सुर्खेतका पत्रकारहरुको स्वाब संकलन


सुर्खेत । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको समन्वयमा बुधबार जिल्लामा कार्यरत ४३ जना पत्रकारको नोज्नल स्वाव संकलन गरि प्रयोगशालामा पठाइएको छ । अन्य प्रदेशमा पत्रकारलाई पनि कोरोना संक्रमण भएको पाइएपछि सामाजिक विकास मन्त्रालय र जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्वाव संकलन गरेका छन् । कोरोना संक्रमण सुर्खेतको सिमाना जोडिएको बाँके र बर्दियामा देखिइसकेको छ । रिपोर्टिङका क्रममा पत्रकारहरुलाई बढी जोखिम हुने भएकोले कोरोनाको संक्रमणबाट बच्नका लागि यो परिक्षण सकरात्मक रहेको पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले बताए ।

‘सरकारले सबै पत्रकारको नमूना संकलन गरेर राम्रो काम गरेको छ ।’ महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले भने, ‘कोरोना संक्रमणबाट सबैले जोगिनु आवश्यक छ । रात दिन खटिरहेका पत्रकारको नमूना संकलन गर्नु असाध्यै राम्रो काम हो ।’
अध्यक्ष भारतीले छुटेका अन्य पत्रकारहरुलाई पनि सम्पर्क गर्न अनुरोध गरेका छन् ।

पत्रकारहरुको नमूना संकलन भइरहेको स्थानमा आइ सामाजिक विकास मन्त्री दल रावलले कोरोना विरुद्धको लडाईमा कर्णालीका पत्रकारको अथाह सहयोग भएको बताउँदै पत्रकारमा कोरोना छ कि छैन भनेर दश वटै जिल्लामा जाँच गरिएको बताए । उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रशंसा गरे ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननीधि वाग्लेले विहीबार दिउसोसम्म सबै पत्रकारको रिपोर्ट आइसक्ने बताए ।