कर्णाली प्रदेश सरकारले ३३ अर्बको बजेट ल्याउने तयारी


सुर्खेत, ३0वैशाख  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३३ अर्बको बजेट ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्षको सञ्चित कोषमा जम्मा हुन सक्ने रकम समेतलाई अनुमान गरी बजेट ल्याउने तयारी भइरहेको जनाएको छ । यो चालू आर्थिक वर्षभन्दा करिव पाँच अर्ब वजेट बढी हो । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट ल्याएको थियो । आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा १५ प्रतिशत मात्रै खर्च भएको छ । अबका दुई महिनामा विकास खर्च ५० प्रतिशतभन्दा बढी गर्ने लक्ष्य रहेको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताउनुभयो । संघीय सरकारबाट चालू आर्थिक वर्षमा ९२ करोड विशेष अनुदान र ८३ करोड समपुरक अनुदान पाएको कर्णाली सरकारले आगामी वर्षमा तीन अर्ब विशेष र समपुरक अनुदान प्राप्तको लक्ष्यसहित बजेट बनाउन लागेको छ । चालू आर्थिक वर्षको चार अर्ब बजेट प्रदेश सरकारको सञ्चित कोषमा रहने सरकारको अनुमान छ । कर्णाली सरकारले आगामी बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा प्रि–बजेट छलफल सुरु गरेको छ । नागरिक समाज, स्थानीय तह, राजनीतिक दल र विज्ञसँगको छलफल गरी प्राप्त सुझाबका आधारमा बजेट निर्माण गर्ने जनाएको छ ।