ठेकेदारलाई तत्काल काम शुरु गर्न नगर प्रमुख सुवेदीको निर्देशन


वीरेन्द्रनगर नगरपालिकाले निर्माण कार्यमा ढिलासुस्ती गर्ने कम्पनीलाई तत्काल काम शुरु गर्न निर्देशन दिएको छ । अघिल्लो वर्ष सम्झौता भइसकेका सडक योजनाहरुको काम शुरु नगरेपछि नगरपालिकाले ठेकेदारलाई सचेत गराएको हो ।
स्थानीय जनप्रतिनिधि चुनिएको अढाई वर्ष तथा प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्नै लाग्दासमेत प्रदेशको राजधानी सहर वीरेन्द्रनगरका सडकको मर्मत सुधार नभएपछि यहाँ चौतर्फी आलोचना हुने गरेको छ । पछिल्लोपटक प्रहरीले प्रदेश सरकारका मन्त्रालयहरु आसपासका सडकका खाल्डाखुल्डी पुरेपछि नगरपालिकालाई दबाब बढेको थियो ।

छलफलमा नगरप्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकालसहित नगरपालिकाका प्राविधिक तथा ठेकेदारहरुको सहभागिता थियो । नगरपालिकाले मंगलगढी–कांक्रेविहार, चक्रपथ, हटलाइन, फलाँटे–भुरीगाउँ र मुख्यबजारका सडकहरु मर्मत तथा स्तरोन्नति कार्यलाई तत्काल अघि बढाउनेबारे ठेकेदारलाई ताकेता गरेको हो । निर्माण व्यवसायीले बर्खा र चाडपर्वका कारण निर्माण कार्यमा ढिलाइ भएको बताएका थिए ।
नगरप्रमुख सुवेदीले चालू आर्थिक वर्षमै सडक मर्मत तथा स्तरोन्नति गर्ने गरी तत्काल काम अघि बढाउन निर्देशन दिएको बताउनुभयो । छलफलमा ठेकेदारहरुले ग्राभेल, नाली तथा पर्खाल निर्माणको काम अघि बढाउने र तापक्रम बढेपछि कालोपत्रे गर्ने प्रतिवद्धता जनाएका थिए ।