अमेरिकाको फिल्म फेस्टिभलमा ‘बुलबुल’


विगत तीन बर्षदेखि अमेरिकाको मेरिल्यान्डमा हुँदै आएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘बुलबुल’ ओपनिङ फिल्मको रुपमा प्रदर्शन हुने भएको छ । फिल्म निर्देशक विनोद पौडेलले महोत्सव आयोजकले ‘बुलबुल’लाई पहिलो फिल्मको रुपमा समावेश गरेको पुष्टि गरेका छन् । गत सालको संस्करणमा नविन सुब्बा निर्देशित फिल्म ‘गुडबाई काठमाडौं’ ओपनिङ फिल्मका रुपमा प्रदर्शन भएको थियो ।तेस्रो संस्करण जुन २८ देखि ३० तारिखसम्म मेरिल्यान्डमा हुनेछ । महोत्सवमा मौलिक फिल्मको प्रदर्शनसँगै नेपाली फिल्मका पात्र र प्रवृत्तिमाथि पनि चर्चा गरिँदै आएको छ ।

यसैबीच ‘बुलबुल’ले प्रदर्शनको चौथो हप्तामा डेढ करोड ग्रस गरेको निर्माण टिमले जानकारी गराएको छ । रिलिजको दिनदेखि नै हलिउड, बलिउड र नेपालकै पनि ठूला स्तार र बजेटका फिल्मको चपेटामा परेको फिल्मले चौथो हप्तासम्म प्रदर्शन यात्रा लम्ब्याएको हो । फिल्मलाई समीक्षकले इतिहास कै राम्रो फिल्मको रुपमा तारिफ गरेका थिए । समीक्षकसँगै बौद्धिक वर्गलाई पनि रिझाएको फिल्मले बक्स अफिसमा पनि उत्तिकै राम्रो प्रदर्शन गरेको हो । फिल्मको लेखकसमेत रहेका पौडेलले फिल्मले लगानी सुरक्षित गरिसकेको जानकारी गराए । ‘ ३ करोड लगानी गरेर १ करोड उठाउन मुस्किल भएको समयमा हामीले ८० लाख लगानी गरेर करोड बढी उठाएका छौं । हामी थोरै सही तर नाफामा छौं,’ उनले भने । उनले रिलिजको समयमा विदेशी फिल्म ‘गल्ली ब्वाइ’ र ‘अलिटा’, पछिल्लो हप्ता ‘टोटल धमाल’ र पछि नेपाली फिल्म ‘क्याप्टेन’ र ‘ब्रेकअप’को दबाब खेप्दै फिल्म चौथो हप्तासम्म आउनुलाई पनि फिल्मको सफलता नै मानेको बताए । यसैबीच निर्देशक पौडेलले फिल्म बाहिरका देशमा बेच्न सुरु गरिएको जानकारी दिएका छन् । उनले आइतबार मात्र अष्ट्रेलियामा फिल्मको प्रदर्शन अधिकार बेचेको बताए । अष्ट्रेलियामा नेपाली फिल्म देखाउँदै आएको नेपाल टचले ‘बुलबुल’को प्रदर्शन अधिकार लिएको हो । पौडेलले १२ लाखमा अष्ट्रेलिया अधिकारी बेचेको जनाउँदै यही हप्ताभित्र अमेरिका र भारतमा फिल्म बेच्ने प्रक्रिया पूरा गर्ने जनाएका छन् ।