दुई सुत्केरी महिलाको उद्धारः मन्त्री रावल आफै उद्धारमा।


बैशाख १८

कर्णाली प्रदेश सरकारले बुधबार दुई जना सुत्केरी महिलाको उद्धार गरेको छ । हुम्लाको चंखेली गाउँपालिका र अदानचुली गाउँपालिकाबाट सुत्केरी महिलालाई उद्धार गरेको हो ।

चंखेली गाउँपालिकाको मेल्छम स्वास्थ्य चौकीमा कार्यरत अनमी दाङकी निशा नेपाली र अदानचुली गाउँपालिका–१, की  राजकला महतरालाई सामाजिक विकास मन्त्रालयले  उद्धार गरेको हो । सामाजिक विकास मन्त्री दल रावल आफै हेलिकप्टर लिएर उद्धारका लागि जानु भएको थियो । महताराको साल निस्किएर बच्चा नजन्मिएपछि र नेपालीको  गर्भपतन गराउँदा अत्याधिक रक्तश्राव भएकोले हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि ल्याएको हो ।

कर्णाली प्रदेश सरकारले विकट ठाउँका लागि हेलिकप्टरको व्यवस्था गर्दै आएको छ । हालसम्म प्रदेश सरकारले २१ जनाको उद्धार गरिसकेको छ ।चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ उद्धारमा खर्च गरेको सामाजिक विकास मन्त्री रावलले बताउनुभयो