भ्रमण वर्षलाई सफल पार्न युवा सहभागिता जरुरी


 

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न युवाहरुको सहभागिता जरुरी भएको बताउनुभएको छ । सुर्खेतको कांक्रेविहारमा आयोजित ‘रन फर कज’ नामक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पर्यटन प्रर्वद्वन, पूर्वाधारको विकास र पर्यटकीय स्थलहरुको सरसफाइमा युवाको सहभागिता आवश्यक पर्ने बताउनुभयो ।
मन्त्री बुढाले सरकार र पर्यटन व्यवसायीको प्रयासले मात्र भ्रमण वर्ष सफल नहुने बताउनुभयो । “पर्यटक भित्र्याउने कार्यमा सरकार, निजी क्षेत्रको प्रमुख भूमिका भएपनि पर्यटकलाई स्वागत सत्कार, सुरक्षा एवं व्यवस्थापन गर्ने कार्यमा युवा जमातले अग्रसरता लिनुपर्दछ,” उहाँले भन्नुभयो, “सरकारले युवाहरुबाट राखेको अपेक्षा पनि यही हो, सरकार, निजी क्षेत्र र युवा समुदाय एकैसाथ अघि बढ्न जरुरी छ ।” कर्णाली प्रदेश सरकारले २०२० लाई भव्य मनाउन पर्यटन प्रर्वद्धन समितिले तयारी शुरु गरिसकेको जानकारी दिनुभयो ।

उहाँले भ्रमण वर्षको शुभारम्भ जनवरी १ का दिन प्रदेशस्तरीय समारोह कांक्रेविहार, बुलबुलेमध्ये कुनै एक स्थानमा मनाउने बताउनुभयो ।
वीरेन्द्रनगर ९ का अध्यक्ष सुरेश मानन्धरले दौड कार्यक्रमले कांक्रेविहारको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताउनुभयो । युवाहरुको सिर्जनात्मक कामले समाज सकारात्मक बाटोतर्फ जाने उहाँको भनाई थियो ।

युवाहरुको स्वयंसेवी अभियान ‘तनाव छ जिन्दगी फाउन्डेसन’द्वारा आयोजित दौड कार्यक्रम लाटीकोइलीबाट शुरु भएर कांक्रेविहारमा पुगेर समापन भएको थियो । कार्यक्रमलाई सामाजिक सञ्जाल फेसबुक ग्रुप मोटे ग्याङले सहजीकरण गरेको थियो । कार्यक्रमबाट संकलित रकम आमाघरमा आश्रित अनाथ बालबालिकालाई प्रदान गरिने फाउन्डेसनका अध्यक्ष सञ्जय योगीले जानकारी दिनुभयो ।