३०० मिटर धावनमार्ग थपे भाडा आधा सस्तो हुने ।


 

 

सुर्खेत विमानस्थलको उत्तरतर्फ ३०० मिटर धावन मार्ग थप गर्न सकिए ठूला जहाज आउने र भाडापनि अहिलेको तुलनामा आधा सस्तो हुने सुझाव एक बिज्ञ टोलिले दिएको छ ।

बिस्तारमा:
बुद्ध एयरको एटिआर ४२ ले विगत एक बर्षदेखि दैनिक सुर्खेत काठमाडौं उडान सेवा सञ्चालन गर्दै आएकोमा अबको तीन बर्षपछि यो जहाज नचलाउने र एटिआर ७२ मात्रै चलाउने भएकोले सुर्खेत विमानस्थलको धावनमार्ग नपुग्ने हुँदा कम्तीमा ३०० मिटर थपेर एक हजार ५५० मिटर बनाउनुपर्ने सुझाव उनीहरुले दिएका छन् ।

टोलिका अनुसार एक हजार ५५० मिटर धावन मार्ग भए ७२ सिटे कुनैपनि कम्पनीका जहाजहरु सहजै उड्न र अवतरण गर्न सक्नेछन् ।

३०० मिटर थप विस्तार गर्न सुझाव दिएजसो सहज भने छैन । उत्तरतर्फ स्थानीयका घरजग्गा तथा एउटा माध्यमिक विद्यालय रहेको र दक्षिणतर्फ राजमार्ग भएको र त्यसको केही तल काँक्रेविहारको डाँडा भएकोले दक्षिणतर्फ विस्तार गर्न सम्भव छैन । उत्तरतर्फ मुआव्जा दिएर भएपनि ३०० मिटर थप गर्न सकिए सुर्खेतदेखि काठमाडौंलगायत अन्य सहरसंग दीर्घकालीन रुपमा सिधा हवाई सम्पर्क कायमै रहने बिज्ञको सुझाव छ ।

अहिले एक हजार २५० मिटर धावनमार्गमा बुद्ध एयरको एटिआर ४२ विमान दैनिक उडान भर्दा महँगो (आठ हजारदेखि ११ हजार) भाडा भएपनि दैनिक ३० देखि ४० यात्रु सुर्खेतदेखि सोझै काठमाडौंको सेवा लिएकोमा विमानस्थलको धावनमार्ग थप गर्न सकिए ठूला जहाज आउने र भाडापनि अहिलेको तुलनामा आधा सस्तो हुने टोलिले जनाएको छ। २०२२ सालमा स्थापना गरिएको सुर्खेत विमानस्थलबाट कर्णाली प्रदेशका दुर्गम हिमाली तथा सुदूरपश्चिम प्रदेशका केही जिल्लामा यात्रु तथा खाद्यान्न ओसारपसारका लागि दैनिक दुई दर्जन बढी उडानहरु हुने गर्दछ । २०६३ सालमा उक्त विमानस्थल कालोपत्रे गरिएको थियो ।