‘भैरवी गाउँपालिका छिट्टै झिलिमिली हुन्छ’


दैलेख पश्चिममा पर्छ भैरवी गाउँपालिका । उत्तरमा कालिकोट जिल्ला, पश्चिममा चामुण्डाबिन्द्रासैनी नगरपालिका, दक्षिणमा दुल्लु नगरपालिका तथा पुर्वमा नारायण नगरपालिका तथा महाबु गाउँपालिकासंग सिमाना जोडिएको छ । स्थानीय तहको निर्वाचनयता गाउँपालिका निकै चर्चामा आउने गरेको छ । गाउँपालिकाको कार्यालयमा पटकपटक तालाबन्दी, एम्बुलेन्स चालक नियुक्तिमा विवाद, कोरोना भाइरस आरडीटी पोजेटिभ देखिएकालाई भैसिको गोठमा राख्नेजस्ता विभिन्न विषयमा गाउँपालिका पटकपटक चर्चामा आउने गरेको छ । गाउँपालिकामा कोरोना भाइरसको प्रभाव, आजसम्मको खर्च, अबको वाटो, चुनावी एजेन्डा र विकासनिर्माण लगाएतका विषयबारे गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढासंग सितलपाटीले गरेको कुराकानीको सारसंक्षेप ।
  • गाउँपालिकामा कोभिड-१९ को प्रभाब कस्तो छ ?
कोभिड-१९ को कारणले गत आर्थिक वर्षका विकासनिर्माण पनि असारमा धकेलिए । भैरवी गाउँपालिकामा हालसम्म कोरोना भाइरसको प्रभावको कारण करिब १ हजार ८ सय जना व्यक्तिहरू भारत तथा विदेशका अन्य मुलुकबाट आउनुभएको छ । उहाँहरू गाउँमा आएर बेरोजगार हुनुभएको छ । उहाँहरूलाई आयआर्जनमा लगाउने चुनौती हामीलाई थपिएको छ ।
हामिले उहाँहरूलाई कृषि र पशुपालनमा लगाउँछौं । गाई, बाख्रा, कुखुरा, भैंसी आदिजस्ता पशुपालन, तरकारी र कृषि लगायतका उत्पादनमूलक काममा बेरोजगार युवाहरूलाई लगाउने तयारीमा गाउँपालिका रहेको छ । हामिले विकासनिर्माणका काममा पनि डोजरभन्दा सकभर श्रमिकको प्रयोग गर्छौं । जसले गर्दा उनिहरू स्वरोजगार हुन्छन् ।
  • उत्पादित बस्तुको बजार व्यवस्थापनमा कस्तो भुमिका खेल्छ गाउँपालिकाले ?
हाम्रोमा सडकको पहुँच पनि सबै ठाउँमा पुगेको छ । स्थानीय बजार पनि सहज नै छ । यस वर्ष तरकारी संकलन केन्द्र स्थापनाका लागि हामीलाई केन्द्रबाट पनि बजेट आएको छ । यहाँको बजेट थपेर पनि हामिले उक्त केन्द्र स्थापना गरेर यहाँ उत्पादित तरकारीको बजार व्यवस्थापन गर्छौं ।
  • कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा हालसम्म कति रकम खर्च भयो ?
हालसम्म हामिले ४५ लाखभन्दा बढि रकम चेक काटेर भुक्तानी दिइसकेका छौं । बाँकि क्वारेन्टाइन खर्च, खाना, भाडा आदिको रकम चुक्ता गर्न बाँकि रहेकोले कोरोना रोकथाम तथा नियन्त्रणमा गाउँपालिकाको १ करोडको हाराहारीमा खर्च भएको अनुमान गरेका छौं ।
  • चालू आर्थिक वर्षको बजेट कस्तो ल्याउनुभयो ?
हामिले चालू आर्थिक वर्ष २०७७/७८ को लागि चालू तथा पुजिगत गरि जम्मा ४१ करोड ४३ लाखको बजेट ल्याएका छौं । जसको पहिलो प्राथमिकतामा स्वाथ्यलाई राखेका छौं । कृषि, रोजगारी र शिक्षालाई क्रमश वजेटको प्राथमिकतामा राखेका छौं ।
  • असारे बिकास र डोजर आतंकको गुनासो जताततै सुनिन्छ नि ?
गत आर्थिक वर्षमा लकडाउनले गर्दा विकासका काम असारमा धकेलिए । हाम्रोमा अहिले डोजरले भन्दा धेरै मान्छेले काम गर्ने भए । प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि सडकहरू र अन्य काम मान्छेले गरे । करिब १ करोड १६ लाख बजेटको काम मजदुरबाट गरायौं । हाम्रोमा असारे विकासको प्रभाव त्यति छैन ।
  • डोजरमार्फत कमिसन, उपभोक्ता समितिमार्फत बजेट हिनामिना हुने रोग यहाँ हट्यो ?
विकासका काम मेसिन लगाउँदा मेसिनबाट बेथिति हुन्छ भन्ने हुन्छ । उपभोक्ता समितिमागर्दा उपभोक्ता समितिको पनि नियत राम्रो हुन्न । नढाँटेर भन्नुपर्दा यस समस्यालाई निर्मुल पार्न गाह्राे छ । तर सरोकारवालाको कडा निगरानी आवश्यक छ । हामिले गरेको कडा निगरानिका कारण हाम्रोमा त्यस्तो समस्या कम छ ।
  • बिजुलीको पोलमात्रै पुगेको छ गाउँपालिकाभर तर बत्ती कहिले बल्छ जताततै ?
यो वर्षात फाट्नेवित्तिकै बत्तीको काम हुन्छ । सामुदायिक विद्युतिकरण अन्तर्गत हो । १२ वटा ट्रान्सर्फमर विद्युत कार्यालय दैलेखमा आइसकेका छन् । शाखा लाईनको मात्रै १९३२ वटा पोल र मेन लाइनको ३५० पोल हामिसंग आइसकेका छन् । यसै समयमा भन्न सकिन्न त्यो प्राविधिक विषय हो । अब छिट्टै गाउँपालिका झिलिमिलि हुन्छ । अहिलेसम्म केही भाग झिलिमिलि भइसकेको छ ।
  • जनप्रतिनिधिको आपसी स्वार्थ र विवादले गाउँपालिकाको विकास निर्माण र सेवाप्रवाह प्रभावित भइरहन्छ रे पटकपट, के यो साँचो हो ?
विभिन्न विवादहरू हामिले सुल्झाउँदै गइरहेका छौं । यो राजनीतिक कुरा हो । गाउँपालिकामा २ वटा राजनीतिक दलको प्रतिनिधित्व छ । एउटा दलको काम राम्रो भएपनि अर्को दलले मन नपराइदिने राजनीति परिपाटीको कारणले यस्तो भएको हो । सानोतिनो विवाद आएपनि मिलाउँदै आएका छौं । अहिले त्यस्तो समस्या छैन ।
  • गैरकानुनी रूपमा सल्लाहकार नियुक्तिको हल्ला के हो ?
हामीले गतवर्ष प्रेस सल्लाहकार र कानुनी सल्लाहकार नियुक्ति गरेका थियौँ । महालेखा परिक्षकको कार्यालयले गैरकानुनी रूपमा यसरी न्युक्ति नगर्न भनेपछि यो वर्ष उहाँहरू अहिले नियुक्त हुनुहुन्न ।
  • हिलाम्मे सडक कहिले कालोपत्रे हुन्छन् ?
सडक कालोपत्रे गर्ने कुरा त छँदैछ । हामिले अहिले ग्राभेल गरिरहेका छौं । हाम्रोमा अन्यत्र भन्दा अलि सुख्खा छन् । मुख्य सडकहरू ग्राभेल गरेका छौं । खुसिको कुरा हाम्रो गाउँपालिकामा पर्ने जगत्रादेखि खोलिबजार सम्म हुँदै दैलेख बजारसम्मको मध्यपहाडि राजमार्ग यसै बर्ष कालोपत्रे गर्ने ठेक्का भइसकेको छ । करिब १० किलोमिटर रूट पर्ने भएकोले हामीलाई ठूलो उपलब्धि हुन्छ ।
  • तपाईंको तिनवर्षे कार्यकालमा गाउँपालिकामा भएका नतिजामुलक उपलब्धिहरू के हुन् ?
हामिले गाउँपालिकाको सडक विस्तारमा प्रगति गरेका छौं । मध्यपहाडि राजमार्ग, जमुनाह नाग्चेलाग्ना उत्तर दक्षिण प्रादेशिक सडकखण्ड हाम्रो गाउँपालिकाको लगभग सबै भाग छोएर जान्छ । खानेपानीको क्षेत्रमा फिनल्यान्ड सरकारको सहयोगमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना पनि संचालन भएको छ । खानेपानीको क्षेत्रमा पालिकाले ठूलो प्रगति गरेको छ । हामिले प्राविधिक शिक्षालय स्थापना गरेका छौं । सिंचाइ, डेरी स्थापना, पशुपालन र कृषिका क्षेत्रमा गाउँपालिकाले प्रगति गरेको छ ।
  • चुनावी एजेन्डा कति पूरा भए ? बाँकि एजेन्डा यसै कार्यकालमा पूरा होलान ?
एकदमै पूरा हुन्छन् । यसै कार्यकालमा हामिले तल्लो डुगेस्वर-बैक-मालिका-दुल्लु-डाडिमाडि-कुसापानि-कालिकोट हुँदै मुगु र तिब्बत जोड्ने उत्तर दक्षिण प्रादेशिक सडकखण्ड हाम्रै कार्यकालमा कालिकोटको पान्तडीमा पुगेर कर्णाली राजमार्गमा जोडिन्छ । यो सडकखण्ड यहाँको मुख्य उपलब्धी हो । सबै वडामा विद्युतिकरण गर्ने प्रक्रिया चलिरहेको छ । खानेपानिमा, प्राविधिक शिक्षा, सिंचाइ, सडक कालोपत्रेसम्म गरेर हाम्रो कार्यकाल पूरा गर्छौं ।
  • गाउँपालिकामा नीतिनिर्माणको प्रगति कस्तो छ ?
हामिले अहिलेसम्म करिव १८ वटा कानुन निर्माण गरेका छौं । सोहिअनुसारको नियमावली, कार्यविधि पनि बनाएका छौं ।
  • अन्त्यमा केही कुरा ?
तपाईंलाई धन्यवाद । गाउँपालिकाबासिलाई कोरोनाबाट वचन धैर्य र सचेत हुन अनुरोध गर्दछु । भदौपछि हाम्रै गाउँपालिकामा अवस्थित श्रिस्थानलाई केन्द्रविन्दु मानेर पेट्रोलियम पदार्थको अन्वेशण हुँदैछ दोस्रो चरणमा । जसले हाम्रो पालिका, जिल्ला र देश नै समृद्ध बनाउन भुमिका खेल्नेछ ।