यसपालि घुमौं कर्णाली


प्रकाश अधिकारी (रासस)

सङ्घीय सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेसँगै प्रदेश र स्थानीय सरकारहरु पर्यटक आकर्षणका योजना निर्माणमा जुटेका छन्। प्रचुर पर्यटकीय सम्भावना बोकेको कर्णाली प्रदेश पनि अङ्गे्रजी नयाँ वर्षमा पर्यटक स्वागत गर्न आतुर छ।

कर्णाली सरकारले पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले जनवरी १ का दिन सुर्खेतको बुलबुलेबाट भ्रमण वर्ष शुभारम्भ गरेको छ । बुलबुले सुर्खेतको प्रमुख गन्तव्य हो। यहाँबाटै पर्यटकलाई स्वागत गरेर भ्रमण वर्षमा जतिसक्दो बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजनामा छ, प्रदेश सरकार।

प्रदेश सरकारले विसं २०७५ लाई ‘रारा–कर्णाली पर्यटन वर्ष’ मनायो । वर्षैभरि सञ्चालित पर्यटकीय गतिविधिमा रारा केन्द्रमा रह्यो । यसले गर्दा रारासँगै जोडिएका अन्य गन्तव्यहरु पनि पर्यटकको रोजाइमा परे । पर्यटकीय चहलपहल वर्षैभरि रह्यो ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले रारा कर्णाली पर्यटन वर्षका उपलब्धि र सिकाइलाई आधार बनाएर भ्रमण वर्ष २०२० मा अत्यधिक स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने तयारीमा जुटेको बताउँछन्। “रारा कर्णाली पर्यटन वर्षले पर्यटन क्षेत्रको प्रर्वद्धन र विकासका लागि ठूलो बहस सिर्जना गरेको छ, वडास्तरसम्मका पर्यटकीय गन्तव्यको पहिचान र तिनको पूर्वाधार विकास एवं प्रवद्र्धनका विषयले प्राथमिकता पायो, यसलाई सकारात्मक पक्ष मान्न सकिन्छ,” उनले भने।

यसपालि अङ्गे्रजी वर्ष २०२० मा प्रदेश सरकारको पर्यटन प्रर्वद्धन समिति भ्रमण वर्षमा पर्यटकलाई कर्णालीमै आर्कषण गराउन आफ्नै नारा र लोगो बनाएर प्रचारप्रसारमा जोड दिने योजनामा छ। ‘यसपालि घुमौं कर्णाली’ (इट्स टाइम फर कर्णाली) नारासहित प्रदेश सरकारले प्रवद्र्धन र पूर्वाधार विकासका काम सँग–सँगै सञ्चालन गरेर पर्यटकमैत्री कर्णालीको अवधारणा साकार पार्दैछ।

यसको व्यवस्थित कार्यान्वयनका लागि प्रदेश सरकारले जनवरी १ मै ९ महिना लगाएर तयार पारेको ‘पर्यटन गुरुयोजना’ सार्वजनिक गर्दैछ। भ्रमण वर्षमा पर्यटकलाई अत्यधिक सुविधा र सुरक्षा दिलाउन सरकार प्रतिवद्ध रहेको मन्त्री बुढाको भनाइ छ।

राराका होटल व्यवसायी एवं प्रदेशस्तरीय पर्यटन प्रर्वद्धन समितिका सह–संयोजक राजु कार्कीले प्राकृतिक सुन्दरताको अवलोकन, तीर्थयात्राका लागि मात्र नभई सांस्कृतिक विविधताको अध्ययनका लागि कर्णाली उपर्युक्त गन्तव्य भएको बताए। “कर्णाली सबै हिसाबले सुन्दर छ, नेपालमा अन्त कतै नभएका विशेषता यहाँ भेटन् सकिन्छ,” उनले भने, “प्रचारप्रसारसँगै पूर्वाधारको विकास गरेमा पर्यटकको पहिलो रोजाइ कर्णाली बन्न सक्छ।” हुम्ला–डोल्पामा पदयात्रा, भेरी र कर्णालीमा जलयात्राको आनन्द लिन सकिने उनले बताए।

कर्णाली प्रदेशमा पर्यटकको ध्यान खिच्ने थुप्रै आकर्षणहरु छन् । नौलो विषयवस्तुको अध्ययन÷अवलोकनमा आममानिसको रुची हुन्छ। कर्णालीमा यस्तै नौलो दृश्य देख्न पाइन्छ । मुगुमा नेपालकै ठूलो राराताल छ, जहाँ पाइने स्नोट्राउट प्रजातिको माछा अन्यत्र कहीँ पाइँदैन। मौसम खुलेमा तालको पानीमा देखिने सप्तरङले आगुन्तकलाई मोहित पार्दछ।

सुर्खेतदेखि करीब डेढ दिनको बस यात्रा वा सुर्खेत–नेपालगञ्जबाट सिधै मुगुको ताल्चा विमानस्थल पुगेर दुई घण्टा उकालो हिँडेपछि रारा पुगिन्छ। यहाँबाट छायाँनाथ हिमाल अवलोकन गर्न सकिन्छ। राराको अपार सुन्दरताबाट मोहित भएर तत्कालीन राजा महेन्द्रले २०२० सालमा ‘स्वर्गकी अप्सरा’को उपमा दिएका थिए। रारामा घोडसवार र डुङ्गा शयरको आनन्द लिन सकिन्छ । मुर्माटपलाई राराको भ्युटावर भनिन्छ । त्यहाँबाट राराको पूरै स्वरुप क्यामरामा कैद गर्न सकिन्छ।

मुगु र हुम्लाको सिमानामा चंखेली हिमाल छ । यस हिमालको चित्र एक रुपैयाँको नोटमा राखिएको छ। हिन्दु र बौद्ध दुबैको तीर्थस्थल मानसरोवर पुग्न हुम्लाकै बाटो प्रयोग हुन्छ। वर्षेनी सयौंको सङ्ख्यामा भारतीय पर्यटक यहाँबाटै मानसरोवर पुग्छन् ।

नेपालकै अग्लो स्थानमा रहेको सदरमुकाम हो, हुम्लाको सिमकोट। यो समुद्री सतहबाट २ हजार ९०० मिटरको उचाइमा छ । सिमकोटबाटै पाँच दिन पैदल हिँडेर लिमी उपत्यका पुग्न सकिन्छ। यहाँ एक हजार वर्ष पुरानो हल्जी गुम्बा छ । हुम्ला विश्व तीर्थयात्री र मानसरोवरका लागि गतिलो प्रवेशद्वार हो।

डोल्पामा सबैभन्दा गहिरो शे फोक्सेन्डो ताल छ। डोल्पामै प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर छ । शे फोक्सेन्डो राष्ट्रिय निकुञ्जमा हिउँचितुवा देख्न सकिन्छ। तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि उपयुक्त मानिन्छ । माथिल्लो डोल्पा पदमार्गभित्र पर्ने नगला घाँटी क्षेत्र अति रमणीय छ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती धो उपत्यका डोल्पामै पर्दछ। त्यस्तै, शे फोक्सेन्डो रारा पदयात्राका लागि राम्रो सम्भावना बोकेको क्षेत्र हो।

जुम्लाको सिंजा उपत्यका नेपाली भाषाको उद्गम थलो हो। विश्वभर छरिएर रहेका खस नेपाली भाषीहरुलाई प्रदेश सरकारले भ्रमण वर्षकै अवसरमा कम्तीमा एकपटक सिंजा पुग्न आमन्त्रण गर्दैछ। जुम्ला सदरमुकाम खलंगाबजारबाट तीन घण्टाको बसयात्रापछि सिंजा क्षेत्र पुगिन्छ । सिंजा क्षेत्र हुँदै रारा पुग्न सकिन्छ। जुम्लामा कान्जीरोवा, पातारासी हिमाल छन् । यहाँको तातोपानीमा नुहाए स्वास्थ्य लाभ हुने विश्वास बोकेर मुलुकका विभिन्न स्थानबाट मानिसहरु त्यहाँ पुग्छन् ।

सदरमुकाम खलंगामा प्रसिद्ध चन्दननाथ मन्दिर छ । विश्वकै अग्लो स्थानमा हुने धान खेती, मार्सी चामल, सिमी र स्याउले जुम्ला उत्तिकै प्रख्यात छ । कालीकोटको पचाल झरनाका साथै पिली क्षेत्र युद्ध पर्यटनले चर्चामा छ । कर्णाली राजमार्गबाट देखिने कर्णालीका सुन्दर बस्तीहरु पर्यटकका लागि थप आकर्षण हुन्।

दैलेखको दुल्लूमा नेपाली भाषाको पहिलो अभिलेख छ । शीरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका, कोटिला पञ्चकोशी क्षेत्र दैलेख आउने पर्यटकका लागि पहिलो रोजाइमा पर्दछ । पञ्चकोशीको शीरस्थान, नाभिस्थानमा निरन्तर प्रज्वलित ज्वाला बलिरहेको दृश्य हेर्न तथा यहाँ तीर्थ गर्न नेपालीका साथै भारतीय आउँछन् । यहाँ अहिले नेपाल सरकारले चिनियाँ सहयोगमा पेट्रोलियम पदार्थ भण्डार रहे नरहेको अनुसन्धान गर्दैछ । दुल्लू क्षेत्र ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक हिसाबले धनी छ ।

पुरातात्विक धारा, मठमन्दिर, देवल प्रशस्त देख्न सकिन्छ । कोतगढी, पञ्चदेवल, बेलासपुर मन्दिर, गुँरासे क्षेत्र पर्यटकीय गन्तव्यमा पर्दछन् । दक्षिण एसियाकै लोपोन्मुख फिरन्ते जाति राउटे हेर्न पनि दैलेख आउनै पर्दछ। त्यस्तै, विभिन्न ३६ जातजातिको उद्गम थलोका रुपमा चिनिन्छ कर्णाली क्षेत्र । आफ्नो पुख्र्यौली थलो हेर्न दुलाल, नेपाल, खनाल, दाहाल, लम्साल, कोइराला, पराजुली, रुपाखेती, बस्याल लगायत थरका मानिसहरु दैलेखका गाउँबस्ती पुग्ने गर्दछन् ।

प्रदेश राजधानी सुर्खेतको बुलबुले ताल, कांक्रेविहार, देउतीबज्यै मन्दिर, घण्टाघर, बराहताल, गढी बयलकाँडा मुख्य गन्तव्य हुन् । कांक्रेविहारको अनौठो कलात्मक शैलीले पर्यटकलाई मुग्ध पार्दछ । रारा, जुम्ला, दैलेख जाने पर्यटकका लागि सुर्खेतका यी स्थानहरु घुम्न योग्य छन् । कर्णाली आउने पर्यटकका लागि सुर्खेत ‘ट्रान्जिट प्वाइन्ट’ हो । कर्णालीले विकास पर्यटनको ढोका पनि खोलेको छ ।

सुर्खेतमा निर्माणाधीन भेरी–बबई डाइभर्सन आयोजनाले पनि विकास पर्यटनको सम्भावनालाई उजागर गरिदिएको छ । नेपालमै पहिलोपटक मेसिनबाट सुरुङ खनेर एउटा नदीको पानी अर्कोमा पानी खसाल्ने बहुउद्देश्यीय आयोजना यहाँ निर्माण हुन लागेको छ । त्यसैले, भेरी–बबई हेर्नकै लागि मुलुकका विभिन्न स्थानबाट शैक्षिक एवं अध्ययन भ्रमणका लागि दिनहुँ आउने गर्दछन् । कर्णालीमा सञ्चालित अन्य ठूला पूर्वाधारका आयोजनाले पनि विकास पर्यटनको सम्भावना बढाइदिएका छन् ।

रुकुम पश्चिममा डिगे्र साइ मन्दिर, स्यार्पु ताल, जाजरकोटको दरबार क्षेत्र तथा सल्यानमा कुभिन्डे दह, छायाँक्षेत्र, खैरावाङ भगवती देवी मुख्य पर्यटकीय स्थल हुन् । कर्णाली मुलुककै सबैभन्दा लामो नदी र यसको उत्पति स्थल मानसरोवर भएर प्रदेश प्रवेश गरेको छ । खसहरुका कुलदेवता मष्टोको उत्पत्ति पनि यही मानसरोवर क्षेत्र भएर कर्णाली हुँदै विश्वभर फैलिएको पुराना ग्रन्थ एवं विभिन्न खोज अनुसन्धानमा उल्लेख गरिएको पाइन्छ ।

प्राकृतिक सुन्दरता मात्र होइन, हिमाली जनजीवन, कलासंस्कृति, वेशभूषाले आगन्तुकको मन लोभ्याउँछ । कर्णालीकै अल्पसङ्ख्यक थारु, राजी समुदायको सुर्खेतमा बसोबास छ । वीरेन्द्रनगर उपत्यकामै थारु संस्कृतिको अवलोकन गर्न सकिन्छ । त्यसका लागि थारु समुदायबाट होमस्टे सञ्चालन भइआएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले भेरी र कर्णाली करिडोर निर्माण गर्न सकिए कर्णालीको पर्यटन पूर्वाधार र पर्यटक आवागमनमा ठूलो मद्दत पुग्ने बताउँछन्। उनले भने– “भेरी करिडोरले पूर्वी सुर्खेत हुँदै सल्यान, जाजरकोट र डोल्पाका पर्यटकीय स्थललाई पर्यटकसँग जोड्नेछ भने यता कर्णाली करिडोरले सुर्खेत, दैलेख, कालीकोट र हुम्लालाई जोड्नेछ ।” कर्णाली पर्यटकका लागि एकपटक होइन बारम्बार आउनुपर्ने क्षेत्रका रुपमा विकास गर्नुपर्ने उनको धारणा छ।