वीरेन्द्रनगरको प्राथमिकतामा महिला स्वरोजगार


सुर्खेत, १९माघ
वीरेन्द्रनगर नगरपालिकाले महिला स्वरोजगार कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ । नगर भित्रका महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । वीरेन्द्रनगर भित्र रहेका विपन्न महिला, एकल महिला एवं पिछडिएका महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउन दोस्रो चरणमा पाँच वटा अटो वितरण गरिएको हो । नगर प्रमुख देवकुमार सुवेदीले नगरपालिकाबाट सञ्चालन गरिएको अटो ड्राईभिङ तालिम पश्चात् अटो रिक्सा वितरण गरिएको बताउनुभयो ।
नगरपालिकाको समाज कल्याण शाखा प्रमुख टंक लामिछानेका अनुसार नगरपालिकाले हालसम्म १३ वटा अटो वितरण गरिएको छ । खासगरी नगरपालिकाबाट सञ्चालित तालिम पश्चात स्वरोजगर बनाउनका लागि नगरपालिकाले अटो खरिदका लागि शुरुमा दुई लाख रुपैयाँ लगानी गरिदिने र बाँकी रकम सम्बन्धित व्यक्तिले किस्ता तिर्नुपर्ने छ भने नगरपालिकाले प्रदान गरेको दुई लाख मध्ये एक लाख रुपैयाँ पुनः नगरपालिकालाई नै फिर्ता गर्नुपर्ने प्रावधान रहेको लामिछानेले बताउनुभयो । अटो रिक्सा वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल ,सामाजिक समितिका संयोजक यामुना नेपाली लगायतको सहभागिता थियोे ।