राज्यले तेस्रो लिङ्गीका आवाज नसुनेको गुनासो


सुर्खेत, ११ फागुन ।
तेस्रो लिंङ्गीहरुले आफुहरुले उठाएका आवाजहरु राज्यले सुनुवाई नगरेको गुनासो गरेका छन् । वर्षाैदेखि अधिकार प्राप्तीको लडाईं लडेपनि अहिलेसम्म न्याय नपाएको उनीहरुको गुनासो छ । आइतवार सुर्खेतको वीरेन्द्रनगरमा निलहिरा समाजले आयोजना गरेको कार्यक्रममा तेस्रो लिगिंहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै निलहिरा समाजका सिम्रन सेरचनले वर्षाेसम्म अधिकार प्राप्तीको लागि लागेपनि सरकारले सुनुवाई नगरेको बताइन् । ‘हाम्रो अधिकार प्राप्तीको लागि राजा रामको पालादेखि सुरुवात भएपनि कलियुगसम्म पनि पाउन सकेनौ’ उनले भनिन्, ‘हाम्रो लगाई २००१ बाटको हो ।’ सेरचनका अनुसार तेस्रो लिंङ्गी समुदाय एचआइभीको जोखिममा रहेको बताइन् ।

संवैधानिक रुपमा समानता तथा सामाजिक सुरक्षाका अधिकारहरुको व्यवस्था भएपनि व्यवहारिक रुपमा पाउन नसकेको उनले बताइन् । ‘विवाह हामीले सोचेजस्तो हुँदैन । आफुले मन पराएको मान्छेसँग विवाह गर्न पाउँदैनौ’ उनले भनिन्, ‘विशेष गरेर सामाजिक रुपमा फरक तरिकाले हेर्ने गरेका छन् ।’ समाजले स्विकार्न नसक्दा र रोजगारको व्यवस्था नहुँदा कैयौं तेस्रो लिङ्गीहरु समस्यामा परेको बताइन् । ‘हामी शारिरीक रुपमा महिला र पुरुषजस्तै भएपनि भावनात्मक र मानसिक रुपमा फरक हुन्छ ।े शारिरिक मानसिक र भावनात्मक रुपमा झुकाव फरक हुन्छ ।’

निलहिरा समाजका अनुज पिटर राईले नागरिकता सहज रुपमा पाउन नसकेको गुनासो गर्दै सरकारले अझैसम्म पनि नागरिकतामा महिला पुरुषको मात्र दिने गरेको बताए ।
‘हामीहरुलाई समाजले हास्य पात्रका रुपमा हेरिरहने प्रवृति जब सम्म रहन्छ तब सम्म हामीजस्ता व्यक्तिहरुले दुःख पाइरहनुपर्छ । उनले भने ।
युवा सम्बन्धी काम गर्ने संस्था युवालयको समन्वयमा भएको कार्यक्रममा सरोकारवालहरुको उपस्थिति रहेको थियो ।