अत्याधुनिक सिटी बसपार्क निर्माण सम्पन्न


राकेश पाैडेल

३० बैशाख, सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिका सुर्खेतकाे अत्याधुनिक सिटी बसपार्ककाे सम्पुर्ण निर्माण कार्य सम्पन्न भएकाे छ । नगर गौरवको आयोजनाका रुपमा सञ्चालित बसपार्कको तिन बर्ष लगाएर निर्माण पुरा भएको हाे । पटक–पटकको म्याद थपसंगै निर्माण कम्पनीले तिन वर्ष लगाएर अत्याधुनिक संरचनासहितको बसपार्क आयोजना सम्पन्न गरेको हो । वीरेन्द्रनगर नगरपालिकाको प्राविधिक शाखाले निर्माण पुरा भएपनि ठेकेदारलाई अन्तिम किस्ता रकम भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । निर्माण कम्पनी चाङ्मिला÷नरसिंहजेभी दार्चुलाले केही दिनभित्रै नगरपालिकालाई आयोजना हस्तान्तरणको तयारी गरेको छ । ठेकेदारको ढिलासुस्तीको सिकार बन्न पुगेको यो आयोजना छिटो सम्पन्न गर्न नगरपालिकाले विशेष चासो दिएको थियो ।

नगर प्रमुख देवकुमार सुवेदीले छिटो भन्दा छिटो बसपार्क निर्माण सम्पन्न गर्न ठेकेदारलाई पटक–पटक चेतावनीका साथै हौसलासमेत दिनुपरेको बताउनुभयो । ‘प्रदेश राजधानीमै व्यवस्थित बसपार्क नहुँदा समस्या थियो, खबरदारी नभएको भए सायद ठेकेदारले अलपत्रै छाड्ने स्थिति थियो,’ उहाँले भन्नुभयो, ‘बसपार्क निर्माण हुँदा नगरको मुटु मंगलगढी चोकलाई विस्तार र व्यवस्थित गरिनेछ ।’ मुख्यबजार प्रवेश गर्ने स्थानमै बसपार्क सञ्चालनमा ल्याइँदा नगर क्षेत्रको सुन्दरता बिगे्रको भन्दै आलोचना हुने गरेको थियो । निर्माण कम्पनी चाङ्मिला÷नरसिंह जेभी र नगर विकास समितिवीच ०७२ माघमा सम्झौता भएको थियो । १५ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भएपनि निर्माण कम्पनीले तिन वर्ष लगाएर सिटी बसपार्क पुरा गरेको हो । रु. ६ करोड ८३ लाख लागतमा बनेको अत्याधुनिक बसपार्कमा ६४ वटा व्यापारिक सटर, दुई पक्की शौचालय, पर्खाल, गार्ड बस्ने घर, टर्मिनल भवन, टिकट काउन्टर लगायतका संरचना छन् । करिब ४ हजार ५ सय वर्गमिटर क्षेत्रफल रहेको बसपार्कमा साना–ठूला गरी १ सय २० वटा बस अट्न सक्ने क्षमता रहेको छ । नगर विकास कोषबाट ऋण सहयोगमा बसपार्क निर्माण गरिएको हो ।

सुविधासम्पन्न बसपार्क नहु“दा सुर्खेतबाट सञ्चालित बस, यातायात कर्मचारी तथा यात्रु लगायतले अनावश्यक सास्ती भोग्नुपर्ने बाध्यता थियो । ‘बसपार्कलाई संवेदनशिल क्षेत्र मानिन्छ । व्यवस्थित बसपार्क सहरका लागि नभै नहुने पूर्वाधार पनि हो,’ कांक्रेविहार यातायात व्यवसायी समितिका निवर्तमान सचिव रमेश सापकोटाले भन्नुभयो, ‘अत्याधुनिक सेवा सुविधासहितको बसपार्क सञ्चालनमा आउनु व्यवसायीका लागि मात्र नभई सिंगो नगरकै लागि गौरवको विषय हो ।’