रमलाई कोट्याउदा नाटकको उठान धार्मिक समारोह वा अनुष्ठानवाट शुरु भएको र यसको मुल उद्देश्य मानवको दुख कष्ट विर्साउने, मनोरंजन र सन्देश प्रदान गर्ने नै हो भन्ने कुरा विभिन्न ग्रन्थ, लेख, रचनामा उद्धृत हुंदै आएको देखिन्छ ।
साहित्यका विभिन्न विधा मध्य नाटक एक यस्तो विधा हो जहां श्रब्य र दृश्य भेद हुन्छ अर्थात नाटक साहित्यका अन्य विधा कथा, कविता, निवन्ध, जीवनि भन्दा पृथक पढ्नकालागि मात्र नभई जीवन सादृश्य देखाउने वा जीवनसत्यलाई प्रत्यक्ष रुपमा साक्षत्कार गराउने काब्यकला हुनाले नाटक सवैकालागि आनन्दायी हुन्छ । यो विधा जीवनसत्यको साक्षत्कार गराउनका साथै शिक्षा र मनोरंजन दिने सशक्त विधाका रुपमा मानिन्छ । नाटक लेखपढ गर्नेकालागि मात्र नभएर लेखपढ गर्न नसक्नेका लागि समेत शिक्षा र मनोरंजन दुवै दिने विधाकारुपमा लिइन्छ त्यसैकारणले गर्दापनि यस विधामा प्राचिनकाल देखि वर्तमान सम्म सवैको उत्तिकै चाख रहेको देखिन्छ ।
कथा, कविता, निबन्ध, जीवनी जस्ता श्रब्य काब्यमा प्रस्तुत जीवन विम्बलाई सुनेर वा पढेर आफ्नो कल्पना चक्षुले हेरेर हृदयंगम गर्नुपर्छ तर नाटक एक दृश्य काब्य समेत भएकाले नाटकमा प्रस्तुत जीवनविम्ब नाटक पात्रहरुका सम्बाद र अभिनयका माध्यमबाट प्रत्यक्षरुपमा देख्न पाइने हुनाले यसमा कल्पनाको मात्र भर पर्नुपर्देन । नाटक हेर्नु जीवन हेर्नु जस्तै सजिलो हुन्छ र यो रोचक तथा आरामदायि पनि हुन्छ त्यसैले सर्वसाधारणकालागि यो सहज र ग्राहय हुन्छ । नाटक एक सामूहीक कार्य पनि हो यहां विभिन्न पक्षको संलग्नता र समिश्रण हुन्छ जसवाट मानवजीवन चित्रको समग्रपक्ष हेर्न सकिन्छ । यस विधावाट ब्यक्तिमा केवल काब्य रचनाको मात्र विकास नभई समग्र जिवन दर्शनको विकास हुन्छ । जसले गर्दा व्यक्तिमा वहुमुखि क्षमताको विकास हुन सक्छ त्यसैले नाटकलाई सामाजिक एकताको पहिचानका रुपमा लिंदै यसलाई मनोरंजन र शिक्षाको सशक्त माध्यमका रुपमा ग्रहण गर्दे मनोरंजनका अन्य कुनै साधन नभएका समय देखिनै यसलाई धार्मिक अनुष्ठानमा वढी भन्दा वढी रमाइलो र शन्देशमूलक वनाउन अंगिकार गर्दे आएको पाइन्छ भने आधुनिक काल खण्डमा नाटक धार्मिक अनुष्ठामा मात्र केन्द्रीत नरही जुनसुकै वखत यो एक मनोरंजन र शन्देशको वाहकको रुपमा विकास हुंदै आएको छ तर पनि सुर्खेतको नाट्यकर्मको शुरुवातको खण्ड भने धार्मिक अनुष्ठान संग नै जोडिएको छ भन्ने स्थानियस्तरमा भएका विभिन्न अध्ययनहरुले देखाएको पाइन्छ ।
वि.स.१९८७ देखि १९९० को विचमा तत्कालिन वस्ती कटकुवामा नारायण पुरी महाराजको कुटिवाट गरिएको रामलिला नाटक पुजा आजा पुराण एवं धार्मिक उत्सव र चाड पर्व आदीमा घरघरका आगनहरुमा समेत प्रदर्शन गरिन्थ्यो । त्यस्तै तात्कालिन मूख्यालय गोठिकांडा भन्ने ठाउमा रहेको र जागिरको सिलसिलामा सल्यानतिरबाट आएका मोहनलाल श्रेष्ठले २००२ सालमा वडा दशैको अवसरपारी गोठिकांडाको टुडिखेलमा प्रदर्शन गरेको थाहा हुन आएको छ । (गौतम २०६६)
यस क्षेत्रमा रत्यौली को परम्परा पनि निकै पहिला देखि थियो विवाहका रात दुलाहको घरमा दुलाहाकी आमा, फुपु, दिदीको नेतृत्वमा हुने रत्यौली नाच नाटक को प्राचिन रुप हो भन्दा हुन्छ । (कोइराला २०६८)
यसरी नाटकको इतिहासका वारेमा कलम चलाउंदै आएका यि रंगकर्मिका अलावा म स्वयंमले सुर्खेत उपत्यका भित्रका नाटकका उठान कालका कलाकार स्व.पदम वहादुर खड्का, स्व.भिम वहादुर वस्नेत लगाएत सुर्खेती माटोका वरिष्ठ कलाकार प्रेमदेव गिरी संगको प्रत्यक्ष साक्षतकारमा समेत सुर्खेतको नाटकको सुभारम्भ धार्मिक एवं सांष्कृतिक समारोहवाट नै भएको वुझेकाले यि रंगकर्मिका विचारसंग म पनि सहमत जनाउंदै यस समाजलाई नाटकको अवस्यकताको आधारको रुपमा मनोरंजन नै हो भन्न अतिशयोक्ति नहोला । सुर्खेती माटोमा नाट्य कर्मको उठान विन्दु देखि झण्डै वि.स.२०२० सम्मको समयमा नाटक गर्नुको प्रमुख उद्धेश्य मनोरंजन भए पनि तत्कालिन समयमा गरिएका रामलिला, हरिशचन्द्र, भहाभारत, नरसिंह, ध्रुव, बाल विवाह, काशीवास, साकुन्तल,राम बनवास नाटकहरु विषयलाई हेर्दा अधिकांश धार्मिक, पौराणीक एतिहांसिक नाटक, त्यस पछि केही सामाजिक भावमा आधारीत नाटक भएवाट नाटक गर्नुको उद्धेश्य मनोरंजनका अलावा जनमानसमा धार्मिक, सामाजिक सन्देश प्रवाह गर्नु पनि हो भन्न सकिन्छ ।
यसरी १९८७ देखि शुरु भएको सुर्खेतको रङ्ग इतिहास समय काल खण्ड संगै समय सापक्ष परिवर्तन एवं आवस्यक सुधार हुदै अगाडी वढेको पाइन्छ यसरी अगाडी वढ्ने क्रममा नाटकको आवस्यकता एवं औचित्यताका विषय वस्तु समेत समकालिन समाज अनुसार परिवर्तित हुदै आएको छ । वि.स. २०१७। ०१८ साल सम्म धार्मिक एवं छिटफुट सामाजिक विषयमा मात्र केन्द्रीत नाटक देशमा भएको राजनैतिक परिवर्तन संगै नाटकको आवस्यकता पनि भिन्नै किसिमले महशुस गर्दे राजनीतिक उकुशमुकुशको पर्दा खोल्ने माध्यमका रुपमा समेत नाटकको आवस्यकता महशुस गरियो फलत सुर्खेती माटोवाट समेत क्रान्तिकारी र विर रस प्रधान गंगालालको चिता, मसान, नारीको क्रन्दन, लासको पुकार, तातो रगतको प्रतिज्ञा, त्यो देश द्रोही गोर्खाली होइन जस्ता नाटकहरु स्थानिय प्रशासनवाट शेन्सर लियर नलिएरै भए पनि वि.स.२०४६ साल अघि सम्म विभिन्न गाउं वस्तीमा गरिएको तत्कालिन कलाकारहरुवाट सुन्दा नाटकको आवस्यकता राजनीतिक सामाजिक, राष्ट्रियताको चेतना वृद्धिकोलागि पनि हो भन्न सकिन्छ ।
वि.सं २०४६ साल पछि भने सुर्खेतको नाट्यकर्म अझ वढी परिष्कृत हुदै अगाडी वढ्दै गएको देखिन्छ । २०४६ साल पछि सुर्खेती माटोमा प्रेमदेव गिरीको सांष्कृतिक संस्थानको लामो अनुभवको प्रयोग स्वरुप रंगमंचमा फरक खालको प्रविधिगत विकास, पाश्र्व संगित, प्रकाश व्यवस्थापन जस्ता कुराको कुशल संयोजनले रंगमंचिय नाटकमा पनि स्थानिय वासिले नयां स्वाद लिन पाए भने रंग मंचको नयां प्रयोगका रुपमा नेपाल राजकिय प्रज्ञा प्रतिस्ठानमा नाटक सम्वन्धि विशेष कोर्ष पुरागरि आएका गणेश गौतमले वि.स.२०४७ सालमा सडक नाटक भित्राय पश्चात सुर्खेती माटोमा नाटकको आवस्यकतालाई अझ वढी पृथक ढंगले हेर्न थालियो । खोपिराम लम्सालको मातृ भूमिको ब्यथा, गणेश गौतमको अंश कि वंस, यूगारम्भ, सतिकलसाको धमारी, मृत्यूको खेल, रमिता र मुशल पर्व, गोविन्द कोइरालाको मेरो देश मुर्छा परेको छ, अर्काे यूगारम्भ,दाग वत्ति, उमालाल आचार्यको मौन धारण, ललित भटृराईको दशै की दशा, देवराज भण्डारीको नेपाल आमा जस्ता नाटकहरुले काठमाण्डौ र सुर्खेत भन्दा वाहीरी जिल्लाका रंगमंचवाट सुर्खेती नाटकको स्वाद ग्रहण गराउंर्दे सुर्खेत भन्दा वाहिरका दर्शक एवं कलाकारवाट भारी प्रसंशा पाए भने यसै समयमा सुर्खेती सडक नाटकको विस्तारलाई समेत पूर्व मेचि देखि पश्चिम महाकालि सम्म विभिन्न विषयमा पुर्याएकोमा स्थानिय कलाकारहरु गौरवान्वित भएका छन् । यसै समय संगै नाटकको विषय सिमित धार्मिक, सामाजिक कथामा मात्र सिमित रहेन भने नाटकले समाजका सामाजिक, आर्थिक, राजनीतिक मुद्धामा सम्वन्धित पक्षको ध्यानार्कषण गराउने माध्यम पनि वन्दै गयो । त्यति मात्र नभएर विभिन्न लोक कला संष्कृतिको खोज अनुसन्धानको माध्यम समेत नाटक वन्दै गयो । त्यस्तै यूवाहरुको ब्यक्तित्व विकासमा समेत महत्वपूर्ण योगदान दिन पुग्यो नाटकले ।
यसरी नाटकको उठान विन्दु देखि हाल सम्मको विकास अवस्थालाई हेर्दा नाटक व्यक्तीको व्यक्तित्व विकास गर्न होस वा राष्ट्र भावनाको विकास होस वा सामाजिक एकता कायम गर्न होस वा समाजका विकृति विसंगतिको चिर फार गर्न होस वा राज्य व्यवस्था परिवर्तनकालागि क्रान्तिको विकुल फुक्न वा समाजमा विभिन्न विषयमा जनचेतना जगाउन उपयुक्त र स्वस्थ मनोरंजनमूलक माध्यमका रुपमा नाटकलाई नै लिन थालिएको हुंदा नै होला म लगाएत थुप्रै यूवाहरु पनि यस विधा प्रति आर्कषित भएको तसर्थ यो सुर्खेती माटोले नाटकको आवस्यकता सायद यिनै कारणले गरयो होला की भन्नेमा कसैको विमती रहला जस्तो लाग्दैन ।
यि त भए नाटकको आवस्यकताका कुरा आवस्यकता संग संगै सुर्खेती रंगकर्मले थुप्रै संभावना समेत वाकेको छ त्यसैले वि.स.१९८७ देखिको रंङ.्गकर्मको यात्रा आज सम्म विभिन्न किसिमवाट अगाडी वढेको छ यो यात्राले सयौं नाट्यकर्मि, दर्जनौ नाटक लेखक । निर्देशक , यो माटोले जन्माएको छ भने यहां नाटकको विषय वस्तुले समेत धर्म संस्कृती देखि क्रान्तिका आवाज र जनचेतनाका शोरहरु पुरयाएको छ । रंगमंचका हिसावले आफ्नो रंग मंच घर आंगन पिढि, द्यालो र पेट्रोलमेक्सको धिप धिपे वत्ति, मकैका ढोडका वार देखि घरका धोति र तन्नाको पर्दा हुैदै तत्कालिन जि.वि.स सुर्खेतको हल सम्म र सडकका प्रत्येक चोक र गल्ली सम्म पुगेको छ भने यस क्षेत्रमा भएको प्रविधिगत विकास संगै वीरेन्द्रनगरमा सिटिहलको आवस्यकता महशुस गर्दे सिटिहल निर्माणकालागि विभिन्न क्षेत्रवाट पहल भैरहेको छ । सामाजिक रुपमा कलाकारलाई हेर्ने धारण आज परिवर्तन हुंदै गएको छ ।२०१९ सालमा सिम्ताकी कलावति गुरुंगले शुरु गरेको रंगमंचमा महिला उपस्थितिका लाई आज रंगमंच देखि सडक सम्म नै कमला पन्त, डम्मर आचार्य, शुशिला वस्नेत, माया थापा, शुनिता रोकाय सविता कोइराला, नन्दा वस्याल जस्ताथुपै्र प्रतिष्ठित महिला यूवाहरुले पच्छाई थुप्रै किशोरीहरुलाई प्रवेशको वाटो बनाएका छन् । त्यस्तै कलकारहरुको क्षमता विकास र कार्यक्षत्रगत संलग्नतालाई हेर्दा सुर्खेति माटोले जन्माएका थुप्रै रंगकर्मिहरुले सुर्खेति रंमंचमा मात्र सिमित नरही राष्ट्रिय रंगमंचमा आफ्नो छुट्टै छाप छोड्नुका साथै थुप्रै ठूलो पर्दा, सानो पर्दा, टि.भि.सिरियल, म्यूजिक भिडियो, एफ एम रेडियोहरुमा समेत छुटृै स्थान वनाउन सफल भएका छन् । त्यस्तै यस क्षेत्रमा नवप्रवेशीहरुका लागि बागिना समूह, आरंग नेपाल जस्ता संस्था मार्फत यसै क्षेत्रमा नेपाल राजकिय प्रज्ञा प्रतिष्ठान र सांष्कृतिक संस्थानवाट विशेष कोर्ष पुरा गरेका एवं यिनै निकायमा लामो समय काम गर्दे आएका वरिष्ठ कलाकार प्रेमदेव गिरी, लेखक, निर्देशक गणेश गौतम, रंगकर्मि याम आचार्य लगाएत यस क्षत्रमै लामो अनुभव गरेका उमालाल आचार्य, गोविन्द कोइराला, प्रकाश पौडेल, केशव ढकाल, ज्ञान वहादुर नेपाली, भानु भक्त अधिकारी जस्ता नाटक लेखक, निर्देशक एवं कलाकारहरुद्धारा वेलावखतमा छोटा अवधिका तालिम कार्यक्रमहरु समेत संचालन गरि थुप्रै नाटक कर्मिहरु उत्पादन गर्ने काम समेतहुंदै आएको छ भने पछिल्लो पुस्ताका शुशिला रेग्मी, माया थापा, ललित भटृराई, सविता कोइराला, सुनिता रोकाय, हरि ढकाल, उत्तम शर्मा, अक्वर खान, गणेशमान खनाल, खुमलाल न्यौपाने, नवराज खराल, तिलक पौडेल लगाएतका कलाकारकाहरुले समेत सुर्खेती रंगकर्मको विकासका लागि वर्तमानमा विभिन्न समूह मार्फत नेतृत्वदायि भूमिकामा लागि पर्दे आएका छन् । यस्तै संस्थाको विकासक्रमलाइ हेर्दा समेत सिमित परिवार, समाज, टोल वस्तिमा खुलेका नाटक कलाकारहरुको अनौपचारिक संगठनहरु विस्तारै फैलिदै समग्र मध्य तथा सुदुर पश्चिम नेपालकै नेतृत्व सुर्खेतले लिनु पर्छ भन्ने मान्यता सहित मध्य तथा सुदुर पश्चिम क्षेत्रमै प्रतिष्ठीत बागिना समूह विगत २५ वर्ष अगाडी देखि बाजा, गित, नाट्य(नाच नाटक) को समग्र विकासका लागि लागि परेको छ भने पछिल्लो समयमा जन्मीएको नाटक सम्वन्धि मात्र काम गर्ने संस्था आरंग नेपाल लगाएत उज्जल कला परिवार, लोक दोहोरी प्रतिष्ठान शाखा सुर्खेत, सप्तरंगी मोडल आट्स, कर्णाली कला प्रतिष्ठान जस्ता संस्थाको नेतृत्वमा अहिलेको पुस्ता यिनै संभावनाहरुलाई आत्मसाथ गर्दे सुर्खेती माटोमा रंगमंचिय संभावनाको वाटो कोर्न लागि परेको छ ।
यिनै आधारमा हिजोको रंगमंचका तुलनामा आजको सुर्खेति रंगमंचले थुप्रै संभावना वोकेको, आजको सुर्खेती नाट्यक्रम सिमित पर्व, ठाउ विशेषका लागि केन्द्रीत छैन सुर्खेती रंगमंचको विषय देश विदेशका लागि अनुसन्धानको विषय वन्न सक्छ भने यहांका रंगर्मिको आफ्नो मौलिक कलाले पूर्व मेचि देखि पश्चिम महाकालि सम्म नै छुट्टै छाप छोड्न सक्ने भै सकेको छ तर पनि सुर्खेती रंगर्मिले व्यवस्थीत थिएटर हल जस्ता समस्याले अपेक्षाकृत व्यवसायिक रुप दिन नसक्दा नाट्यक्रमलाई एउटा शोखको रुपमा लिंदै आफ्नो छाक टार्न वैकल्पीक जागिर वा व्यवसायमा अलमलिनु पर्ने वाध्यता वनेको छ तसर्थ राज्यका तर्फवाट समेत सुर्खेती माटोको यो ८० वर्ष भन्दा पनि लामो रंगमंचिय सम्पत्तिको संवद्धन गर्दे भावि पिडिले नाटकको यो यात्रालाई किन अगाडी वढाउने त्यसको स्पष्ट खाका दिन जरुरी छ ।
(लेखक आरङ्ग नेपाल सुर्खेतका सचिव हुन ।)