भाइले हानेको गोली लागेर दाजुको मृत्यु


वीरगन्ज : पर्सामा भाइले हानेको गोली लागेर दाजुको मृत्यु भएको छ। जिराभवानी गाउँपालिका १ बलुवामा बिहीबार साँझ भाइले हानेको गोली लागेर गम्भीर घाइते ४८ वर्षीय शेख फारुकको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।

घरायसी विवादका क्रममा  जिराभवानी १ महादेवपट्टीको बलुवाका शेखलाई उनका कान्छा भाइ ३८ वर्षीय शेख फारुक सेराजुद्धिनले नलकटुवा पेस्टोलबाट गोली हानेका थिए।

गोलीले दाहिने पाखुरा छेडेर गम्भीर घाइते भएका शेखको शुक्रबार बिहान मृत्यु भएको हो। गोली लागे लगत्तै उनलाई वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो। त्यहा उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा पुर्याइएको थियो। त्यहाँ पनि उपचार असम्भव देखिएपछि काठमाडौं लाने क्रममा शुक्रबार बिहान ७ बजे उनको निधन भएको हो।

गोली हान्ने भाइ सेराजुद्धिनलाई प्रहरीले बिहीबार राति नै पक्राउ गरिसकेको छ। पेस्तोल र गोलीसहित पक्राउ परेका भाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन्।

घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए। प्रहरीले भाइको साथबाट नलकटुवा पेस्तोल, त्यसमा लाग्ने  गोली तीन थान र एउटा खोका बरामद गरेको छ। गोली हान्नुको कारण खुल्न नसकेको शर्माको भनाइ छ।