सुर्खेतमा खुल्दै ठूला होटलहरु


सुर्खेतमा सुविधा सम्पन्न होटल खुल्न थालेका छन् । ठूला सुविधासम्पन्न होटल नहुँदा वीरेन्द्रनगर हुने अधिकांश कार्यक्रमहरु नेपालगञ्जमै आयोजना गरिन्थे । व्यापारिक, प्रशासनिक र राजनीतिक चहलपहल नहु“दा ठूलो लगानीमा होटल सञ्चालन गर्न यहाँका व्यवसायी डराउने थियो । जब प्रादेशिक संरचनामा गयो तब सुर्खेतको होटल व्यवसायमा लगानी एकाएक फड्को मार्न थाल्यो ।

सुर्खेतलाई कर्णाली प्रदेशको स्थायी राजधानी घोषणा गरिएपछि स्तरीय एवं सुविधासम्पन्न होटलहरु खुल्ने क्रम बढेको हो । स्थलमार्ग हु“दै माथिल्लो कर्णाली जाने यात्रुहरु बढ्नु र सुर्खेत–काठमाडौं सिधा हवाई सेवा सञ्चालन हुनुले आफूहरु उत्साही भएका होटल व्यवसायीहरुले बताएका छन् ।सुर्खेत प्रदेश राजधानी एवं कर्णालीको प्रवेशद्वार हुनु, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सञ्चालन हुनु, भेरी–बबई डाइर्भसन, मध्यपहाडी, मदन भण्डारी राजमार्गजस्ता लगायतका ठूला आयोजनाको निर्माणले यहाँ सुविधा सम्पन्न होटल खुल्ने अवस्था सिर्जना भएको व्यवसायीहरुको भनाई छ । होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले कर्णालीमा पर्यटकीय चहलपहल बढ्दै गएकाले लगानीको वातावरण सिर्जना भएको बताए । “कर्णालीमा पर्यटकीय पूर्वाधारको विकास, सडकको पहुँच विस्तार हुँदै जानुजस्ता कारण यहाँ पर्यटकको चहलपहल बढ्दै गएको छ,” शाहीले भने , “मुख्यतः हाम्रो होटल व्यवसायमा लगानी बढ्नु प्रादेशिक संरचनाकै उपज हो, त्यसपछि पर्यटकीय चहलपहल पनि हो ।”

प्रदेश अन्य ९ जिल्ला पुग्न सुर्खेतकै बाटो भएर पुग्नुपर्छ । त्यसले गर्दा यहाँ पर्यटकलाई लक्षित गरेर होटल खुल्ने क्रम बढेको हो । ठूलो संख्यामा हिन्दु, बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र कैलाश मानसरोवर जाने भारतीय पर्यटकका साथै रारा, जुम्ला, दैलेख लगायत जिल्लाका पर्यटकीय स्थलहरु घुम्ने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर सुर्खेत, कालिकोट र जुम्लामा होटलहरु खुल्न थालेका छन् ।