उत्कृष्ट प्रदर्शन: तर अभागी युवा क्रिकेट टिम


उत्कृष्ट प्रदर्शनका बाबजुद नेपालको युवा क्रिकेट टिम विश्वकपमा छनोट हुनबाट चुकेको छ । वर्षाले प्रभावित यूएईविरुद्धको खेलमा डिएलएस मेथडअनुसार व्यहोरेको १ रनको हारले नेपाललाई एउटा ठूलो अवसरबाट वञ्चित ग¥यो । प्रतियोगिताबाट एउटा मात्रै टिम विश्वकपका लागि छनोट हुने प्रावधान थियो ।

क्रिकेट आफैंमा अनिश्चितताको खेल हो । यसमा राम्रो खेलेर मात्रै पुग्दैन, भाग्यले पनि साथ दिनुपर्छ । भाग्यले साथ नदिँदा नेपाली टिम सन् २०२० मा हुने अन्डर १९ विश्वकप खेल्नबाट वञ्चित भएको हो।

मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा नेपालको प्रदर्शन उत्कृष्ट रहेको आँकडाले देखाउँछ । नेपालले खेलेका पाँचमध्ये ४ खेलमा विपक्षी टिमलाई कुनै मौका नदिई भारी अन्तरको जित हासिल गरेको थियो । सिंगापुरविरुद्ध नेपालले हासिल गरेको २१७ रनको जित प्रतियोगितामै सबैभन्दा फराकिलो जित हो ।

दोस्रो ठूलो जित पनि नेपालकै नाममा रह्यो । ओमानविरुद्ध १५० रनको जित । नेपालले मलेसिया र कुवेतलाई समान ८–८ विकेटको हार चखाएको थियो । मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १३ ओभरमा पूरा गरेको थियो भने कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा हासिल गरेको थियो ।

प्रतियोगिताको पहिलो, दोस्रो र चौथो उच्च स्कोर नेपालको नाममा छ । सिंगापुरविरुद्ध नेपालले बनाएको २८५ रन प्रतियोगिताकै उच्च स्कोर हो । यसैगरी यूएईविरुद्ध नेपालले बनाएको २४७ रन दोस्रो र ओमानविरुद्ध बनाएको २२९ रन चौथो उच्च स्कोर हो ।

नेपाली क्रीकेटको कमजोर मानिएको ब्याटिङ पक्ष युवा क्रीकेटमा सशक्त देखिएको छ ।  पहिले ब्याटिङ गरेको बखत तीनैपटक खेलमा नेपाल २२० भन्दा कम स्कोरमा समेटिएन ।

नेट रन रेटमा पनि नेपाल सबैभन्दा अगाडि छ । अंकतालिकाको पहिलो स्थानमा रहेको यूएईको नेट रनरेट २.४२२ रह्यो भने नेपालको नेट रनरेट २.९४८ । प्राय प्रतियोगितामा नेट रनरेट कमजोर हुने नेपालका लागि यो एउटा सुखद समाचार हो ।

२००० मा पहिलो पटक १९ वर्ष मुनीको विश्वकप खेलेको नेपालको गर्विलो इतिहास छ ।

७ वटा विश्वकप खेलेको नेपालले महाशक्ति राष्ट्रहरुलाई स्तब्ध बनाएको छ । २००२ मा न्यूजिल्यान्डलाई पराजित गर्दै प्लेट च्याम्पियन बनेको थियो भने भारत, साउथ अफ्रिका, पाकिस्तान जस्ता शक्ति राष्ट्रहरुलाई पराजित गरेको छ । यस पटक राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु समेत रहेकाले नेपालले विश्वकपमा स्थान बनाउने अपेक्षा थियो तर, वर्षा बाधक भएको छ ।