काँक्रेविहार संरक्षणमा यूवाहरु, जरायोको आहाराकालागि नेपियर घाँस रोपियो


३१ असार, सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको नेपालको संरक्षित वन क्राँकेबिहार संरक्षणमा स्थानीय यूवाहरु जुटेका छन् । बिश्व संम्पदा सूचिमा सूचिकृत सुर्खेतको वीरेन्द्रनगर ९ मा रहेको संरक्षित वन क्राँकेबिहार क्षेत्रमा जरायोको आहारालाई लक्षित गरेर स्थानीय यूवाहरुको समूहद्वारा सुपर नेपियर घाँस रोपिएको हो । वीरेन्द्रनगर ९ लाटिकोइलीका युवाहरुको सक्रियतामा आज काँक्रेविहारको जन्ती साल क्षेत्रमा करिव १५ सय सुपर नेपियर घाँसका बिरुवा रोपिएको छ । काँक्रेविहारको चारैतर्फ मानववस्ती रहेकोले चरिचरणको अभावका कारण वन्य जन्तु जरायोलाई लक्षित गरि घाँस रोपिएको स्थानिय युवा बसन्त गिरीले जानकारी दिनुभयो ।
रेडियो भेरी एफएमका सञ्चारकर्मी केशव कोइरालालले १ हजार बिरुवा र सुगारिका कृर्षी फर्मका सुशील केसीले ५ सय बिरुवा सहयोग गर्नुभएको स्थानीय युवा सनम गिरीले बताउनु भयो । तीन महिनाभित्र यो बिरुवा जरायोकोलागि खान उपयुक्त हुने बिज्ञहरुले बताएका छन । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष सुरेश मानन्धरले यो वर्ष काँक्रेबिहारको चारैतिर कम्पाउन्ड वाल लगाउने तयारी गरिएको बताउनु भयो । उहाँ भन्नुहुन्छ “यसले चरिचरणकालागि जरायो लगाएतका वन्यजन्तुकालागि निकै प्रभावकारी हुने बिश्वास लिएको छु ।” स्थानीय यूवा ॠषि गिरिले यस बिरुवाको अनेत्र पनि माग भएकाले यसलाई व्यवसायिक रुपमा लैजान सकिने बताउनुभयो ।
संरक्षणमा लागेका समूहले यसका बिरुवा बेचेर आम्दानी लिन सक्ने उहाँको भनाई छ । स्थानिय युवा नारायण जिसीले पहिलो चरणमा परिक्षणको रुपमा १५ सय बिरुवा लगाईएको बताउनु भयो । उहाँले दोस्रो चरणमा अरु बिरुवा पनि रोप्ने योजना रहेको जानकारी दिनुभयो । कार्यक्रममा काँक्रेबिहार संरक्षण समितिका अध्यक्ष चन्द्रा श्रेष्ठ लगाएत स्थानीय यूवाहरुको सहभागीता रहेको बृक्षारोपण कार्यक्रममा रमेश गिरी, हेमन्त गिरी, राजन गिरी, पद्मा गिरी लगाएतले यातायात तथा खाजा र पानीको सहयोग गर्नुभएको थियो ।