स्थानीय तह निर्वाचनको तिन बर्ष पुरा: वडा अध्यक्षलाई पाँच प्रश्न !


 

स्थानीय तहको तिन बर्षे कार्यकालको उपलब्धी सम्बन्धमा सितलपाटीका लागि खुमलाल न्यौपानेले तत्कालिन ने.क.पा. एमाले बाट निर्वाचित वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गंगाराम सुनारलाई पाँच प्रश्न सोधेका छन् । वडा अध्यक्षसँग भएको कुराकानीको सम्पादित रुप:

  • तपाई निर्वाचित भएको ३ बर्ष पुरा भयो । ३ बर्षे कार्यकालमा भोट माग्दा गरेका बाचाहरु कति पुरा गर्नुभयो?

स्थानीय तहको निर्वाचनको दौरान हामी एजेण्डा सहित जनतासँग गएका थियौँ । भोट माग्दा गरेका बाचाहरु केहि पुरा भएका छन् । अब २ बर्ष बाँकी छ, बाँकी बाचाहरु समेत पुरा गर्ने प्रतिवद्धता जनाउँदछु । मुख्य रुपमा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न केन्द्र सरकारबाट समेत काम अगाडी बढेको छ । अन्य विद्यालयको भौतिक संरचना निर्माण, खानेपानीको पूर्वाधार विकास र सडक निर्माणका कामहरु भैरहेका   छन् ।

  • ३ बर्षमा गरेका मुख्य ३ वटा महत्वपुर्ण काम के-के हुन् ?

मुख्य रुपमा भन्नुपर्दा वडामा रहेको एकमात्र सामुदायिक माध्यमिक विद्यालय त्रिपुरेश्वर मा.वि. मा २ वटा ६ कोठे भवनको निर्माण सम्पन्न भएको छ । दोश्रो महत्वपुर्ण काममा वडा नं. १ मा खानेपानीको समस्यालाई कम गर्न ३ लाख लिटर अट्ने रिजर्भ टंकीको निर्माण गरिएको छ भने तेश्रो काम भन्नुपर्दा गुरुयोजनाका सडकहरुको नियमानुसार ट्रयाक खोल्ने कार्य लगभग अन्तीम चरणमा छ । आंशिक रुपमा कहिँकतै बाँकी रहेता पनि गुरुयोजना बमोजिमको सडक निर्माण गरिनेछ । दलित र विपन्न वर्गको वस्ती भएका कारण वडामा लागत सहभागिता कम हुने र विकास निर्माणका कामलाई तिब्रता दिन चुनौती देखिएको छ ।

 

  • नगर कार्यपालिकाको नेतृत्व फरक पार्टीको छ, तपाईलाइ काम गर्दा नेतृत्वबाट अफ्ठेरो भएको छ ?

छैन । हामि कार्यपालिकामा नेतृत्व कुन पार्टीको र बहुमत कुन पार्टीको भन्दा पनि सबै एक भएर नगरको विकासमा नै केन्द्रित छौँ । हालसम्म नगरवासीको समग्र समस्या समाधान गर्न हामिहरु एकजुट भएर लागेका छौँ । बाहिरबाट हेर्दा र बुझ्दा जस्तो समस्या नगरकार्यपालिका भित्र छैन । कार्यपालिकाको नेतृत्वले हामिलाई काम गर्न सहयोग गरिरहेको छ र हामिपनि नेतृत्वलाई सहयोग गरिरहेका छौँ ।

 

  • वडा अध्यक्षको भुमिका नगर कार्यपालिकाको सदस्यको रुपमा समेत हुनेहुँदा समग्र नगर कार्यपालिकाको ३ बर्षे कार्यकालको समिक्षा कसरी गर्नुहुन्छ ?

नगर कार्यपालिकाको उपलब्धी सन्तोषजनक रुपमा नै लिन सकिन्छ । काम गर्दा धेरै समस्या उत्पन्न हुन्छ तर चुनौतीको सामना गर्दै नगर कार्यपालिकाले महत्वपुर्ण निर्णयहरु गरेको छ । अब कार्यान्वयनको पाटो केहि बाँकी नै छ । नगरको १३, १४, १५ र १६ नं. वडालाई कृषि उत्पादनका लागि प्रयोग गर्ने र बाँकी वडामा शहरीकरण गर्ने नीतिगत निर्णय भएको छ । भवन निर्माण मापदण्ड पूर्ण रुपमा लागु भएको छ । केन्द्रिय कार्यक्रम अन्तर्गत गरिब घर परिवार पहिचान कार्यक्रम सञ्चालनमा छ । घण्टाघर नजिकको खुला मञ्चलाई पार्कको रुपमा विकास गर्न आवश्यक काम अगाडी बढेको छ । सीटी बसपार्क सञ्चालनको सम्पुर्ण तयारी पुरा भैसकेको छ । पर्यटकिय क्षेत्रको रुपमा रहेका विशेष गरि काँक्रेबिहार, बुलबुले र देउतीबज्यैलाई कम्पाउण्डीङ सँगै थप व्यवस्थित रुपमा सञ्चालन गर्ने कार्य भैरहेको छ । ल्याण्डफिल साइटको स्तरउन्नती र वायोग्याँस उत्पादन गर्ने योजना सहित काम भैरहेको छ । अझै केहि महत्वपुर्ण कामहरु गर्न बाँकी नै छ तर विभिन्न चुनौतीहरुका बिच समग्रमा नगर कार्यपालिकाको ३ बर्षे कार्यकाल उपलब्धीमुलक नै मान्न सकिन्छ ।

 

  • वडामा विपद व्यवस्थापन कसरी भैरहेको छ ? कोरोनाको माहामारी रोक्न के कस्ता प्रयास भैरहेका छन् र आगामी रणनीति के हो ?

विश्वभर फैलिएको कोभिड १९ का कारण नेपाल सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरे सँगै यस वडामा पनि पूर्ण रुपमा लकडाउनको पालना भैरहेको छ । अति विपन्न वर्गलाई राहतका लागि वडामा सबै राजनीतिक दल, संघ संस्था र स्थानीय क्लवहरु सबैको आर्थिक, सामाजिक र मनोवैज्ञानीक सहयोग प्राप्त भएको छ । खाद्यान्न तथा तरकारीको अभावका कारण स्थानीय क्लव र युवाहरुको सहयोगमा वडावासीलाई तरकारी र खाद्यान्न घरघरमा पुर्‍याउने कार्य समेत गरिएको छ । पछिल्लो समय भारत र अन्य देशबाट मानिस आए सँगै त्रिपुरेश्वर मा.वि. मा क्वारेन्टिनको व्यवस्था गरिएको छ र हाल १६ जनालाई राखिएको छ । आगामी दिनमा क्वारेन्टिनको क्षमता वृद्धि गर्ने र थप संख्यालाई समेत व्यवस्थापन गर्ने तरिकाले काम भैरहेको छ ।

सितलपाटीले स्थानीय तह निर्वाचनको ३ बर्षे कार्यकालका सम्बन्धमा फलोअप रिपोर्टको स्तम्भ संचालन गरिरहेको छ । आगामी दिनमा समेत वडा अध्यक्षलाई पाँच प्रश्न स्तम्भ सितलपाटीबाट निरन्तर प्रकाशन गरिनेछ ।