फोहरबाट ऊर्जा परियोजना : परियोजना निर्माणको लागि त्रिपक्षीय सम्झौता


काठमाडौँ, २७ फागुन । सुर्खेत जिल्लाको जिल्लाको विरेन्द्रनगर नगरपालिकामा फोहरबाट ऊर्जा परियोजना निर्माणको लागि सम्झौता सम्पन्न भएको छ ।

 

परियोजना निर्माणको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, विरेन्द्रनगर नगरपालिका तथा परियोजना निर्माणकर्ता कम्पनी (के.पी. व्यवसायिक सेवा प्रा.लि.) बीच आज खुमलटार ललितपुर स्थित वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालयमा त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, विरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देव कुमार सुबेदी तथा आयोजना निर्माणकर्ता कम्पनीका प्रबन्ध निर्देशक कृष्ण प्रसाद ढकालले हस्ताक्षर गर्नुभएको छ ।

 

कूल ३० टन क्षमताको परियोजनाबाट दैनिक ७२० केजी प्रशोधित बायोग्यास तथा ९ मेट्रिक टन जैविक मल उत्पादन गरिनेछ । उत्पादित ग्यासलाई पाइपलाइन मार्फत वितरण गरिनेछ । परियोजनाबाट करीब १३०० घरधुरी लाभान्वित हुनेछन् । परियोजनाको कूल लागत १४ करोड १५ लाख ६२ हजार रहेको छ । परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तथा प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन केन्द्रको प्राविधिक मूल्यांकन समितिले स्वीकृत गरिसकेको छ ।

 

विश्व बैंक समेतको सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम  अन्तर्गत कार्यान्वयन हुने परियोजनाको कूल लागतको ४० प्रतिशत (५ करोड ६६ लाख २४ हजार ८ सय) अनुदान वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रदान गर्नेछ भने बाँकी ६० प्रतिशत लगानी परियोजना निर्माणकर्ताले गर्नेछ । डिजाइन, निर्माण, लगानी, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण ढाँचामा निर्माण हुने उक्त परियोजना अवधि २० वर्षको हुनेछ । परियोजना निर्माणकर्ताले २० वर्षसम्मको सफल सञ्चालन पश्चात् उक्त परियोजना नगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

परियोजनाको लागि आवश्यक जग्गाको व्यवस्था विरेन्द्रनगर नगरपालिकाले गरेको छ । परियोजनाको लागि आवश्यक कच्चा पदार्थको रुपमा नगरपालिकाबाट संकलन हुने कुहिने फोहर, छाडा पशु व्यवस्थापनबाट संकलन हुने गोबर तथा अन्य व्यवसायिक प्रतिष्ठानहरुबाट उत्पादन हुने जैविक फोहर समेत उपयोग गरिनेछ ।

 

 

क्षमता अनुसारको उत्पादन तथा प्राविधिक गुणस्तरमा जोड दिनुपर्ने : कार्यकारी निर्देशक अधिकारी

कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले परियोजनाको क्षमता अनुसारको उत्पादन तथा प्राविधिक पक्षमा जोड दिनुपर्ने बताउनुभयो । साथै कार्यकारी निर्देशकअधिकारीले परियोजनाको उपकरण आयात गर्नुपर्ने भएकोले उपकरणहरुको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने, परियोजनाको क्षमता अनुसार उत्पादन हुने ग्यारेन्टी गरेर मात्र आयोजनाको सामाग्री खरीद प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो । साथै यस्ता परियोजनाहरु निर्माण गर्दा वातावरणीय तथा सुरक्षात्मक उपायहरुलाई प्रभावकारी रुपमा लागू गर्नुपर्ने उहाँले बताउनुभयो ।

नगरपालिकाको फोहरबाट ऊर्जा परियोजना तथा व्यवसायिक ठूला बायोग्यास परियोजनाको संख्यामा वृद्धिसँगै यस क्षेत्रमा कार्य गर्ने दक्ष सेवा प्रदायक कम्पनी तथा जनशक्तिको आवश्यकता रहेको उहाँले औल्याउनुभयो । साथै यस्ता प्लान्टका निर्माण चरणदेखि नै नगरपालिकाले प्राविधिकहरुलाई संलग्न गराइ भविश्यको लागि प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्र्नेे सुझाव दिनुभयो ।

परियोजना निर्माणको लागि कम्पनी छनौट भइसकेकोले १ वर्षभित्र परियोजना निर्माण सम्पन्न हुने केन्द्रका बायो इनर्जी शाखा प्रमुख मुकेश घिमिरेले बताउनुभयो ।

 

परियोजनालाई एकीकृत ढाँचामा कार्यान्वय गरिने : नगर प्रमुख सुबेदी

विरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देव कुमार सुबेदीले यस परियोजनाले नगर सफा राख्न सघाउ पु¥याउनुको साथै छाडा चौपाया वस्थापन, पशु बधशालाबाट उत्पन्न हुने फोहर व्यवस्थापनमा समेत सघाउ पु¥याउने भएकोले परियोजना बहुउपयोगी तथा एकीकृत ढाँचामा आधारित रहेको बताउनुभयो । लामो प्रयासपछि परियोजनाको सम्झौता गर्न सफल भएको बताउँदै परियोजना समयमै सम्पन्न गर्नको लागि नगरपालिकाले कार्य गर्ने उहाँले बताउनुभयो ।

परियोजनाबाट छाडा गाइवस्तु र फोहरको समस्या दीर्घकालीन रुपमा समाधान हुने अपेक्षा रहेको बताउँदै निजी क्षेत्रले आयोजनाको उपकरण खरीद र दीगो रुपमा सञ्चालनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । साथै कर्णाली प्रदेशमै पहिलोपटक निर्माण हुन लागेको यस परियोजना निर्माणबाट कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्यमा समेत सघाउ पुग्ने उहाँले बताउनुभयो ।

 

परियोजना समयमै सम्पन्न गरिने परियोजना निर्माणकर्ताको प्रतिबद्धता

परियोजना निर्माण कम्पनीका प्रबन्ध निर्देशक कृष्ण प्रसाद ढकालले बायोग्यास र जैविक मलको उत्पादन गरी व्यवसायिक रुपमा बिक्री गर्र्न सकिने सम्भाव्यता देखेर परियोजनामा लागनी गर्न लागिएको बताउनुभयो । परियोजना प्रतिको आफ्नो जिम्मेवारीलाई बुझेरै परियोजनामा लगानी गर्न लागिएकोले तोकिएकै समयमा परियोजना निर्माण सम्पन्न गरिने बताउनुभयो । साथै परियोजना निर्माण को अवधिमा नगरपालिका तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट आवश्यक सहयोग हुने अपेक्षा गरेको समेत बताउनुभयो ।

एभरेस्टमिसनबाट