बेतन कर्णालीको उत्पादन क्षमता घट्यो


प्रकाश अधिकारी
सुर्खेत, २२ माघ (रासस)– विस्तृत अध्ययनपछि बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको उत्पादन क्षमता घटेको छ । यसअघि ६८८ मेगावाट उत्पादन हुने भनिएको आयोजना विस्तृत अध्ययन र स्थान परिवर्तनका कारण ४४२ मेगावाट मात्रै उत्पादन हुने भएको हो ।
प्रारम्भिक सम्भाव्यता अध्ययनमा छनौट गरिएको आयोजनास्थलमा प्रतिकूल फिजिबिलिटी, भूकम्पीय जोखिम लगायतका समस्या देखिएकाले आयोजनास्थल परिवर्तन गरिएको हो । अब आयोजना अछामको ढकारी गाउँपालिका–६ मा विद्युत् गृह (पावरहाउस) तथा सुर्खेतको चौकुने गाउँपालिका–६ मा बाँध (ड्याम) स्थल बन्नेछ ।

 

आयोजनाको प्रर्वद्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण पूर्वको तयारीमा जुटिरहेको जनाएको छ । यसका लागि पहुँच सडक विस्तार र विद्युत आपूर्तिको काम शुरु भइसकेको छ । कम्पनीका प्रबन्ध सञ्चालक दीपक रौनियारले गुटुबाट कोइरालाबास जोड्ने सडकको टेण्डर आव्हान भइसकेको जानकारी दिनुभयो । कोइरालाबासबाट बाँधस्थल पुग्नलाई १३ किमी नयाँ ट्रयाक खोल्नुपर्छ । निर्माणका लागि ३३ केभी विद्युत् कैलालीको लम्कीबाट बेतान ल्याउने तयारी छ ।

 

आयोजना निर्माणमा रु. ७६ अर्ब लगानी हुनेछ । सुर्खेत, अछाम जिल्लाको सीमाना हुँदै बगिरहेको कर्णाली नदीमा अर्धजलाशययुक्त आयोजना निर्माण गर्न सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषले कम्पनी मोडलबाट लगानी जुटाएको छ । कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत, विद्युत उत्पादन कम्पनी लिमिटेडको १० प्रतिशत, ६ लाख सञ्चयकर्ताको ४० प्रतिशत, साधारण नागरिकको १५ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको ८ प्रतिशत र अति विपन्न परिवारको २ प्रतिशत शेयर रहनेछ । आयोजनाले निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र कोषमा कोष कट्टी गर्दै आएका करिब ६ लाख सञ्चयकर्तालाई लगानी गर्न अवसर प्रदान गर्नेछ । नाफाको ८० प्रतिशत आफ्ना सञ्चयकर्तालाई प्रदान गर्दै आएको सञ्चयकोषले अब नाफा वितरण नगरी अलग्गै खातामा जम्मा गरेर बेतन कर्णालीमा लगानी गर्नेछ । सञ्चयकर्ताहरुले नाफाबापत पाउने रकमको ब्याजसमेत जोडेर सो बराबरको सेयर बा“डिनेछ ।

 

चालू आर्थिक वर्षबाटै निर्माण शुरु गरेर २०८१ सालमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । कम्पनीले २०१८ जुनदेखि २०१९ डिसेम्बरसम्म विस्तृत इन्जिनियरिङ र वातावरणीय प्रभाव अध्ययन लगायतका कार्य पुरा गरेको थियो । कम्पनीका प्रबन्ध सञ्चालक रौनियारका अनुसार आयोजनामा डाइभर्सन टनेल २ वटा र नदीको जगबाट १३२ मिटर अग्लो बाँध (ड्याम) बन्नेछ । त्यस्तै, २.५ किमी लम्बाई र ७ मिटर गोलाई भएका ३ वटा टेनल, ३÷३ वटा सर्ज काफ्ट र पेनस्टक संरचना बनाइनेछ । आयोजनाबाट वार्षिक आम्दानी रु. साढे १४ अर्ब हुने अपेक्षा राखिएको छ ।

 

सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले आयोजना छिटो सञ्चालन गर्न अनुरोध गरेको बताउनुभयो । आयोजना निर्माणका लागि स्थानीय र प्रदेश सरकारको लगानीमा पहुँच सडक विस्तारको काम भइरहेको भन्दै उहाँले चौकुनेबासी तत्काल आयोजना अघि बढ्नुपर्ने पक्षमा रहेको बताउनुभयो । बेतन कर्णालीमा न्यून मुआब्जा दिनुपर्ने, डुबानको ठूलो समस्या नरहेकाले आयोजना निर्माणमा सहज भएको अध्यक्ष शाहीको भनाई छ । चौकुने क्षेत्रमा जलविद्युत् आयोजना निर्माण हुने भएपछि स्थानीयबासी उत्साही देखिएका छन् । विद्युत् उत्पादनसंगै सडक निर्माण हुने र गाउँमै रोजगारी पाइने स्थानीयको अपेक्षा छ ।
कर्णालीका अन्य आयोजना सुस्त
सरकारी तथ्याङ्कले भन्छ, कर्णाली प्रदेशमा करिब १८ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । यो सबैभन्दा बढी विद्युत उत्पादनको सम्भावना भएको प्रदेशमा पर्दछ । तर, आ“कडा हेर्ने हो भने कर्णालीमा सबैभन्दा कम विद्युत उत्पादन भएको छ । विद्युत विकास विभागको तथ्याङ्क केलाउँदा कर्णालीमा जति नदीनाला छन् ती सबै कुनै न कुनै कम्पनीको कब्जामा छन् । तीमध्ये केहीले सर्भे÷अध्ययनमै वर्षौं बिताएका छन् ।

३.७५ मेगावाटको दैलेखको द्वारीखोलाबाहेक कर्णालीमा विद्युत उत्पादन गरेका अरु आयोजना छैनन् । गत आर्थिक वर्षसम्मको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा विद्युत उत्पादन गर्न ५५ कम्पनीले इजाजत लिएका छन् । इजाजत लिएकाले मात्र निर्माण गर्ने हो भने ९ हजार ३ सय ५९ मेगावाट विद्युत उत्पादन हुन्छ । सर्भे लाइसेन्स लिएका २१, सर्भे लाइसेन्सको निवेदनमा रहेका ८, उत्पादन लाइसेन्सको पखाईमा रहेका ४, उत्पादनमा रहेका १, सरकारकै रिर्जभमा रहेका २१ आयोजना छन् । फुकोट कर्णाली (४२६), माथिल्लो कर्णाली (९००), तिला–१ (३००), तिला–२ (२९७), नलगाड (४१०), जगदुल्ला (३०७), भेरी–१ (६१७) र, भेरी–४ (३००) कर्णाली प्रदेशका प्राथमिकता प्राप्त आयोजना हुन । तर, यी सबै सुस्त गतिमा छन् ।

त्यस्तै, ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना पनि लामो समयदेखि विद्युत खरिद सम्झौता (पिपिए) मै अल्झिएको छ । यो कर्णाली र सुदुरपश्चिम प्रदेशको साझा आयोजना हो । बा“धस्थल दैलेख र विद्युत्गृह अछाममा बन्नेछ । दैलेखको डाबमा ड्याम बनाई २.५ मिटर लामो सुरुङमार्फत् एक सय ५० मिटर तल खसालेर अछामको बाल्देमा विद्युत उत्पादन गर्ने लक्ष्य छ । यसबाट नेपालले विद्युत १२ र, शेयर १८ प्रतिशत शेयर निःशुल्क पाउनेछ । निर्यातमुखी भनेर आलोचना भइरहेको आयोजनाको बिजुली भारत लैजान बेरलीसम्म ४ सय केभी डबल सर्किटको प्रशारण लाइनको विस्तृत सर्भे भैसकेको छ । सन् २००८ देखि सर्भे गर्न माथिल्लो कर्णालीमा प्रवेश गरेको भारतीय कम्पनी जिएमआर र नेपाल सरकारबीच आयोजनालाई निरन्तरता दिन २०१४ सेप्टेम्बर १९ मा पीडिए भएको थियो । –––