सपनाको शहर वीरेन्द्रनगर


ज्योति कटुवाल

(वीरेन्द्रनगर, सुर्खेत) — कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरलाई साइकल सिटीको रुपमा चिनाउन अभियान्ता सक्रिय बनेका छन् । २०२५ सम्म वीरेन्द्रनगरलाई साइकल तथा पैदलयात्रीमैत्री बनाउनेगरी अभियान्ताको सक्रियता बढेको हो ।

 

अभियान्ताको पहलपछि भौतिक विकास मन्त्रालय, सडक विभाग र वीरेन्द्रनगर नगरपालिकाले साइकल र पैदलमार्गसम्बन्धी डिपिआर काम अगाडि बढाएका छन् । एक वर्षभित्रै डिपिआरको काम सक्ने योजना छ । विभिन्न स्थानमा साइकल स्ट्यान्ड र साइकल पार्क बनाउन भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाले डिपिआर थालेका हुन् । साइकल पार्कका लागि कुइनेपानीलाई प्रस्ताव गरिएको नगरपालिकाले जनाएको छ । जसका लागि ५० लाख लागत अनुमान गरिएको छ ।
वीरेन्द्रनगरलाई चिनाउनेगरी साइकल सिटी अभियानका लागि अभियान्ताको समूह कर्णाली राइडर्स क्लवले पाँच लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । साइकल र यसको प्रयोगसम्बन्धी कानुनी व्यवस्था करिव १० लाख रुपैयाँ खर्च हुने अभियान्ता बताउँछन् । उनीहरूका अनुसार सुब्वाकुनादेखि बाँगेंसिमलसम्म साइकल लेन बनाउन प्रस्ताव गरिएको हो । अभियान्ता एवं कर्णाली प्रदेशका मुख्यसचिव केवलप्रसाद भण्डारीले साइकल सिटीको रुपमा विकास गर्न वीरेन्द्रनगर उपयुक्त सहर भएको बताए । भन्डारीले प्रदेश सरकार मातहतका कर्मचारीलाई नियमित साइकल प्रयोग गर्न प्रोत्साहित गरिरहेको जनाए । ‘कर्णाली प्रदेश सरकारको निती र कार्यक्रमको बुँदा नं २७.७ मा पनि यो कार्यक्रम समेटिएको छ,’ उनले भने, ‘राजधानी सहरलाई धुलो र धुँवामुक्त बनाउन पनि साइकललाई प्राथमिकता दिन जरुरी छ ।’ सहर व्यस्थित भए पैदलयात्री ढुक्कले हिड्न सक्ने उनी बताउँछन् । उनले प्रदेशमा संरचना बनाउने बेला यही भएकाले आफूहरूले ‘साइकल सिटी’को सपना बुनेको जानकारी दिए ।

वीरेन्द्रनगरलाई ह्यापिनिङ सिटी, इभिनिक लाइट, एकतर्फी सवारीसाधन चल्नेलगायतले व्यवस्थित बनाउन सकिने भण्डारीले जनाए । ‘राजा वीरेन्द्रले सुर्खेतको व्यवस्थित योजना बनाइदिएका थिए,’ उनले भने, ‘तर योजनालाई निरन्तरता नदिँदा सहर अव्यवस्थित भयो, साइकल सिटी बने यहाँको विकासले मुहार फेर्नेछ ।’

नगर क्षेत्रभित्र अपांगमैत्री तथा साइकलमैत्री सडक बनाउन सरोकारवाला निकायसँग समन्वय भइरहेको साइकल अभियान्ता निभेष दुगरले बताए । ‘काठमाडौका अभियान्तासमेत वीरेन्द्रनगरलाई साइकल सिटी बनाउन जुटेका छौं,’ उनले भने, ‘हाम्रो सपना पुरा भए सुर्खेत उपत्यकाको पहिचान फेरिनेछ ।’ भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा सुब्बाकुनादेखि बांगेसिमलसम्म साइकल ट्रयाक र डिपिआर तयार गर्न दुई करोड रुपैयाँ विनियोजन गरेको छ । सडकका लागि संघीय सरकारका विभिन्न निकाय र पेटी व्यवस्थापनका लागि वीरेन्द्रनगर नगरपालिकालाई जिम्मा दिइएको छ । वीरेन्द्रनगर नगरपालिकाले पनि नीति र बजेटमा साइकल सिटीको अवधारणा अगाडि सारेको छ ।

नगरपालिकाले साइकल तथा विद्युतीय साइकलको प्रयोगलाई प्रोत्साहन गरिरहेको नगर प्रमुख देवकुमार सुवेदी बताउँछन् । ‘चालु आर्थिक वर्षमा पार्क संग्रहालय र मुख्य सडकमा बजेट लक्षित गरेका छौं,’ उनले भने, ‘योजना कार्यान्वयनको क्रममा साइकल सिटीको अवधारणालाई व्यवस्थित गरिनेछ ।’ साइकल स्टयान्ड बनाउन पहिलो चरणमा नगरका दुई सय ५० स्थानलाई छनौट गरिएको नगर प्रमुख सुवेदीले जानकारी दिए । नगरक्षेत्रको सडकमा दुबैतिर ९ मिटर संरचना भएको सडकपछि तीन मिटर हरित क्षेत्र, ३ मिटर दुईतर्फी साइकल लेन र ३ मिटर पैदल मार्ग बनाइने उनले सुनाए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित विभिन्न मन्त्रालयले महिनाको एक दिन साइकल यात्रालाई प्राथमिकतामा राखेका छन् । मुख्यमन्त्री कार्यालयले कर्मचारीका लागि १० साइकल कर्मचारीलाई वितरण गरिसकेको छ । तर सडकमा साइकल लेन नहुँदा सञ्चालनमा समस्या भएको छ । दिगो र लोकतान्त्रिक सहरको परिकल्पना अनुसार वीरेन्द्रनगरलाई साइकल सिटीको रुपमा विकास गर्न जोड दिइएको अर्का अभियान्ता शौरभ ढकालले बताए ।

‘अभियानकै कारण नेपालकै पहिलो साइकलमैत्री सहर बन्ने अवसर कर्णाली प्रदेशले प्राप्त गरेको छ,’ उनले भने, ‘६ सय ५० देखि ७ सय ५० मिटरको उचाइको सहर भएकाले भौगोलिक र प्राविधिक दुबै हिसाबले वीरेन्द्रनगर उपयुक्त छ ।’

आर्थिक वर्ष २०७४/७५ मा सुर्खेतमा मात्रै एक हजार ९ सय १० किलोलिटर पेट्रोलियम पदार्थ खपत भएको क्लवले गरेको एक अध्ययनमा देखिएको छ । सोही आधारमा प्रतिव्यक्ति १६ लिटर र प्रति वर्ष १८ करोड रुपैयाँ इन्धनमा खर्च भइरहेको अध्ययनमा देखिएको हो । अध्ययन अनुसार प्रतिदिन पाँच लाख रुपैयाँको तेल खर्च भइरहेकोले साइकल सिटी बनाउन सके इन्धन खर्च घट्ने देखिन्छ । वीरेन्द्रनगरको मुख्य सडकलाई साइकलमैत्री बनाउन १८ मिटर क्षेत्रफल थप गरी ३८ मिटरको बनाउन अभियान्ताले प्रस्ताव गरेका छन् । जसका लागि प्रतिकिलोमिटर ६ करोडका दरले ५४ करोड बजेट प्रस्ताव गरिएको अभियान्ताको भनाइ छ ।
(कान्तिपुर)