लकडाउन खुल्यो, सावधानी छैन


सरकारले लकडाउन खोलेसंगै कर्णालीमा पनि चहलपहल बढ्न थालेको छ । विभिन्न क्षेत्रमा भिडभाड बढ्न थालेपनि सावधानी त्यति धेरै भएजस्तो देखिन्न ।

सरकारले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गर्दै केही दिनअघि लकडाउन खुला गरेको हो । तर, सर्वसाधारणले भने खासै सावधानी अपनाएको देखिदैन । यातायात, बैंक, खानेपानी तथा विद्युतका कार्यालय र बजारमा जाँदा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता कोरोनाबाट बच्‍ने उपाय कमैले पालना गरेको पाइन्छ । अहिले छोटो दुरीमा चल्ने साना गाडीमा मान्छेहरु खाँदिएर जाने गरेका छन् । यसमा यातायात व्यवसायी र प्रहरी–प्रशासनले कसैले ध्यान दिएका छैनन् । सर्वसाधारणले समेत सावधानी अपनाएका छैनन् । काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाका अनुसार अहिले १६ सिट क्षमताका दैनिक करिब डेढ दर्जन सार्वजनिक सवारी चल्ने गरेका छन् । अन्तरजिल्ला यातायात नखुलेकोले ठूला बस सञ्चालन हुन नसकेका उनले बताए । अाजकाे कान्तिपुर दैिनकमा चाँदनी कठायतले खबर लेख्नुभएकाे छ ।

बैंकहरुमा औपचारिकताको लागि सेनिटाइजर हातमा लगाउनेबाहेक अरु सावधानी छैन । मान्छेहरु ठेलमठेल भएर उभिने गरेका छन् । बराहताल गाउँपालिकाका धनवीर रानाले लकडाउनमा कडाइ गरेका बेला एक–एक जना गरी अनिवार्य हात धोई सेनिटाइजर लगाएर प्रवेश गर्न दिने बैंकहरुमा पनि अहिले भिडभाड हुने गरेको बताए । ‘बैंकमा आफ्नो कारोबार गर्नैपर्छ,’ उनले भने, ‘बैंकमा कहाँ–कहाँबाट आएकाहरु सामान्य मास्क मात्रै लगाएर लाइनमा बसेका हुन्छन् ।’

लकडाउन भएपछि सुरुसुरुमा सबैले उच्च सतर्कता अपनाएका थिए । लकडाउनको अवधि लम्बिएपछि सजग हुनै छाडेका नागरिक अहिले सरकारले लकडाउन खुलेको घोषणा गरेसँगै निस्फिक्री बनेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले यातायातका साथै बजारमा भइरहेको भीड कम गर्न अनुगमन भइरहेको बताए । ‘दैनिकजसो भीडभाड बढी हुने सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा दुरी कायम गरी सेवा प्रदान गर्न आग्रह गरिरहेका छौं,’ उनले भने, ‘सामूहिक रुपमा हुने भेटघाटमा पनि रोक लगाएका छौं ।’