पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण


काठमाडौं । तेह्रौं सागअन्तर्गत मंगलबार भएको पुरुष फुटबल खेलको स्वण पदक नेपालले हात पार्न सफल भएको छ । भुटानलाई २–१ गोल अन्तरले हराउँदै नेपालले स्वर्ण हात पार्न सफल भएको हो । नेपालको योसहित चौथो पटक साग च्याम्पियन बन्न सफल भएको छ । दशरथ रंगशालामा भएको खेलमा भुटानले नेपाललाई कडा चुनौति दिएको थियो ।

नेपालको जितका लागि अभिषेक रिजाल र सुनिल बलले १–१ गोल गरे । खेलको १६औँ मिनेटमा अभिषेकले पहिलो गोल गरेपछि ३६औं मिनेटमा भुटानका कप्तान चेन्चो ग्यालसेनले गोल गर्दै बराबरी गरेका थिए । फेरि नेपालका तर्फबाट ५३औँ मिनेटमा सुनिलले अर्को थपेपछि नेपालको जितको आशा पलाएको थियो । अन्तिमसम्म गोल थप्ने भुटानको प्रयास नेपाली खेलाडीहरुले बिफल बनाए । फुटबलको समेत स्वर्ण थपिएपछि तेह्रौं सागमा नेपालको कुल स्वर्ण संख्या ५१ भएको छ ।