भ्रष्टाचार नियन्त्रणमा आयोगको सक्रियता प्रसंशनीय ः प्रदेश प्रमुख


सुर्खेत

कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले भ्रष्टाचारमा देखापरेका नयाँ–नयाँ रुप र शैलीका कारण नियन्त्रणमा चुनौति थपिएको बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं स्थापना दिवसका अवसरमा आज वीरेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारमा संलग्न व्यक्तिले नयाँ–नयाँ उपायहरु एवं प्रविधिको प्रयोग गर्ने कारण नियन्त्रणमा चुनौति देखापरेको बताउनुभएको हो ।


प्रदेश प्रमुख कलौनीले पछिल्लो समय आयोगको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो । “आयोगले आफ्नो निष्पक्षता, क्रियाशिलता अझ बढाउन रचनात्मक र प्रविधिमैत्री बन्नुपर्छ,” उहाँले भन्नुभयो, “भ्रष्टाचारजन्य कार्यमा देखापर्ने अनेक रुप र शैलीलाई निस्तेज पार्न आयोगले राज्यका सबै निकाय, सर्वसाधारण समेत सक्रिय हुने अवस्था सिर्जना गर्नुपर्छ ।” उहाँले भ्रष्टाचार हुनै नदिन आयोगले प्रर्वद्धनात्मक र निरोधात्मक कार्य गर्नुपर्ने सुझाव दिनुभयो । अख्तियारको सक्रियताले नै भ्रष्टाचार निवारणमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भ्रष्टाचार बढेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेको बताउनुभयो । “आयोगको सक्रियता प्रंशसायोग्य छ, प्रविधिको उच्चतम प्रयोग गरेर भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्छ, नागरिक सचेतना पनि अभिवृद्धि गर्ने कार्यक्रमको खाँचो छ,” उहाँले भन्नुभयो । मुख्यमन्त्री शाहीले आफ्नो स्वार्थ पुरा नभएपछि दुःख दिनलाई अख्तियारमा मुद्दा हाल्ने प्रवृतिलाई निरुत्साहन गर्नुपर्ने बताउनुभयो ।

प्रदेश सरकारका प्रवक्ता एवं भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कर्णाली प्रदेश सरकार नीतिगत भ्रष्टाचार हुन नदिन सजग रहेको बताउनुभयो । अख्तियारको काम–कारबाहीलाई प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अख्तियार स्थापना दिवसका अवसरमा आरंग नेपालले ‘बयान’ नामक नाटक मञ्चन गरेको थियो ।