कर्णालीमा संविधान दिवस भव्य रुपमा मनाईने


१८ भाद्र, सुर्खेत ।

कर्णाली प्रदेशमा संविधान दिवसलाई व्यापक हर्षउल्लास सहित भव्यरुपमा मनाईने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको सर्वपक्षिय वैठकले आगामी असोज २, ३ र ४ गते विविध कार्यक्रमको आयोजना गरि संविधान दिवसलाई भव्यरुपमा मनाउने निर्णय गरेको हो । वैठकले कर्णाली प्रदेश अन्तर्गतका मन्त्रालय, मातहतका निकाय तथा स्थानीय तहरुमा सरसफाई, सजावट, दिपावली तथा राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको छ ।

वैठकले संविधान दिवसका दिन विहान ७ बजे मंगलगढी चोकवाट प्रभातफेरी गर्ने र खुलामञ्चमा संविधान दिवस समारोहको आयोजना गर्ने निर्णय गरेको छ । प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, विभिन्न सामाजिक संघ संस्थाहरुले साँस्कृतिक पहिचान सहितको झाँकी प्रदर्शन गरिने कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव तथा मुल समारोह समितिका सदस्य सचिव विनोदकुमार गौतमले वताउनुभयो । प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, निजामती कर्मचारी आ–आफ्नो पोशाक र सर्वसाधारणहरुलाई राष्ट्रिय पोशाकमा राष्ट्रिय झण्डा सहित सहभागि हुन पनि आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

 

वैठकले सर्वसाधारण सवैका सवै घर तथा पसलहरुमा राष्ट्रिय झण्डा फहराउनुको साथै दिपावली गर्न आव्हान गरेको सदस्य सचिव गौतमले जानकारी दिनुभयो । संविधान दिवसलाई भव्यताका साथ मनाउन वैठकले मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा २० सदस्यीय मुल समारोह समिति गठन गर्ने निर्णय समेत गरेको छ । मुल समारोह समितिका सदस्यहरुमा प्रदेश सभाका सभामुख, उच्च अदालतका मुख्य न्यायधिस, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष, जिल्ला समन्वय समिति सुर्खेतका प्रमूख, प्रदेश सरकारका प्रमूख सचिव रहनुभएको सदस्य सचिव गौतमले वताउनुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिव रहेको समितिका अन्य सदस्यहरुमा उच्च अदालतका न्यायधिसहरु, मुख्य न्यायधिवक्ता, प्रदेश सभाका सदस्यहरु, वीरेन्द्रनगर नगरपालिकाका प्रमूख, प्रदेश सरकारका सचिवहरु, जिल्ला अदालतका न्यायधिस, उच्च अदालतका रजिष्ट्रार, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति, राजनैतिक दलका प्रमूखहरु, प्रदेश सरकारका राजपत्राँकित प्रथम श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रदेश प्रमुखहरु र उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष रहेको वताईएको छ । यसैगरि वैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सामाजिक विकास मन्त्री दल रावलको संयोजकत्वमा खेलकुद तथा अतिरिक्त क्रियाकलाप संचालक उपसमिति र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको संयोजकत्वमा मञ्च सजावट तथा कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरेको छ ।