७२ घण्टाभित्र चितवनमा ७० शैयाको कोरोना विशेष अस्पताल बन्दै


कोरोनाभाइरस संक्रमण जोखिमलाई ध्यानमा राख्दै चितवनको भरतपुरमा ७० शैयाको अस्थायी अस्पताल निर्माण हुने भएको छ।

७२ घण्टाभित्र सेवा सञ्चालनमा ल्याउने गरी कोरोना विशेष अस्पताल निर्माण हुने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।
‘आजैबाट काउन्टडाउन सुरु भयो। ७२ घण्टाभित्र अस्पतालको सेवा सुरु हुन्छ’, उनले भने।

अस्पतालमा १० वटा आइसियू, १० वटा एचडियू र ५० वटा जेनेरल बेड रहनेछन्।

भरतपुरस्थित उद्योग संघको सभाहल क्षेत्रमा अस्पताल निर्माण हुने भट्टराईले बताए। अस्पतालको व्यवस्थापनको लागि १३ जनाको टोली गठन भएको छ।

भरतपुर महानगरपालिका र निजी क्षेत्रसँगको सहकार्यमा अस्पताल निर्माण हुन लागेको उनले बताए।