लकडाउनमै सकिँदै कर्णाली घुम्‍ने सिजन


विशेष गरी फागुनदेखि जेठसम्म कर्णाली घुम्ने उपयुक्त मौसम मानिन्छ। देश बन्दाबन्दी (लकडाउन)मा परेपछि कर्णाली क्षेत्र अहिले सुनसान छ। विदेशी त के स्वदेशी पर्यटक पनि छैनन् यहाँ।

३० चैत्र , सुर्खेत। कर्णाली राजमार्ग हुँदै रारा जानेको लर्को लाग्ने बेला हो यो। अघिल्ला वर्षमा यो मौसममा यहाँका होटल भरिभराउ हुन्थे। ट्राभल एजेन्सीहरूलाई यात्रु व्यवस्थापन गर्न हम्मे–हम्मे पर्ने गर्थ्यो।सुर्खेत र नेपालगञ्ज विमानस्थलमा रारा, से–फोक्सुन्डो, सिञ्जा, लिमी भ्यालीलगायतका उपल्लो कर्णालीका मुख्य गन्तव्यका साथै सीमापारिको प्रसिद्ध हिन्दू तीर्थस्थल मानसरोवर पुग्ने पर्यटकको भीड लाग्ने गर्दथ्यो। विशेष गरी फागुनदेखि जेठसम्म कर्णाली घुम्ने उपयुक्त मौसम मानिन्छ।

यसपटकका लागि भने यो सबै कल्पना मात्र भयो। देश नै बन्दाबन्दी (लकडाउन)मा परेपछि कर्णाली क्षेत्र नै अहिले सुनसान छ। विदेशी त के स्वदेशी पर्यटक पनि छैनन् यहाँ। यही ‘सिजन’ मा कोरोना भाइरस (कोभिड-१९)ले विश्वभर महामारीको रूप लिएपछि त्यसको मार नेपाललाई पनि परेको छ।

फैलिँदो महामारीको नेपालमा पनि सम्भावित संक्रमण रोक्न नेपालले बन्दाबन्दी (लकडाउन)को घोषणा गरेको छ। ‘लकडाउन’को प्रभाव कर्णालीका सुदूर गाउँ-वस्तीमा रहेका पर्यटकीयस्थलहरूमा पनि परेको छ। त्यसैले यहाँका पर्यटन व्यवसायीको साँझ बिहानकै गुनासो छ- देशमा लकडाउन नहुँदो हो त कर्णालीको हालत यस्तो हुने थिएन, हामीलाई साह्रै मर्का परेको छ।

यस क्षेत्रका धार्मिक आस्थाका केन्द्र सुनसान छन्। ताल तलैया, पार्क बगैँचा, भ्यू-टावरहरूमा मानिसको चहलपहल शून्य छ। मानिसको हिँड्डुल बन्द छ। प्रदेश राजधानी वीरेन्द्रनगरको प्रसिद्ध शक्तिपीठ देउतीबज्यै मन्दिरमा लकडाउन शुरू भएदेखि दर्शनार्थीलाई प्रवेश निषेध गरिएको छ।

मन्दिरको मूलद्वार नै बन्द छ। देउतीबज्यै दर्शन गरे मनकामना पूरा हुने विश्वास रहिआएको छ। भीडभाड हुने स्थान भएकाले कोरोना भाइरसको जोखिम रोकथामका लागि मन्दिरमा पूजापाठ बन्द गरेको बताउँछन् पुजारी टङ्कबहादुर माझी। “मन्दिर आसपासकालाई पनि पूजापाठ गर्न दिएका छैनौँ, मन्दिर प्रवेशमा खुकुलो बनायौँ भने भीड बढ्दै जान्छ, रोक्न सकिँदैन त्यसैले मूल ढोका नै बन्द गरेका छौँ”, उनले भने, “भाइरस संक्रमण सर्ने खतरा भएकाले लकडाउन अवधिसम्म पूजापाठ नै बन्द गरेका हौँ।”

बुलबुले उद्यान नगरवासीका लागि गर्मी छल्ने उपयुक्त स्थान हो। यहाँ ताल पनि छ। अहिले तालको आकार बढाएर तेब्बर ठूलो बनाइँदैछ। यो आयोजना लकडाउन भएदेखि बन्द छ। चराको चीरबिर–चीरबिर आवाजबाहेक मानिसको चहलपहल नहुँदा बुलबुले बिरानोजस्तो देखिएको छ। २०३० को दशकदेखि रेडियो नेपालबाट बारम्बार गुन्जिरहने ‘सुर्खेत बुलबुल ताल मै सानी हुनाले छुट्यो माया जाल’ बोलको गीतले यसको प्रवर्द्धनमा टेवा पुर्‍यायो। त्यसैले पनि होला सुर्खेत आउनबित्तिकै बुलबुले अवलोकन आगन्तुकको पहिलो रोजाइँमा पर्थ्यो।

लकडाउनले गर्दा ताल छेवैका स्थानीयका लागिसमेत बुलबुले नौलो भइसकेको छ। लाटीकोइलीस्थित प्रसिद्ध काँक्रेविहार क्षेत्रमा पनि लकडाउनको प्रभाव परेको छ। पर्यटकको चहलपहल छैन। मूलद्वार मै ठूलो ताल्चा लगाइएको छ। टिकट घरदेखि आसपासका चियापसल सबै बन्द अवस्थामा छन्। कोभिड-१९ को जोखिमले ‘यसपालि घुमौं कर्णाली’ नारासहित विभिन्न प्रवर्द्धनात्मक क्रियाकलाप गरिरहेको प्रदेश सरकारको योजनामा व्यवधान खडा भएको छ। त्यसो त बन्दाबन्दीले मुलुकका सबै क्षेत्रको पर्यटन व्यवसायमा असर पुर्‍याएको छ। तर, कर्णालीले पर्यटकलाई स्वागत गर्ने यो मुख्य मौसम भएकाले आफूले बढी क्षति भोग्नुपरेको व्यवसायीको जिकिर छ।

पूर्वाधार निर्माण ठप्प    

११ चैतमा लागू लकडाउनले मानिसको चहलपहल, आउजाउ मात्र रोकिएको छैन, पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणका काम पनि ठप्प भएका छन्। काँक्रेविहार पुनर्निर्माणअन्तर्गत दोस्रो चरणको काम चालू आर्थिक वर्षमै सम्पन्न नहुने निश्चित भइसकेको थियो। कर्णाली प्रदेश सरकारको सहयोगमा पर्खाल, बगैँचा निर्माण कार्यका लागि बोलपत्र आह्वान भए पनि तत्काललाई उक्त प्रक्रिया स्थगित हुने भएको छ। प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढाइएको बुलबुले क्षेत्र विस्तार कार्यक्रम रोकिन पुगेको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाका अनुसार लकडाउनका कारण पर्यटन पूर्वाधारका एक दर्जन महत्त्वपूर्ण आयोजना प्रभावित भएका छन्। डिभिजन वन कार्यालय मुगुले रारा तालको वरिपरि १४ किलोमिटर लम्बाइ, डेढ मिटर चौडाइ भएको साइकल मार्ग बनाउने योजना शुरू गरिसकेको थियो।

हाल घोडेटो बाटो मात्र रहेको र त्यसलाई व्यवस्थित गर्न तीन करोड रूपैयाँ लागतमा साइकल मार्ग बनाउन लागिएको थियो। साइकल मार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार भइसकेको छ। सूचना अधिकारी रोकायाले अर्थ मन्त्रालयले सम्झौता भइसकेका बाहेक अन्य आयोजना अघि नबढाउन निर्देशन दिएपछि शुरू हुनै लागेका आयोजना रोकिएको बताउँछन्। उनी भन्छन्, “गत वर्षदेखि अध्ययन भएका आयोजना अब कार्यान्वयनमा आउँदै थिए, कोभिड–१९ को महामारीले बजेट रकमान्तर गर्नुपर्ने अवस्था निम्त्यायो।”

त्यस्तै रारा जाने पर्यटकलाई लक्षित गरेर बाटोमा दैलेखको राकमकर्णालीमा घरबास (होमस्टे) सञ्चालन गर्ने योजनाअन्तर्गत निर्माण प्रक्रिया अघि बढाइएको थियो। रारा जाँदा बाटोमा पर्यटकलाई खाने, बस्ने समस्या हुने गरेको गुनासोलाई सम्बोधन गर्न प्रदेश सरकारले घरबास (होमस्टे) कार्यक्रमलाई जोड दिएको हो। से–फोक्सुन्डो ताल परिसरमा पैदलमार्ग, दैलेखको पञ्चकोशी क्षेत्र सुधार, कोटिला ताल निर्माण लगायतका आयोजना प्रभावित हुन पुगेका छन्।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्य निरन्तर भइरहेका विकास निर्माणका काम एक वर्ष पछाडि धकेलिन पुगेको बताउँदै भन्छन्, “लकडाउनले समग्र मुलुककै अर्थतन्त्रलाई डरलाग्दो क्षति पुर्‍यायो नै कर्णालीमा पर्यटन पूर्वाधारका विभिन्न आयामहरू रोकिन पुगे।”

उनका अनुसार प्रदेश सरकारले पर्यटन गुरूयोजना बमोजिम यस वर्ष पूर्वाधारमा लगानीका साथै विभिन्न प्रवर्द्धनात्मक क्रियाकलापलाई जोड दिएको थियो। “बजेट रकमान्तर गरेर कोभिड-१९ विरूद्धका प्रतिकार्यमा लगाउनुपर्ने अवस्था छ, यसले आगामी वर्षको बजेट विनियोजनमा पनि प्रभाव पर्ने भयो”, सचिव डा. आचार्य भन्छन्, “पर्यटन विकासका अल्पकालीन र दीर्घकालीन योजना कार्यान्वयन गर्न केही वर्ष बजेटको समस्या हुने देखिन्छ।”

व्यवसायी सरकारले बल्ल कर्णालीको पर्यटन पूर्वाधारमा लगानी गरिरहेको बेला कोभिड-१९ विरूद्ध जुध्नुपरेको बताउँछन्। “पर्यटन क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिन्छ भन्ने तीनवटै तहका सरकारको बुझाइ रहेको थियो, यतिबेलै कोरोना भाइरसविरूद्ध लड्नुपर्ने बाध्यताका कारण पर्यटन क्षेत्र पुनः ओझेलमा पर्ने भयो”, राराका होटल व्यवसायी राजु कार्की भन्छन्, “बामे सर्न लागेको कर्णालीको पर्यटन १० वर्ष पछाडि धकेलियो।” आगामी वर्षहरूमा प्रदेश पर्यटन गुरूयोजनाअनुसार बजेट विनियोजन गर्ने प्रदेश सरकारको लक्ष्य थियो।

– प्रकाश अधिकारी/रासस