भान्छालाई बेवास्ता नगरेकै बेस


डा. अरुणा उप्रेती/डा. रामदेव पण्डित:

भलाकुसारी गर्दा ‘भात खानुभयो ?’ भनेर सोधिन्छ । नेपाल र भारतका कति ठाउँमा दाल–भात दैनिकरुपमै खाइन्छ । कतिले दाल–भातले स्वास्थ्य राम्रो गर्दैन भन्छन् । तर, सादा दाल–भात तरकारी वैदिक कालदेखि नै पूर्वीय खानपिन संस्कृतिको सदाबहार परिकार हो ।

सन् २०१९, सेप्टेम्बर १० मा विश्व प्रसिद्ध बेलायती ‘नेचर जर्नल’मा दाल, भात, रोटी, शब्जी र भान्सामा दैनिक रुपमा प्रयोग गरिने मसलाहरुका बारेमा महत्वपूर्ण अनुसन्धान प्रकाशित भयो । दाल भातको सट्टा छोडेर पत्रु परिकारहरु बर्गर, पिज्जा, स्यान्डविच, चाउमिन, चाउचाऊ खाँदा मुटुरोग, मधुमेह रोग एवं वंशाणुगत रोग हुन्छ भन्नेबारे यस अनुसन्धानमा विशेष चर्चा गरिएको छ ।

चारजना विशेषज्ञ वैज्ञानिकहरूले २ वर्षको समय लगाएर गरेको अनुसन्धानमा परम्परागत दाल भात र पत्रु खानाहरूको तुलनात्मक अनुसन्धानले देखाएको छ, दाल भात उत्तम खाना हो ।

नेपालमा धानको भातको साथै अन्य अन्न, जस्तै– कोदो, फापर, गहुँ आदि पनि खाइन्छ । पहिले यस्तो अन्नको वास्ता गरिन्नथ्यो । बालबालिकाहरुलाई पनि जाउलो र खिचडी (अर्थात दाल र भात मिसाएर पकाएको) खुवाउने चलन समाजमा छ, जसको बिषयमा पनि एकमुस्ट रुपमा यस अनुसन्धानले विश्लेषण गरेको छ ।

दालमा (प्रोटिनयुक्त) र सब्जी (भिटामिन र मिनिरल्सयुक्त) सबै सँगै खाँदा सेवनले शरीरलाई सञ्चो गर्छ । अतः ‘भात खानु भयो ?’ भनेर सोध्नुको अर्थ ‘सन्चो हुनुहुन्छ’ नि, भन्नु हो । भात खाएको छैन भन्नुको अर्थ ‘सञ्चो छैन’ भन्ने पनि बुझिन्छ । किनकि, भातजस्तो सादा वा सस्तो चिज पनि खान नसकेको वा खान नपाउनु भनेको उसको शरीरमा वा जीवनमा समस्या छ भन्ने संकेत हो ।

नेपाली समाजमा भात खाने चलन अधिक छ भन्ने अर्थमा एकले अर्कोलाई रीस उठ्दा भाते भनेर बोलाउने चलन पनि छ । चामल सहजरुपमा उपलब्ध नहुने ठाउँहरुमा पनि त्यसको विकल्पमा अन्य अनाजहरु धन बाहेक अन्य अन्न र स्थानीयरुपमा फल्ने गेडागुडीलाई दालको परिकार बनाएर खाने गरिन्छ ।

जर्मनीको ल्युबेक युनिभर्सीटिका प्राध्यापक राँल्फ लुडविजको नेतृत्वमा भारती डा. यास्क गुप्ता र उनका २ जना वैज्ञानिक साथीहरुको समूहले मिलेर गरेको उक्त अनुसन्धानबाट नेपाल र भातरको भान्सामा पाक्ने दाल भात र तरकारीको परिकारलाई स्वस्थकर रहेको पुष्टि गरेको थियो ।

मौलिक पकाउने शैली, तरकारीहरुको विविधता, मसलाहरुको औषधीय गुण, ताजा अचार आदिले खाना सन्तुलित एवं दाल– भातलाई रुचिकर बनाउँछ । यसरी पाकेको खानाले शरीरलाई स्वस्थ बनाउँछ । स्वस्थ भोजनले मानव शरीरका खरबौं खरब कोषहरुलाई लगातार उर्जा सञ्चार गर्छ । कोष थाक्न दिँदैन फलतः शरीर थाक्न पाउँदैन ।

यस्तो खान छाडेर मानिसहरु प्रोटिन, क्याल्सियमको चक्की खान्छन् । हिजोआज पोषणको कुरा गर्दा ‘प्रोटिन’ ‘क्याल्सियम’ ‘आइरन’ ‘जिंक’, आदि क्याप्सुलका रुपमा दिए मात्र स्वास्थ्य राम्रो हुन्छ भन्ने भ्रमपूर्ण धारणा छ ।

अहिलेचाहिँ थालमा भात खाने परम्परागत चलनलाई व्यापारीहरुले थाली भनेर पस्कन्छन् । महंगो पैसा लिन्छन् । अहिले नेपाली खानाको रुपमा सबै भात, दाल, तरकारी, अचार, दही, कढी, पापड हुन्छ । गुन्द्रुक, गोलभेडा र टिमुरको अचार पनि हुन्छ । अर्थात वैज्ञानिकरुपमा हेर्दा त्यस व्यञ्नजमा शरीरलाई आवश्यक ‘सूक्ष्म पोषक’ तत्वहरु भरिपूर्ण हुन्छन् । दाल भात मिलाएर खाए पेटमा शोषण पनि राम्रोसँग हुन्छ ।

हिजो आज नेपालमा केही जानिफकारले भात र दालसँगै नखानु भन्ने प्रचार गरिरहेको पाइन्छ । प्रोटिन खाएको चार घण्टापछि मात्रै कोर्बोहाइड्रेट खानुपर्छ भन्छन् । जसको अर्थ, दाल खाएको ४ घण्टा पछि मात्र भात खानुपर्छ भन्ने ज्ञान दिन्छन् । योे सही होइन ।

कतिपय विद्धानले एकचोटिमा एक थरीको खान सल्लाह दिन्छन् । अर्थात एकचोटि भात मात्रै, अर्कोचोटि रोटीमात्रै, अर्कोचोटि तरकारी मात्रै खान भनिरहेका छन् ।

तर, के बुझ्नुपर्छ भने पोषण विज्ञान मात्र होइन, यो कला पनि हो । पोषण विज्ञानको केही तर्क र तथ्यले एकलै हिँड्दैन । खानपिन संस्कार, संस्कृति र सभ्यता एवं व्यक्तिको आनीबानीसँग पनि जडिएर हेर्नुपर्ने विषय हो ।

आयुर्वेदको चरक संहिता विमानस्थान अध्यााय एकमा आहार चर्चा गरिएको छ जसमा खानाको प्रकृति, पकाउने विधि, मात्रा, ठाउँ, काल (मौसम अनुसारको खानपिन), उपयोग संस्था (भोजन गर्ने बेलाको अनुशासन) बारे पनि लेखिएको छ । एकै प्रकारको खाना मात्र खाँदा एक त त्यसबाट स्वाद प्राप्त हुँदैन भने अर्को तीर शरीरमा पोषक तत्वहरु पाइन्न ।

कसैले दाल खाँदा पेट ढुस्स हुने र पचाउन गाह्रो हुन्छ भनेर दाल नखान पनि गलत सल्लाह दिईरहेका छन् । तर दाल, गेडागुडीहरूलाई केही समय भिजाएर वा टुसा उमारेर खाए त्यसबाट ग्यास कम हुन्छ ।

विदेशतिर दालको सूप बनाएर नझानी खाने चलन छ । त्यस्तो सुप वा दालबाट ग्यास बन्ने हुन्छ । विदेशी शैलीको नक्कल गरेर आज भोलि नेपाली भोजभतेरमा पनि दाल वा गेडागुडी नभिजाएर एवं नझाँनेर पकाउँदा पार्टी वा भोज खाएर आएको दिन पेट ढुस्स हुन्छ, अत्यधिक डकार आउँछ ।

नेपालमा अहिले अल्पाहार (नास्ता) को चलन बढ्दैछ । परम्परागत हिसाबले पनि नेपाली समाजमा बिहानीपख नास्ता खाने चलन थियो । विदेशीहरुमा ब्रेकफास्टजस्तै नेपालीहरूले पनि अल्पाहार खाने बानी पुनस्र्थापित गर्नुपर्छ । नास्तामा विदेशीहरुले खाएको जस्तो पाउरोटी, बट्टामा बन्द जाम, आदि नखाएर सादा सस्तो चिउरा, सादा रोटी, फलफूल आदि खानुपर्छ । नास्तामा पोषणहीन प्रशोधित कर्नफ्लेक्स, खानुहुँदैन ।

त्यस्तै गहुँ, जौ को चिउरा, मकै वा गहुँको दलिया पनि नास्ता वा खाजाको रुपमा दूध वा हरियो तरकारी राखेर सजिलै पकाएर खान सकिन्छ । पत्रु खानामा लोभिनुहुँदैन ।

कारोना ‘कोभिड–१९’ महामारीको यस बेलामा स्वास्थ्यको झनै ख्याल राख्नुपर्छ । रोगसँग लड्ने शक्ति बढाउन भान्छा पाकेको दाल भात सब्जी नास्तामा ताजा फलफूल र खाजामा स्वस्थकर परम्परागत खाना नै खाने गर्नुपर्छ ।

सदाबहार स्वास्थ्यको रहस्य सादा दाल, भात र तरकारीमा छ । विभिन्न अन्नबाट बनेका भात, रोटी र दाल गेडागुडीसँगै खाँदा रोगसँग लड्ने शक्ति बढ्छ भन्ने बुझ्नुपर्छ ।

(डा. उप्रेती पोषणविद हुन् भने डा. पण्डित आयुर्वेदिक चिकित्सक हुन् ।)

अनलाइनखबरबाट