प्रिमियर लिग फुटबल : बराबरी खेल्दै युनाइटेड शीर्ष तीनमा


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले बराबरी खेल खेलेको छ । बुधबार राति भएको खेलमा युनाइटेड वेष्ट ह्यामसँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलको ५१ औं मिनेटमा ग्रीनवुडले गोल गरेका थिए । त्यसअघि पहिलो हाफको इन्जुरी समयमा मिचेल एन्टोनियोले पेनाल्टीमा गोल गर्दै वेष्ट ह्यामलाई अग्रता दिलाएका थिए ।

युनाइटेडका पाउल पोग्बाले डिबक्स भित्र हातले बल रोक्दै ह्यान्ड गरेपछि वेष्ट ह्यामले पेनाल्टी पाएको थियो । घरेलु मैदानमा बराबरी खेलेसँगै युनाइटेड लिगको तेस्रो स्थानमा उक्लिएको छ । र, युनाइटेडले च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ ।

युनाइटेडले ३७ खेलमा ६३ अंक जोडेको छ । युनाइटेडको बराबरीसँगै शीर्ष चारमा रहने टिमको टुंगो अन्तिम खेलबाट तय हुने भएको छ । वेष्ट ह्याम भने रेलिगेसनबाट जोगिएको छ । ३८ अंक जोडेको वेष्ट ह्याम १५ औं स्थानमा रहेको छ ।

  • एजेन्सी