साझा घरको सहारामा बाँचेकालाई सनराईज बैंकको सहयोग


सुर्खेत, १२ असोज ः

कर्णाली प्रदेशको राजधानी शहर बीरेन्द्रनगर ९ सुर्खेतमा साझा घर नेपाल स्थापनाको अवधि मात्र छ महीना पुगेको छ । जहाँ अहिले बेसाहारा १० वृद्ध र नौजना बालबालिकाहरुले साहारा लिईरहेका छन् । बढ्दो शहरीकरणले यहाँको जनसंख्या तीव्र गतिमा वृद्धि हुँदै जाँदा पछिल्लो समयमा राजधानी सुर्खेतमा बेसाहारा नागरिकहरुको संख्या बढ्न थालेको छ । मानव सेवाका लागि भनेर मानव सेवा आश्रम एक वर्षदेखि सुर्खेतमा सञ्चालनमा छ । प्रशान्ति वृद्धाश्रमले स्थापनाको वर्षौैं बिताईसक्यो । त्यस्तै, छ महीना अघि सञ्चालनमा आएको साझा घर नेपालले १९ जना अनाथ, असहाय, वृद्ध बेसाहरा नागरिकहरुलाई ओत दिईरहेको छ ।

 

 

उक्त साझा घरमा आश्रय लिदैं आएका बेसाहाराहरुका लागि आईतबार सनराईज बैंक सुर्खेतले आवश्यक सामग्री तथा खाद्यान्न वितरण गरेको थियो । बैंकको १२औं स्थापना दिवसको अवसरलाई सामाजिक सेवासँग जोड्ने हेतुले बेसाहाराहरुलाई आश्रय प्रदान गरेको साझा घर नेपाललाई रु.२२ हजार नगद बराबरको सहयोग प्रदान गरिएको सनराईज बैंक सुर्खेतका कार्यालय प्रमुख सुस्मा गिरीले जानकारी दिनुभयो । “दीन, दुःखी, गरिब, विपन्न र अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्नु हाम्रो पनि सामाजिक दायित्व हो,” प्रमुख गिरीले भन्नुभयो, “जसअन्तरगत हामीले दराज, कुर्ची, आवश्यक खाद्यान्न तथा अन्य सामग्री प्रदान गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरेका छौं ।” कुनैपनि व्यक्तिको बाँच्ने आधार खाना भएकोले आफूहरुले खाद्यान्नमा जोड दिएको उहाँले बताउनुभयो । समृद्धि बचत खाताअन्तरगत बैंकले निःशुल्क खाता खोलेर रु.१०० बचत गर्दै आएको बताउनुभएका प्रमुख गिरीले सुर्खेतमा विपद्मा परेकाहलाई राहत वितरण गर्नुका साथै डेङ्गु सचेतना तथा झुल वितरण, रक्तदान, सरसफाई जस्ता कार्यक्रम गर्दै आएको जनाउनुभयो । बीरेन्द्रनगर नगरपालिका ९ सुर्खेतका वडाध्यक्ष सुरेश मानन्धरले वित्तिय क्षेत्रमा कार्यरत सनराजईज बैंकले मानव सेवाजस्तो पवित्र कार्यमा सहयोगी हात फिँजाएको भन्दै कृतज्ञता प्रकट गर्नुभयो । प्रचारप्रसार हुन नसक्दा यो साझा घर नेपाल पछि परेको जनाउँदै उहाँले पूण्य कर्म गरे दाताहरुको सहयोग जसरी पनि मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “साझा घर नेपालको समस्या र अभावमा स्थानीय सरकार नजिकमा रहेर सहयोग पु¥याउँछ, उहाँले भन्नुभयो, “साझा घरले पालनपोषण गर्दै आएका अनाथ, असहाय तथा बेसाहारा वृद्धको स्वास्थ्य जाँच तथा उपचार वडा सरकारले गर्छ । दशैंलगत्तै यो काम शुरु गछौं ।” साझा घर नेपालका अध्यक्ष भीमबहादुर विश्वकर्माले समाजमा अत्यन्तै पीडामा रहेका मान्छेको जीवनप्रति कसैले सहानुभूति नदेखाउने कुरालाई मनन गर्दै उनीहरुको जीवनलाई सामान्य मानिससरहको अवस्थामा ल्याउन सहयोग पु¥याउने उद्देश्यले आफूलाई मानव सेवामा समर्पित गरेको बताउनुभयो । “शुरुमा समाजले हेपेको एउटा कुष्ठरोगीलाई आफ्नै परिवारको सदस्यको हिसाबले उपचार गरें,” अध्यक्ष विकले भन्नुभयो, “त्यसपछि सडक मानव तथा अनाथ बालबालिकाको जीवनमा सहयोग गर्नुपर्छ भन्ने आत्मप्रेरणाले मानव सेवातर्फ मोडिए ।” कैलालीमा साहारा घर भनेर तीन वर्षदेखि मानव सेवा गरिरहेको बताउनुभएका उहाँले सुर्खेतमा अनाथ, असहाय चार बालक र पाँच बालिकालाई शिक्षादिक्षा, स्वास्थ्योपचार र गासबासको व्यवस्था गरिएको जनाउनुभयो । मानसिक सन्तुलन गुमेका तथा अन्य अवस्थाबाट सडकमा पुगेका छ पुरुष चार महिलालाई हाल सबै सेवा दिईरहेको उहाँले बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “मानसिक सन्तुलन गुमेका मध्येमा एकजना लालबहादुर पुन अंग्रेजी शिक्षक पनि हुनुहुन्छ ।

उहाँलगायत सबैको स्वास्थ्योपचारका लागि रु.२० हजार बराबर जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत लिईयो र आफैपनि स्वास्थ्यकर्मी भएकोले यो वर्ष रु.तीनलाख ७० हजारको औषधि मैले सहयोग गरेको छु ।” मूलत ः संस्थाले सडक मानव नहोस् र यस कार्यले राज्यलाई दायित्व बोध गराओस् भन्ने अपेक्षा राखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार व्यक्तिगत दाता, व्यापारी, शिक्षक, उद्योगीहरुबाट प्राप्त सहयोगलाई संस्था सञ्चालनको मुख्य स्रोत बनाईएको छ । यद्यपि अभावका बीचबाट दुःख गरेर सेवा प्रवाह गरिएको उहाँको भनाई थियो । हालसम्म ३२ जना बेसाहाराहरुलाई सहयोग गरेको साझा घर नेपाल पछिल्लो दिनहरुमा दीन, दुःखीहरुको चहराईरहेको घाउको मलमपट्टी बन्दै गएको स्थानीयले बताएका छन् ।