विपद्का कारण कर्णालीमा २५ जनाको मृत्यु


विभिन्न प्राकृतिक विपदमा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यही बैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङजस्ता विपद्मा परी २५ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाका अनुसार जाजरकोटमा १३, सल्यान र रुकुम पश्चिममा ४÷४ जना तथा कालीकोट र सुर्खेतमा २÷२ जनाको मृत्यु भएको छ । हालसम्म कर्णालीमा २८४ वटा घरमा क्षति पुगेको छ । प्राकृतिक विपद्का कारण यस अवधिमा करिब रु. ६ करोड ६५ लाख ५३ हजार ७९० भौतिक सम्पतिमा क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।