हुम्लामा चिसोका कारण मृत्यु हुनेका संख्या ८ पुग्यो


हुम्ला । जिल्लामा गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्म परेको हिमपात हुँदा चिसोका कारण आठ जनाको निधन भएको छ । दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा पाँचको मृत्यु भएको हो ।

हिमपात बढी हुने हुँदा दम, खोकी, निमोनिया र छाती सुन्निनेलगायत कारण मृत्यु भएको सर्केगाडका वडाध्यक्ष गजबहादुर राउतले फोनमार्फत जानकारी दिए । करीब तीन फिटसम्म बाक्लो हिमपात हुँदा जनजीवन कष्टकर हुनाका साथै कार्यालयमा काम गर्न कठिन भएको सहायक प्रजिअ दत्तराज हमालले जानकारी दिए ।

रासस