पारिवारिक निजी वनको प्रदेश अध्यक्षमा शाही


सुर्खेत, १६ असोज ।

पारिवारिक निजी वन संघ नेपाल (एफोन) कर्णाली प्रदेश कमिटी गठन भएको छ । हुम्लाका विनोद शाहीको अध्यक्षतामा आज सुर्खेतमा भेला भएका पारिवारिक वनका उपभोक्ताहरुको भेलाले २४ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो । भेलाले उपाध्यक्षमा पदमबहादुर मल्ल, सचिवमा विन्दुलाल रेग्मी, सहसचिवमा शोभा विक र कोषाध्यक्षमा मञ्जु भुषाललाई सर्वसम्मत चयन गरेको छ । समितिका सदस्यहरुमा हरिबहादुर सिंह, अमृता शर्मा, भरतराज अधिकारी, देबेन्द्र आचार्य, मीरा स्वर्णकार, रेखा शाही, कमल छन्तेल, राजकुमारी खत्री, फौन्दबहादुर बस्नेत, रामबहादुर विष्ट, इन्द्रबहादुर खड्का, भरतबहादुर शाही, नवीन शाही, सीता रेग्मी, गगनबहादुर शाही, कमल अधिकारी, पे्रमबहादुर खड्का, जागुराम चौधरी र जगत महतारा रहेका छन् । पारिवारिक निजी वन संघका केन्द्रीय अध्यक्ष जोगराज गिरि, केन्द्रीय सचिव गोविन्द शाही र केन्द्रीय सदस्य ऋषि अधिकारीको भेलामा उपस्थिति थियो ।

भेलाको उद्घाटन गर्दै कर्णाली सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले संघीय वन ऐन नबनेकाले प्रदेश सरकारले प्रदेश वन नीति र आवश्यक कानून निर्माण गर्न नसकेको बताए । संघीय वन नीति र ऐनका आधारमा कर्णालीको वन क्षेत्रको संरक्षण, संर्वद्धन र उद्यमशिलता बढाउने एवं रोजगारी सिर्जना गर्ने खालको नीति बनाउने उनको भनाई थियो । मन्त्री बुढाले प्रदेश सरकार वन नीति र आवश्यक कानून तर्जूमा गर्दा पारिवारिक निजी वन संघसंग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । संघका केन्द्रीय अध्यक्ष जोगराज गिरिले आफ्नो निजी जमिनमा उत्पादन गरेका काठ तथा जडीबुटीजन्य उत्पादनको बिक्री वितरणमा सहज कानूनी व्यवस्था नहुँदा साना वन किसानहरु मर्कामा परेको बताए ।

५६ जिल्लामा संगठन विस्तार भएको संघमा ५ हजार बढी सदस्य छन् । पारिवारिक निजी वनले वन क्षेत्रको ११ प्रतिशत भूभाग ओगटेको छ । भेलालाई गैसस महासंघ कर्णाली प्रदेश अध्यक्ष हरिप्रसाद अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघका चन्द्रप्रसाद थानी, संघका केन्द्रीय सदस्य ऋषि अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।