५ महिनादेखि छात्रवृत्तिको रकम प्रधानाध्यापको गोजिमा, अभिभावकले जवाफ खोज्दा बैठकमै अनुपस्थित


सुर्खेत । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ५ स्थित देवति आधारभूत विद्यालयमा छात्रवृत्तिको रकम दुरुपयोग भएको खुलेको छ । विद्यालयमा अध्ययनरत दलित विद्यार्थीका लागि आएको छात्रवृत्तिको करिब ५० हजार रकम दुरूपयो गरि सरोकारवालालाई थाहा नदिइ खाताबाट झिकेको खुलेको हो ।

प्रशासनले माग्यो बैंक स्टेटमेन्ट

जिल्ला प्रशासन कार्यालय दैलेखले विद्यालयका प्रधानाध्यापक अनिता कुमारी न्यौपाने र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद रेग्मीलाई ३ दिनभित्र स्पष्टीकरण सहित बैंक स्टेटमेन्ट पठाउन अनुरोध गरि साउन ९ गते पत्रसमेत पठाएको छ । प्रशासनले विद्यालयका दलित बालबालिकाका नाममा आएको छात्रवृत्तिको रकम प्रधानाध्यापक र विव्यस अध्यसहितले खाताबाट झिकेर हिनामिना गरेको आरोपसहित कारवाहिका लागि उजुरीसमेत परेको जनाएको छ ।

प्रधानाध्यापकले राखिन छात्रवृत्तिको रकम

चामुण्डाबिन्द्रासैनी ५ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण रेग्मीले २०७६ फागुनमा उक्त छात्रवृत्तिको करिब ५० हजार रकम निकाल्ने विद्यालय व्यवस्थापन समितिको निर्णय भएको बताए । ‘फागुनमा उक्त रकम निकालेर वितरण गर्ने निर्णय भएको हो ।’ उनले भने ‘म आफ्नो कार्यव्यस्ततामा थिएँ । मैले सुनेअनुसार उक्त रकम चैतमा निकालेर प्रधानाध्यापकसंग छ भन्ने सुनेको छु । लकडाउनको कारण वितरण नगरिएको भन्ने कुरा छ ।’

अभिभावकले गरे प्रधानाध्यापकलाई निस्कासन गर्ने घोषणा

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद रेग्मीले उक्त छात्रवृत्तिको रकम प्रधानाध्यापक न्यौपानेसंग भएको दावी गरे । ‘फागुनमा निकासी गरेको छात्रवृत्तिको रकम उहाँसगै छ ।’ उनले भने ‘शनिबार अभिभावकले उक्त छात्रवृत्तिको बारेमा बुझ्न भेला गरेका थिए । भेलामा उहाँ आइदिनुभएन । अभिभावकले उहाँलाई शनिबार नै प्रधानाध्यापक पदबाट निस्कासन गर्ने घोषणा पनि गरिसकेका छन् ।’

यसो भन्छिन प्रधानाध्यापक न्यौपाने

प्रधानाध्यापक अनिता कुमारी न्यौपानेले चैत ६ गते छात्रवृत्तिको रकम झिक्ने निर्णय भएको दावी गरिन् । ‘चैत १५ गते रिजल्ट संगै छात्रवृत्ति पनि वितरण गर्नेभनि निकालेका हौं ।’ उनले भनिन्, ‘लकडाउनका कारण वितरण गर्न पाइएन । अब छिट्टै वितरण गर्छौं ।’