वीरेन्द्रनगर नगरपालिकाले सुरु गर्यो गुरुयोजना बनाउने काम


चैत्र १६, सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाले नगर गुरुयोजना तर्जुमा सम्बन्धि जनप्रतिनिधि तथा विज्ञहरुसँग सुझाव संकलन गरेको छ । वीरेन्द्रनगरको समृद्धि गर्न गुरुयोजनाले महत्वपूर्ण भूमिका निर्बाह गर्ने भएकाले सुझाव संकलन गरिएको हो । सुझाव संकलन तथा अभिमुखिकरणमा बोल्दै वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख देबकुमार सुबेदीले नगरको गुरुयोजना तयार पार्ने कुरामा नगरवासीको एकता आवश्यक रहेकोमा जोड दिनुभयो । सिङ्गो कार्यपालीकाको एकताबाट वीरेन्द्रनगरको समृद्धि र वीरेन्द्रनगर योजनाबद्ध नगर शहरको रुपमा विकसित गर्ने आधारमा आफु लागेको नगरप्रमुख सुबेदीको भनाई छ । नगरप्रमुख सुवेदीले क्षतिपुर्ती दिएर निर्माण र समृद्धिको परिकल्पना समेत गर्न नसकिने राजनैतिक विज्ञहरुसँग आग्रह गर्नुभयो ।

नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले गुरुयोजना कस्तो खाले बनाउने भन्ने कुरामा बिबिध क्षेत्रसँगै बिभिन्न वडाहरुमा गएर वडास्तरिय छलफल गर्न जरुरी रहेकोमा जोड दिनुभयोे । उपप्रमूख ढकालले वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानीको नगरपालिका भएकाले यसलाई व्यबस्थित शहरको रुपमा अगाडी बढाउने आफ्नो मुल मान्यता रहेको जानकारी दिनुभयो । नगरपालिकाको न्यायिक समितिका मुद्धा फाँटमा जग्गा सम्बन्धि समस्याका मुद्धा दर्ता भएको भन्दै उपप्रमुख ढकालले जुन खालका समस्या र जुन खालका मुद्धाहरु अगाडी बढेका छन्, यस्ता खाले समस्या र मुद्धाहरु दर्ता हुन नदिन व्यबस्थित शहरको रुपमा बिकास गर्नुपर्नेमा जोडदिनुभयो ।

नगर गुरुयोजना तर्जुमा सम्बन्धि जनप्रतिनिधि तथा विज्ञहरुसँगको सुझाव संकलन तथा अभिमुखीकरण कार्यक्रममा सहरी योजना तथा आवास बिकास विज्ञ एवं वास्तुकला विदका टिम लिडर इश्वर जोशिले कार्यपत्र प्रस्तुत् गर्नुभएको थियो । प्रस्तुत् गरिएको कार्यपत्रमा नगर शहरका प्रमुख चुनौति र समाधानका बिषयमा उल्लेख गरिएको छ । २०३३ सालमा वीरेन्द्रनगर स्थापना भएपनि ४२ बर्षको अवधिमा जम्मा ४० किलोमिटर बाटो मात्रै पीच भएको कार्यपत्रमा उल्लेख छ ।

कार्यक्रममा सहभागीहरुले पर्यटकिय क्षेत्रको संरक्षण गर्नुपर्ने, बिगतमा बनेको माथेमा आयोगलाई निरन्तरता दिनुपर्ने, जग्गा पास तथा नक्सा पास फुकुवा गर्नुपर्ने भन्दै गुरुयोजना निर्माण स्वागत योग्य कदम भएको प्रतिक्रिया दिएकाछन् ।