कर्णालीमा पर्यटककाे आगमन उत्साहजनक !


वैशाख ९ सुर्खेत ।

कर्णाली प्रदेशमा २०७५ मा चार लाख भन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । वार्षिक पाँच लाख पर्यटक भित्राउँने लक्ष्यसहित कर्णाली रारा पर्यटन वर्ष मनाईएको कर्णाली प्रदेशमा तोकिएको सख्या पुर्याउँन नसकिएको हो ।

प्रदेशमा ४ लाख ५४ हजार आन्तरिक पर्यटकले भ्रमण गरेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्द सिहं बुढाले बताउनुभयो । ‘आन्तरिक तर्फ सुर्खेतमा एक लाख ६२ हजार ८ सय ६२, दैलेखमा ३८ हजार ६ सय ६८, जाजरकोटमा ५८ हजार ८ सय ६५, रुकुम पश्चिममा ६ हजार ६ सय ५८, सल्यानमा ३६ हजार १ सय ५०, कालिकोटमा ३१ हजार ३ सय ५७, जुम्लामा ७७ हजार ६ सय १४, मुगुमा १३ हजार ७ सय ९५ हुम्लामा २० हजार ५ सय ४५ डोल्पा ८ हजार ३ सय ५४ गरी ४ लाख ५४ हजार ८ सय ५४ जनाले भ्रमण गरेका छन् ।’ यो आर्थिक वर्षमा आन्तरिकमा सुर्खेत र बाह्यमा हुम्ला जिल्लामा सवैभन्दा धेरै पर्यटक भित्रिएका छन् ।

‘२१ हजार २ सय ९१ जना वाह्य पर्यटकले प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरेका मन्त्री बुढाको भनाई छ ।’ बाह्य पर्यटक तर्फ सुर्खेतमा ६ सय ५४, दैलेखमा १४ जाजरकोटमा ७ रुकुम पश्चिममा १३, सल्यानमा ९, कालिकोटमा २१, जुम्लामा ६२, मुगुमा ३३४, हुम्लामा १७ हजार चार सय ८९, डोल्पामा २ हजार ६ सय ८८ गरी २१ हजार २ सय ९१ जनाले भ्रमण गरेका छन् । २०७५ सालमा प्रदेशमा २४ दशमलब ८ प्रतिशतले पर्यटकको सँख्यामा वृद्धी भएको मन्त्रालयले जनाएको छ ।

पर्यटक आगमन सर्वेक्षण ०७५ तथा अध्यागमन विभाग काठमाडौँको तथ्याङक अनुसार कर्णाली प्रदेशमा यो आर्थिक वर्षको अन्त्य सम्म थप १५ प्रतिशतले पर्यटकको सख्यामा बृद्धी हुने मन्त्रालयले अनुमान गरेको छ । २०७५ वैशाख १ गतेदेखि २०७६ बैशाख १ गते सम्मको मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशमा पर्यटकको आगमन उत्साह जनक रहेको मन्त्री बुढाको भनाई छ। आगामी बर्षमा पर्यटकहरुको आगमन बढाउनका लागी भौतिक पुर्बधारको बिकास सङै पर्यटकीय स्थलहरुको पहिचान गरी गुरुयोजना बनाएर काम गर्ने समेत बताउनुभयो । यो आर्थिक बर्षमा मानसरोवरका कारण हुम्लामा सबैभन्दा धेरै बाह्य पर्यटक पुगेका छन् भने सबै भन्दा कम जाजरकोटमा पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचीव धिरेन्द्र प्रधानले कर्मचारी अभावका कारण पर्यटन सचिवालयको ब्यबस्थापन गर्न ढिलाइ भएको र केहि समयमा पर्यटन सचिवालय गठन गरी कर्णाली प्रदेशका १०१ पर्यटकीय स्थलहरुको पहिचान गर्न मन्त्रालय लागिरहेको बताउनुभयो । रारा कर्णाली भ्रमण बर्ष ०७५मा प्रदेश सरकारका विभिन्न मन्त्रालयबाट कुल ७८,१६,०९६ खर्च भएको छ ।