गृह मन्त्रालयको छानविन टोली सुर्खेतमा


सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१४ कटकुवामा मृत अवस्थामा भेटिएका पशुचौपायाको वारेमा छानविनका लागि गृह मन्त्रालयको टोली वीरेन्द्रनगर आइपुगेको छ। गृह मन्त्रालयद्वारा गठित छानविन समितिका संयोजक उपसचिव सागरमणि पाठकसहितको टोली वीरेन्द्रनगर आइपुगेको हो।

 

नेपालगञ्ज उप–महानगरपालिकामा रहेको काञ्जी हाउसमा मंगलबार पुगेको टोली बुधबार वीरेन्द्रनगर आइपुगेको हो।

छानविन समितिका संयोजक पाठकले भने, ‘गाई–गोरु खसालिएको भनिएका वीरेन्द्रनगरका कटकुवा, कपासे, सुब्बाकुना लगायतका स्थानहरूमा स्थलगत अध्ययन गर्दैछौ। वीरेन्द्रनगरपछि दैलेखको भैरवी गाउँपालिकासम्म पुग्छौ।’

नेपालगञ्ज उप–महानगरपालिकाले पशुचौपाया पुर्‍याउने भनिएको भैरवी गाउँपालिकामा रहेको धार्मिक पर्यटकिय क्षेत्र शिरस्थानका सम्बन्धित व्यक्तिहरूसँग छानविन समितिले भेट गर्नेछ।

छानविन पश्चात समितिले घटनाको वस्तुगत तथ्य पत्ता लगाउने र आगामी दिनमा यस्ता समस्या उत्पन्न हुँन नदिन सुझावसहितको प्रतिवेदन गृह मन्त्रालयलाई दिने पाठकले बताए।

नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जिहाउसबाट दैलेख श्रीस्थानका लागि भनि ल्याइएका गाइगोरु भदौ १३ गते वीरेन्द्रनगरको कटकुवा र सुब्बाकुनाको भीरमा तीन सय ७० गाइगोरु र बाच्छाबाच्छी मध्ये ३५ वटा मृत अवस्थामा फेला परेका थिए।