राउटेलाई अव नागरिकता


सुर्खेत, असार ३ ।
जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले गुराँस गाउँपालिकाले अघिल्लो वर्ष वितरण गरेको परिचयपत्रका आधारमा नागरिकता दिने निर्णय गरेको हो । सोमबार सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका सचिव डा. मानबहादुर विकेले दैलेखको गुराँस गाउँपालिकाले वितरण गरेको परिचयपत्रका आधारमा नागरिकता दिइने बताए ।

अघिल्लो वर्ष राउटे समुदायलाई समाजिक विकास मन्त्रालयको सहकार्यमा गुराँस गाउँपालिकाले परिचयपत्र वितरण गरेको थियो । ‘सामाजिक सुरक्षा भत्ता वितरणका साथै अन्य सरकारी कामकाजमा पनि सहजता हुने भएकाले नागरिकता वितरण गर्ने निर्णय गरिएको हो’ सचिव डा. विकेले भने, ‘राउटेसँग काम गरिरहेका सरोकारवालाहरुसँगको समन्वय र सहकार्यमा यसलाई अघि बढाउँछौं ।’
राउटे समुदायले गुराँस गाउँपालिकाको स्थायी बासिन्दाका रुपमा नागरिकता पाउने छन् । ‘जहाँबाट परिचयपत्र लिएका हुन्, त्यहीँको ठेगाना राखेर नागरिता दिने प्रक्रिया सुरु गरिएको हो’ दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मी बास्तोलाले भने, ‘प्रक्रिया पु¥याएर बस्तीमै नागरिकता वितरण गर्न जान्छौं ।’

गुराँस गाउँपालिका–८ को गर्चाखोला स्थायी ठेगाना राखेर गाउँपालिकाले परिचयपत्र वितरण गरेको थियो । राउटे समुदाय अहिले गुराँस गाउँपालिका–५ को कान्छीबजारमा बसेका छन् । राउटे समुदायसँग काम गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) का अनुसार राउटे समुदायको जनसंख्या १४६ छ । ति मध्ये ६० वर्षमाथिका २५ जना छन् भने ६४ जना बालबालिका छन् ।
राउटे बस्ती हेर्न शुल्क तिर्नुपर्ने


गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि बस्ती हेर्न जानेसँग शुल्क लिन थालेको छ । जथाभावी राउटे बस्तीमा प्रवेश गर्दा उनीहरुको संस्कार र संस्कृति हराउँदै गएको र विकृति पनि बढ्दै गएकाले शुल्क लिने व्यवस्था गरिएको अध्यक्ष खेमराज वलीले जानकारी दिए । उनले बस्ती प्रवेशका लागि शुल्क लिन थालेदेखि राउटे बस्तीमा जथाभावी प्रवेश गर्नेको संख्या घटेको बताए । गाउँपालिकाले गाउँपालिकाभित्रका नागरिकका लागि १० रुपैयाँ, नेपाली नागरिकका लागि २० रुपैयाँ, विदेशी नागरिकका लागि पाँच सय रुपैयाँ, अडियो, भिडियो र क्यामराका लागि एक हजार रुपैयाँ शुल्क तोकेको छ ।