वातावरणमैत्री कानून निर्माण गर्न प्रदेश सांसदहरुको प्रतिवद्धता


सुर्खेत, १८ चैत

कर्णाली प्रदेशसभाका सदस्यहरुले जैविक विविधताको संरक्षणका लागि वातावरणमैत्री विकास गर्न आवश्यक कानून निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।

गत चैत्र १६ वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय जैविक विविधता संरक्षणसम्बन्धी नीतिगत छलफल कार्यक्रममा प्रदेशसभाका २५ जना सदस्यहरुले वातावरणमैत्री कानून निर्माण गर्नुका साथै स्थानीय र प्रदेश सरकारलाई वातावरण संरक्षणका लागि आवश्यक ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाएका हुन् । राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपालद्वारा आयोजित उक्त कार्यक्रममा प्रदेशसभा सदस्यहरुले सदनमा मात्र नभई आआफ्नो निर्वाचन क्षेत्रमा पुगेर जैविक विविधता संरक्षणका लागि वकालत गर्ने बताएका हुन् ।

कार्यक्रम उद्घाटन गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली जैविक विविधताको दृष्टिले धनी प्रदेश रहेको बताउनुभयो । कर्णाली आफैमा जल, जंगल र जडीबुटीले धनी छ, यहाँको विकास गर्दा यी तीनवटै वस्तुको दिगो संरक्षण हुने गरी विकास गर्नुपर्ने चुनौती छ’, उहाँले भन्नुभयो, ‘कर्णालीलाई जलवायु परिवर्तन अनुकूलका नीति तथा कार्यक्रम ल्याउन, योजना कार्यान्वयन गर्न सरकार गम्भीरतापूर्वक अघि बढ्नेछ ।

प्रदेशसभा सदस्यहरुले कर्णालीको वातावरणमैत्री विकासका लागि जैविक विविधता संरक्षण र जलवायु परिर्वतनसंग सम्बन्धित नीति, योजना र कार्यक्रम तय गर्न पहल गर्ने, जडीबुटीको उपयोग गर्दै त्यसको दिगो व्यवस्थापन र जीविकोपार्जनसम्बन्धी नीति, योजना निर्माण गर्ने, वृक्षारोपण गरी हरियाली बढाउन पहल गर्ने, वनमा आधारित उद्योग प्रर्वद्धन गरी रोजगारी सिर्जना गर्ने, खानेपानीका मुहान एवं जलाधारको संरक्षणका लागि नीतिगत व्यवस्था गर्न पहल गर्ने, कर्णाली प्रदेशलाई पर्यापर्यटनको हब बनाउन आवश्यक कानून निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै, सडक निर्माणका नाममा जथाभावी डोजर प्रयोगलाई निरुत्साहित गर्ने, विकास आयोजना निर्माण गर्दा सम्बन्धित आयोजनाबाट खर्च व्यहोर्ने गरी निश्चित प्रतिशत रकम वातावरण संरक्षणमा छुट्याउन बाध्यकारी व्यवस्था गराउने र जैविक विविधतासम्बन्धी विद्यालयस्तरीय पाठ्यक्रम निर्माण गरी पठनपाठनको व्यवस्था मिलाउन पहल गर्ने लगायतका प्रतिवद्धतामा हस्ताक्षर गरिएको छ ।

महासंघका केन्द्रीय अध्यक्ष कमल सुवेदीले सात वटै प्रदेशमा जैविक विविधता एवं जलवायु परिर्वतन अनुकूलनसम्बन्धी नीतिगत छलफल सञ्चालन गरी प्रतिवेदन सार्वजनिक गर्ने बताउनुभयो । कार्यक्रममा जैविक विविधता संरक्षणका विषयमा वन विज्ञ डा. पे्रमनारायण कँडेल, जलवायु परिवर्तन अनुकूलनमा वातावरणविद् अरुणभक्त श्रेष्ठ र वन तथा वातावरण नीतिका विषयमा अरुण शर्मा पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।