लघु औद्योगिक ग्राम प्रदेश सरकारलाई हस्तान्तरण


सुर्खेत, ९ जेठ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारहरुबीच समन्वय कायम हुन सके मात्र सङ्घीयता सफल हुने बताउनुभएको छ ।

वीरेन्द्रनगरमा निर्माणाधिन लघु औद्योगिक ग्रामको आज प्रदेश सरकारलाई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानको मूल स्प्रिट तीन तहका सरकारबीच समन्वय र सहकार्य नै रहेको बताउनुभएको हो । ‘संविधानको मूल स्प्रिटलाई सबैले आत्मसाथ गर्दै संविधानको सही कार्यान्वयनमा जोड दिऔं,’ उहाँले भन्नुभयो, ‘एकले अर्कालाई फेल गराउने नभई सघाउने गरी तीन वटा सरकार अघि बढ्नुको विकल्प छैन् ।’

लगानी सम्मेलनपछि नेपालमा लगानीको आकर्षण बढेको उहाँको भनाई थियो । यसका लागि सरकार पुराना ऐन, कानूनहरु सुधार गर्दै लगानीको उपर्युक्त वातावरण बनाउन लागिरहेको उहाँले बताउनुभयो ।
मन्त्री यादवले अहिलेको संविधानकै कारण पूर्वराजाले घुम्न पाएको बताउनुभयो । ‘हामीले राजाका विरुद्ध कुरा गर्दा थुनिन्थ्यौैं, तर अहिले त्यस्तो अवस्था छैन्,’ उहाँले भन्नुभयो, ‘संवैधानिक स्वतन्त्रताको दुरुपयोग हुने गरी कसैले अराजकता मच्चाउँछन् भने त्यो दुर्भाग्य हुनेछ ।’

कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान निर्माण जत्तिकै चुनौती कार्यान्वयनमा रहेको बताउनुभयो । विभिन्न तर्क देखाएर प्रदेश र स्थानीय तहलाई कमजोर बनाउने षडयन्त्र भईरहेको भन्दै उहाँले स्थानीय तह बलियो नभए सङ्घीयता सफल नहुने दाबी गर्नुभयो । मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘पुराना सोच र मानसिकताकै कारण सङ्घीयता कार्यान्वयनमा समस्या आईरहेको छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडाले सरकारले लघु उद्यमको विकासमार्फत उत्पादन र रोजगारी बढाउने कार्यक्रमलाई प्राथमिकता राखेको बताउनुभयो । त्यस्तै, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सङ्घीय सरकारले लघुऔद्योगिक ग्राम प्रदेशलाई हस्तान्तरण गरेर सङ्घीयता कार्यान्वयनमा एक कदम अघि बढेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्त्री यादवले कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढालाई औद्योगिक ग्रामको स्वामित्व हस्तान्तरण पत्र तथा मन्त्री यादव र कर्णालीका मुख्यमन्त्रीले वीरेन्द्रनगर ७ स्थित घरेलु तथा साना उद्योग विकास समिति परिसरमा निर्माणाधिन औद्योगिक ग्राम हस्तान्तरणसम्बन्धी ताम्रपत्रको संयुक्त रुपमा अनावरण गर्नुभएको थियो । चार ब्लकमा ६२ कोठा रहेको औद्योगिक ग्राम रु. १५ करोड १६ लाख लागतमा निर्माण भइरहेको छ ।