कर्णालीमा दिगो विकास बुझाउँदै अमृत


सुर्खेत– कास्की, पोखरा महानगरपालिका २३ का अमृत देवकोटालाई तीन वर्ष अघि वातावरणमैत्री विकाससम्बन्धी तालिमका सिलसिलामा हुम्ला पुगेका बेला त्यहाँका एक स्थानीयको भनाईले मन छोयो,–विकासै देख्न नपाएको बेला के को दिगो विकास ? पहिलोपल्ट हुम्ला पुगेका बेला उनले सबै दृश्य नियाले साँच्चिकै विकासै नभएको ती स्थानीयको भनाईमा आधा सत्य देखे ।
कर्णालीमा छारा टार्ने प्रवृत्तिले गरिने विकासलाई दिगो विकासमा जोड्न सहज छैन् । ‘हुम्लीलाई नेपाल पक्ष राष्ट्र भएर दिगो विकास लक्ष्यका सूचकांक र तीनलाई व्यवहारमा उतार्न कन्भिन्स गर्न कम्ती ग्राहो विषय होइन, उनी भन्छन्, गाउँघरमा हुने गरेका विकासका स– साना गतिविधिलाई दिगो विकासका लक्ष्यअनुसार निर्माण सम्पन्न गर्न उत्प्ररित गराइयो ।’

कर्णालीमा विकास भनेको ठूला आयोजनामात्रै हुन भन्ने आम बुझाई छ । अमृत भन्छन्, एउटा पानी घट्ट निर्माण गर्ने सन्दर्भलाई वातावरणमैत्री र दिगो विकासका सूचकांकमा रहेर निर्माण गर्न सकिन्छ । विकासै थाहा नपाउने जनतालाई दिगो विकास त अलि टाढाको कुरा भइहाल्यो । संयुक्त राष्ट्र संघले अघि सारेको दिगो विकास लक्ष्यलाई अभियानका रुपमा सञ्चालन गर्न उनले दिगो विकास लक्ष्यसम्बन्धी राष्ट्रिय युवा सञ्जाल गठन गरे । सातै प्रदेशमा प्रदेशस्तरको युवा सञ्जाल गठन दिगो विकास लागि नेपाल युवा सञ्जाल निर्माण गरेका हुन् ।
‘कर्णाली आउनु मेरो बाध्यता होइन, रहरले नै आएको हो, उनी भन्छन्, ‘यही विषयमा स्थानीयसंग छलफल चलाउन सात पटक यहाँ आइसकेको छु ।’ त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा एमएस्सी गरेका अमृतका लागि  बिदेशको अफर  नआउने होइन । कलेजहरु र अन्य प्राइभेट कम्पनीले पनि कन्सल्टेन्टका रुपमा उनैलाई रोज्थे । तर, कर्णालीमा दिगो विकास लक्ष्यका सूचकांक अनुसार विकासे अभियान शुरुवात गर्न मन लाग्यो ।
कर्णालीका विभिन्न गाउँबस्ती पुगेर उनले दिगो विकासका साथै युवा क्षमता अभिवृद्धि, नेतृत्व विकास र सशक्तिकरण तथा परिचालन, वातावरण संरक्षण, प्राकृतिक स्रोत तथा व्यवस्थापनमा विशेषज्ञका रुपमा खटिएका हुन्छन् । युवा, महिला, जनप्रतिनिधि लगायत सरोकारवालालाई दिगो विकास लक्ष्यलाई स्थानीयकरण गरी कार्यान्वयनको योजना बनाउन सीप सिकाउन व्यस्त छन् ।
अमृत दिगो विकास लक्ष्यका विषयमा मात्र होइनन् युवा नेतृत्व विकास र परिचालन अन्तर्गत सरकारको नमूना युवा संसद राष्ट्रिय युवा परिषदमार्फत देशैभरीका युवालाई र अन्य विकास साझेदारहरुलाई सहजीकरण पनि गर्छन् । ‘युवा नमूना संसदको तालिम कार्यविधि, तालिम सामाग्री निर्माण गर्नुका साथै विभिन्न जिल्लाहरुमा संसदीय अभ्यासका बारेमा प्रशिक्षण दिँदै आएको छु, उनी भन्छन्, ‘वातावरण संरक्षण, जलवायु अनुकूलन, प्राकृतिक स्रोत व्यवस्थापन, वातावरणमैत्री स्थानीय शासन र प्रकोप व्यवस्थापन, बालअधिकार र बाल संरक्षण बालसहभागिता, युवाका लागि जीवनउपयोगी सीपका विषयमा आफ्नो ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आएको छु ।’
एक दशकदेखि युवा अभियान, वातवारण संरक्षण र दिगो विकास अभियानमा लागेका उनी विभिन्न अन्तराष्ट्रिय सम्मेलनमा सहभागी भइसकेका छन् । युवा तथा खेलकूद मन्त्रालयको तर्फबाट भारतको लागि युथ डेलिगेट २०१७ मा प्रतिनिधि, युवा विद्यार्थीहरुको विश्व सम्मेलन रसियामा नेपालको तर्फबाट सहभागी भएर वातावरण दिगो विकासको बारेमा प्रस्तुतिकरण गरिसकेका छन् । अमृतले अगुवाई गरेको बालमैत्री संविधानका लागि कालो टोपीमा युवा नामक अभियान ०७०÷७१ सालमा खुबै चर्चित थियो ।