उदाहरणीय व्यक्ती किरण सापकोटा: व्यक्तिगत लगानीमा सामाजिक कार्य


सुर्खेत, २३ बैशाख ।

सुर्खेत वीरेन्द्रनगर ४ भैरवस्थानका युवा किरण किशोर सापकोटाले आफ्नो व्यक्तिगत लगानीमा जेब्रा क्रस र क्याट लाईट निर्माण गर्नुभएको छ । समाजसेवी सापकोटा शारीरिक रुपले फरक क्षमता भएको व्यक्ति हुनुहुन्छ । तर उहाँले गरेको कामले सक्षम भन्दा सक्षम व्यक्ती र सरकार समेतलाई चुनौती दिएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अव्यवस्थित पार्किङ र ट्राफिक चिन्हको अभावले दिनहुँ दुर्घटना भैरहेको हुन्छ । यसलाई समाधानका लागि सरकारी तवरबाट गर्नुपर्ने काम सापकोटा आफैंले व्यक्तिगत लगानीमा गर्नुभएको हो ।

बुवा रामदत्त सापकोटा र आमा स्व‍. भिमा सापकोटाका कान्छा छोरा २६ बर्षिय यूवा किरणकिशोर सापकोटले आफ्नो घर अगाडी नै एकदिन अटो (टेम्पो) दुर्घटना भएको देख्नुभयो । दुर्घटना भएको देखेपछि थोरै भएपनि न्यूनीकरणका लागि केही काम गर्न मन लागेको सापकोटा बताउनुहुन्छ । उहाँले कसैसंग आर्थिक सहयोग नलिएर आफ्नै व्यक्तिगत खर्च करिव ५० हजारको लागतमा एक उदारहणीय कार्य गर्नुभएको छ । “मेरो आमाले मलाई यो संसार छोडेर जानु अघिनै मेरो नाममा केही रकम सहकारी संस्थामा जम्मा गरिदिनुभएको रहेछ ! त्यो रकम, अनी मेरो पढाई पनि राम्रो भएको कारणले मैले पाएको छात्रबृती रकमलाई फजूल खर्च नगरी समाजमा केही काम गर्नुपर्छ भन्ने लाग्यो ।” सापकोटा भन्नुहुन्छ,  “संयोगवस एकदिन मेरो घर नजिकै भैरवस्थान स्कुल अगाडी अटो दुर्घटना भयो, त्यही दुर्घटनाले मलाई सवारी साधन चलाउने चालक र बटुवाहरुकालागि सजिलो होस भनेर यस्तो काम गर्ने सोच आयो ।”

सापकोटा सानैबाट रेडक्रसमा सहभागी भई समाजसेवा गरेको समेत सम्झनुहुन्छ । गाँउमा ‘मितेरी सञ्जाल’ नामक क्लव खोलेर सामाजिक कार्य गर्ने देखि लियो क्लव भैरवस्थानको उपाध्यक्ष भएरपनि काम गरेको उहाँ बताउनुहुन्छ । “यो काम गर्नकालागि मेरो एकजना इन्जिनियर साथी पुजन गिरीले बाटोमा जेब्रा क्रसिङ्ग र साँकेतिक चिन्हहरुको स्केच बनाइदिनुभयो र मैले सुर्खेत ट्राफिकको साथ लिएर वीरेन्द्रनगरका विभिन्न ठाउँमा यो कार्य गर्न सजिलो भयो ।” सवारी तथा पैदल यात्रीलाई सजिलोका लागि  वीरेन्द्रनगरको भैरवस्थान विद्यालय अगाडी, मुख्यबजारको वीरेन्द्रचौक र तल्लोबजार बाट हटिया जाने चौकमा जेब्रा क्रसिङ्ग र संकेत चिन्ह तथा २० थान क्याटलाइट (गाडीको बत्तीले टल्कने बत्ती) राखिएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बढ्दो सवारी चापसँगै सम्भावित सडक दुर्घटना न्युनिकरण गर्न सहयोग पुग्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालयको समन्वयमा ट्राफिक संकेतहरु स्थापना गरिएको सापकोटाले बताउनुभयो ।