‘फ्रन्टलाइनर’ नर्स र पत्रकारमा पनि भेटियो कोरोना संक्रमण


३० बैशाख, काठमाडौं । नेपालमा पहिलोपटक ‘फ्रन्टलाइनर’ पत्रकार र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

 

मंगलबार पर्सामा भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये ४ जना पत्रकार भएको पाइएको छ । नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये केही पत्रकार पनि भएको पुष्टि गरेका छन् ।

वीरगञ्जमा पहिलो पटक ३१ चैतमा ३ जना जमाती र छपकैयामा एकै परिवारका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे । अग्रमोर्चामा काम गर्ने वीरगञ्जका पत्रकारहरूले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।

 

यस्तै कपिलबस्तुको तौलिहवा अस्पतालमा कार्यरत १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार संक्रमण पुष्टि भएका ८ मध्ये १ जना २५ वर्षीय स्टाफ नर्स रहेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए ।

 

कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममा उनमा कोरोना संक्रमण भएको हो । अस्पतालमा कार्यरत उनीसहित ९ जनाको स्वाब संकलन गरिएकोमा ८ जनाको रिर्पोट नेगेटिभ छ ।