खानेपानी समस्या समाधानमा सघाउन प्रदेश सरकारलाई वीरेन्द्रनगरको आग्रह


वीरेन्द्रनगर नगरपालिकाको पाँचौ नगरसभाले खानेपानी समस्याको दीर्घकालिन समाधानका लागि सहयोग गर्न प्रदेश सरकारसंग आग्रह गरेको छ । नगरसभाले विशेष प्रस्ताव पारित गर्दै भेरी लिफ्टिङ आयोजनामा सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गरेको हो ।


नगरप्रमुख देवकुमार सुवेदीले सङ्घीय र प्रदेश सरकारको सहयोगबिना नगरपालिकाको प्रयासबाट मात्रै वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्न नसकिने बताए । ‘वीरेन्द्रनगर प्रदेश राजधानी पनि हो त्यसैले यहाँ दिन प्रतिदिन जनघनत्व बढिरहेको छ’, उनले भने, ‘तत्काल भेरी लिफ्टिङ खानेपानी आयोजना अगाडि बढाउन नसके झन् विकराल समस्या निम्तिने खतरा छ ।’
भेरी नदीको पानी लिफ्टिङ गरेर सुर्खेत उपत्यका ल्याउन सङ्घीय सरकारले डिपिआर बनाइसकेको छ । त्यसका लागि कम्तीमा २ अर्ब ८५ करोड लागत अनुमान गरिएको छ ।

नगर प्रमुख सुवेदीले आफ्ना नियमित कार्यक्रम अन्तर्गत नगर क्षेत्र भित्रका मुहानहरुको संरक्षण गर्ने प्रयासहरु भइरहेको बताए । प्रदेश सरकारले यस आयोजनाका लागि बजेट विनियोजन गरे साझेदारीका रुपमा नगरपालिकाले पनि १० प्रतिशत लगानी गर्ने सुवेदीको भनाई छ । प्रदेश राजधानीको भौतिक पूर्वाधार विकासका साथै खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारलाई पर्याप्त बजेट विनियोजन गर्न नगरपालिकाले प्रस्ताव गरेको हो । हालै सम्पन्न नगरसभाले खानेपानी आयोजनाका अतिरिक्त वैकल्पिक बसपार्कको खोजी, वसपार्क क्षेत्र विस्तार तथा चक्रपथ र हटलाइनलाई पुरा गर्न आवश्यक बजेटको व्यवस्थाका लागि समेत प्रदेश सरकारसंग माग गरेको छ ।

त्यस्तै, नगरसभाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा पाँच वटा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । शैक्षिक वर्ष घोषणा अन्तर्गत सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि हुने खालका कार्यक्रम एवं भौतिक पूर्वाधारको विकास गरिने, वडा नं १४, १५ र १६ मा विद्युतीकरण योजना सम्पन्न गर्ने, सडक लगायत पूर्वाधार क्षेत्रको विकास लागि झण्डै ५६ प्रतिशत पुँजीगत खर्च विनियोजन, सरसफाइ अभियान, हरियाली प्रर्वद्धन र एकिकृत नगर सफ्टवेयरका लागि सूचना प्रविधिमा आधारित रहेर दैनिक प्रशासन सञ्चालन गर्ने योजनालाई मुख्य प्राथमिकतामा राखेको हो ।
आव ०७६÷७७ का लागि वीरेन्द्रनगरले असार १० गते रु. १ अर्ब १९ करोड ८२ लाख ५० हजार ४ सय बजेट सार्वजनिक गरेको थियो ।